ओलीको नौटङ्की, यान्छीको दौड र प्रचण्डको छप्ल्याङ – खेम थपलिया

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार २६, शुक्रबार) ०२:०६

ओली–प्रचण्ड प्रालिमा यतिबेला घरवाला र डेरावालाको लुछाचुँडीको रमिता छ । इन्द्रबहादुर राईले उतिबेलै ‘आज रमिता छ’ उपन्यास लेखेका थिए । नेपालमा हिजो आज डबल नेकपाको रमिता चलिरहेछ । यो रमिता भारतीय तेश्रो श्रेणीको कुनै चलचित्रभन्दा कम छैन । त्यही रमितामयी सामाजिक फासिवादी दलाल राजनीतिको राजनीतिको पिरो धुँवाले जनताले आँखासम्म खोल्न सकेका छैनन् । बालुवाटारका नाइकेको आदेशमुताविक पञ्चायती व्यवस्थाको अन्ततिर भएका पञ्च–¥यालीजस्तै सडकमा ओली–¥यालीको आयोजना चलिरहेछन् । दलाल संसदीय राजनीतिले मानव जीवनले कल्पनासम्म पनि गर्न नसक्ने र नसकेका कुरा आज नेपाली समाज भोग्न बाध्य छ । यो विवशताकारी कहरका जननी मरणासन्न दलाल संसदीय व्यवस्था र तिनका नाइकेहरूको कलाहीन र भद्दा नाटक दिनदिनै प्रदर्शन भइरहेका छन् ।
नेपाली राजनीतिमा केपी ओली दम्भी, अहङ्कारी, अभिमानी र नौटङ्की पात्रका रूपमा परिचित छन् । उनी आफ्नो गुटको रहेछ भने हजार अपराध पनि देख्दैनन् तर अर्को गुटको रहेछ भने आङको जुम्रा पनि देख्छन् । ओलीमा ‘आफ्नो आङको भैंसी नदेख्ने, अरूको आङको जुम्रा’ उखान चरितार्थ हुन्छ । ओली आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्डका विरुद्ध ‘भारतीय दलाल मुर्दावाद’ को नारा लगाउन आफ्ना निकटका युवा–विद्यार्थीलाई उक्साइरहेका छन् । उनी नेपालमा गणतन्त्रका कट्टरविरोधी पात्रका रूपमा पनि परिचित छन् । नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका जानु उस्तै उस्तै कुरा भन्ने ओली अहिले अरूले लडेर, भिडेर र मरेर ल्याइदिएको गणतन्त्रको हर्ताकर्ता बनेका छन् ।

ओलीको कुर्सी उनी आफैँले माक्र्सवादलाई हलाल गरेर गाडिएको चिहानमाथि खडा छ । भनिन्छ, उनैले आफ्नै पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको हत्याको प्रतिवेदन गायब पारेका थिए । उनी नेतृत्वको पार्टी जनघात र राष्ट्रघातको पर्याय बनेको छ । उनको पार्टी तलदेखि माथिसम्म भ्रष्ट, तस्कर, गुण्डा र दलालहरूले भरिएका छन् । उनले राष्ट्रपति विद्या भण्डारीलाई पार्टी–नेताजस्तो बनाएका छन् । उनी दिउँसो भारतको विरोध गर्दछन्, राती राती आफ्ना प्रिय गोकुल बास्कोटालाई पटक–पटक भारतीय राजदुतावास धाउन लगाउँछन् । ओली भारतसित झुक्दिनँ भनेर सार्वजनिक रूपमा बोल्छन् तर उही भारतसित अकूत पैसा ल्याएर मदन भण्डारी फाउन्डेसन चलाउँछन् । ओलीलाई भ्रष्टाचारीहरूले समेत भ्रष्टाचारी भन्न थालेपछि विषयको गम्भीरतालाई सहजै अनुमान लगाउन सकिन्छ । यसो सोच्छु, ओलीको नौटङ्की देखेर छेपारोले पनि हार मान्दो हो !

शक्ति लम्सालले आफ्नै औँला काटेर निकालेको रगतबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनले आफ्नै बाबुलाई जेल हाल्छु भनेर सार्वजनिक रूपमै सामन्तवादका विरुद्ध विद्रोह बोलेका थिए । के हामी समकालीन नेपाली कम्युनिस्ट राजनीतिमा यस्तो आदर्शको सम्भावना देख्छौँ ? गोपनीयताको झन् के कुरा गर्नू ! नेपालको क्याबिनेटको बैठकका निर्णय तुरुन्ताका तुरुन्तै भारतीय राजदुतावास तथा नयाँ दिल्ली पु¥याइन्छ । यतिसम्म भएको बताइन्छ– नेपालका परराष्ट्रमन्त्री चीन जानुअघि निर्माण गरिनुपर्ने सम्झौता दस्तावेज सिंहदरबारभित्र तयार गर्दा गोपनीयता भङ्ग हुने डरले काठमाडौंको कुनै एक होटलमा अत्यन्त गोप्यरूपमा सो दस्तावेज तयार पारिएको थियो रे ! सिंहदरबार–बालुवाटार भारतीय र पश्चिमा एजेन्टद्वारा भरिभराउ छ । विज्ञहरू भन्छन्– ओलीको कथित राष्ट्रवाद ‘भाङ्ग्राको टोपीलाई गुँयलाको फूल’ जस्तै हो ।
घरवाला ओलीको चर्चासँगै डेरावाला प्रचण्डको पनि प्रसङ्ग आइहाल्छ । प्रचण्डले पटक–पटक भन्ने गरेको प्रसङ्ग हो– कुलोमाथि काङ्ग्रेस र कुलोमुनि कम्युनिस्ट । प्रचण्ड भन्थे, “मेरो घर कुलोमाथि भएको भए म काङ्ग्रेस हुन्थेँ, कुलोभन्दा तल घर भएको हुनाले कम्युनिस्ट भएको हुँ किनभने कुलोभन्दा माथि काङ्ग्रेसीहरूको र कुलोभन्दा तल कम्युनिस्टहरूको गाउँ थियो ।” नेताकै दिमागमा यस्ता कुरा भएपछि प्रतिक्रान्ति नभए अरू के हुन्छ त ! प्रचण्डकै नेतृत्वमा जनयुद्धमा जित–हारका विशाल शृङ्खला खडा भएका थिए । कम्युनिस्ट भएर पनि बिरालोले नुन चाटेजस्तो राजनीति गर्न थालेपछि हुने यस्तै यस्तै त होला ! भनिन्छ नि– जितको बेला प्रतिक्रान्ति चाकरी र चाप्लुसी गरेर आउँछ, हारको बेला प्रहार र आलोचना गर्दै आउँछ ।

फ्रान्सेली दार्शनिक भोल्तेयरले एक सन्दर्भमा भनेका थिए, “हे भगवान् ! मलाई मित्रहरूबाट बचाऊ, मेरा दुश्मनहरूको सामना गर्न म आफैँ सक्षम छु ।” कम्युनिस्टको आबरणमा ओली–प्रचण्डले विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको राजनीतिक प्रतिबन्धको सन्दर्भमा भोल्तेयरको उक्त अभिव्यक्ति निकै मार्मिक लाग्दछ । अरूको बुइँ चढेर आफ्नो उचाइ बढेको ठान्नु ठूलो भ्रम हो । वाम–विश्लेषकहरूले यदाकदा डबल नेकपाको अष्टावक्राकृतिको चर्चा गरेको सुनिन्छ । डबल नेकपाले राष्ट्रवादको नाममा राष्ट्रघात गरिरहेको छ । उसले माक्र्सवादको झन्डा बोकेर माक्र्सवादकै हुर्मत लिइरहेको छ । ऊ स्वाधीनता र स्वाभिमानको नाममा प्रतिक्रियावादी तथा साम्राज्यवादीसामु लम्पसार परिरहेको छ । ऊ राष्ट्रिय स्वरूपका नाममा सबैका सिद्धान्त र दर्शनलाई मिसाएर चना–चटपटे बनाउन उद्यत छ । उसले जनता र देशको सेवाका नाममा अवसरवाद र व्यक्तिवादलाई धुरीमा चढाइरहेको छ आदि । भनिन्छ, प्रचण्डले चुनबाङ बैठकमा स्तालिनमाथि हमला गरेका थिए, जसको परिणाम अहिले विभिन्न स्वरूपमा देखिँदै छ ।

भनिन्छ, सैद्धान्तिक र वैचारिक रूपमा मान्छे स्खलित भएपछि ऊ सिङ तिखार्न थाल्दछ । डबल नेकपामा अहिले त्यही सिङ तिखार्ने प्रतिस्पर्धा चलिरहेको छ । सिङ तिखार्दै सुरु भएको गुटहरूको महाभिडन्तका बिचमा दौड सुरु भएको छ– चिनियाँ राजदूत होउ यान्छीको । नेपालको सत्तारुढ पार्टीमा देखिएको अन्तरविरोधलाई चीनले गम्भीरताका साथ लिनु भनेको अब चीनलाई परम्परागत आँखा हेर्नुहुँदैन भन्ने सन्देश पनि हो । यस्तै दौड केही महिनाअघि पनि देखिएको थियो, जसले डबल नेकपाको तत्कालीन खड्को टरेको थियो । यसपटक चाहिँ भन्न सकिने अवस्था छैन । यद्यपि ओली–प्रचण्डको टोन डाउनले केही सङ्केतचाहिँ गरेकै छ । त्यतिबेला राजदूत यान्छीले उक्त पार्टीका नेताहरूका साथै, राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी थिइन् । नेपालमा आएको २०७२ सालको शक्तिशाली भूकम्पले क्षतविक्षत बनाएको समयमा जब भारतीय साम्राज्यवादले नेपालमाथि क्रूर नाकाबन्दी लगाइदियो, तब चीनले नेपालमा अत्यन्त हार्दिकतापूर्वक आफ्नो सक्रियता बढाइदिएको थियो । राजनीतिक विश्लेषकहरू भन्छन्– यतिबेला चीन र सत्तारुढ डबल नेकपा एकले अर्कोलाई उपयोग गर्ने रणनीति अख्तियार गरिरहेका छन् । विश्वशक्तिको रूपमा उदाउँदै गरेको महान् माओको देश चीनको सामिप्यताले नेपाली जनताको अमेरिकी साम्राज्यवादसितको भीषण लडाइँमा एउटा ढाडसको काम गरेकै छ । चिनियाँ बीआरआई र अमेरिकी सैन्य रणनीति एमसीसीका बिचमा आकाश–जमिनको फरक छ । अमेरिका यतिबेला केपी ओलीको काँधमा राखेर चीनतर्र्फ एसीसीरूपी रकेट लन्चर सोझ्याइरहेको छ । अमेरिकी साम्राज्यवाद नेपाली छातीमाथि बुट बजारेर चीनमाथि विध्वंस मच्चाउन चाहन्छ ।

चिनियाँ राजदूत यान्छीको तीव्र दौडको सन्दर्भमा ‘सत्तारुढ पार्टी डबल नेकपा फुट्न नहुने, फुटिहालेमा नेपाली जनता दुःखी हुने, अहिले जुट्ने बेला हो र यो राष्ट्रपति सी जिन पिङको सन्देश भएको’ जस्ता कुरा सार्वजनिक भइरहेका छन् । यदि यो कुरा सही हो भने नेपालको राजनीति र त्यसमा पनि सत्तारुढ दल डबल नेकपाप्रति चिनियाँहरूको बुझाइमा काफी मात्रामा सीमा रहेको मान्नुपर्दछ । नेपाली जनता एक मिनेट पनि ओली सरकार देख्न चाहँदैनन् । ओली सरकार भ्रष्टाचारी, फासिवादी र दलाल छ । ओली सरकार कम्युनिस्टको नाममा कलङ्क हो । विश्व महाशक्तिको रूपमा उदाउँदै गरेको राष्ट्र चीनले यस्तो कलङ्कित पार्टी र तिनका हददर्जाका भ्रष्ट नेतालाई बोक्न खोज्छ वा बोक्छ भने यो भयानक कुरा हुन्छ । चीनले नेपाली जनतालाई विश्वास गर्नुपर्दछ । चीनले नेपालमा दलाल संसदीय व्यवस्थाका विरुद्ध भइरहेको जनक्रान्तिलाई समर्थन गर्नुपर्दछ । हामीलाई विश्वास छ– एकदिन चीन नेपाली जनता र जनक्रान्तिको पक्षमा उभिनेछ । समकालीन घरेलु तथा विश्व–राजनीतिमा नेपालका प्रम केपी ओली, भारतीय प्रम नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समरेखीय उपस्थिति सामान्य विषय होइ्रन नि !

प्रचण्डले प्रायः सबै राजनीतिक तथा वैचारिक प्रशिक्षणमा सुनाउने गरेको कथा हो– छप्ल्याङ । एउटा स्याल तिर्खा लागेर जङ्गलको एउटा पोखरीमा पानी खान गएछ । पानी खान निहुरिएको बेला छप्ल्याङ आवाज आएछ । उसलाई कुनै खतरनाक जनावरले आफूलाई खान खोजेको भन्ने परेछ । उसले डरको कारण कुन जनावर हो भनेर हेरेको थिएन । छप्ल्याङ गरेर आवाज आएकोले उसले त्यसको नाम छप्ल्याङ राखेछ । स्याल चिच्याउँदै छप्ल्याङ आयो भागौँ भागौँ भनेर कुदेछ । अन्य जनावरले छप्ल्याङ कस्तो हुन्छ भनेर सोध्दा उसले भनेछ– हेर्न थालेको भए त मलाई एकैगाँस पारिहाल्थ्यो नि ! आफू बल्लबल्ल बाँचेर आएको छु । स्याल यसो भन्दै भाग्न थालेपछि सारा जनावर स्यालको पछिपछि दौडेछन् । सबै जनावर भागेको कुरा जङ्गलको राजा सिंहकहाँ पनि पुगेछ । मन–मनमा आफूभन्दा डरलाग्दो जनावर अर्को पो निस्क्यो कि भनेर सिंह सशङ्कित पनि भएछ । त्यति नै बेला भागिरहेका जनावरको ताँती त्यही आइपुगेर भन्न थालेछ– महाराज ! छिटो भागौँ । जङ्गलमा हजुरभन्दा पनि खुङ्खार छप्ल्याङ जनावर निस्केको छ रे ! सिंहले सोधेछ– छप्ल्याङ देख्ने को हो ?

सिंहले सोधेछ– भन स्याल, छप्ल्याङ मभन्दा पनि डरलाग्दो छ ? स्यालले भनेछ– हो महाराज ! सिंहले फेरि सोधेछ– त्यसको रङ कस्तो थियो ? त्यो कत्रो थियो ? स्यालले भनेछ– महाराज ! मैले त्यो त हेर्न भ्याइनँ । हेर्न थालेको भए त मलाई त्यसले एकैसासमा खाने थियो ! सिंहले गज्रँदै भनेछ– त्यसलाई म आजै ऐलै ठेगान लगाउँछु । सिंहले सबैलाई छप्ल्याङ भएको ठाउँमा जान आदेश दिएछ । स्याल पनि डराई–डराई पछि लागेछ । पोखरीमा पुग्दा त्यस्तो केही थिएन, शान्त थियो । सबैले स्याललाई सोधेछन् तर ऊसित कुनै उत्तर थिएन । केहीबेरपछि एउटा ठूलो आवाजसहित छप्ल्याङ गरेछ । स्याल आत्तिँदै चिच्याएछ– महाराज ! हो हो त्यही हो । पोखरीमा कुहेको फल खसेको रहेछ । पोखरीभन्दा माथि रहेको फलको रुखका पाकेर कुहेका फल छप्ल्याङ गरेर पोखरीमा खस्दा रहेछन् । त्यही कुहिएको फल खस्दा आएको आवाजले स्यालको सातो लिएको रहेछ । त्यसपछि सबै जनावर आ–आफ्ना बाटो लागेछन् ।

नेपाली क्रान्तिलाई छप्ल्याङजस्तै बनाउन खोजिएको छ । कम्युनिस्ट पार्टी र तिनका नेताहरू पुँजीवादको वकिलजस्ता भएका छन् । त्यसैले त पुँजीवाद पटक–पटक बेहोस हुँदै र ब्युँझदै गरिरहेको छ भने समाजवादले आफूलाई भनेजस्तो गरी तन्दुरुस्त पार्न सकिरहेको छैन । समाजवादीहरूमा व्यवस्थापकीय सीमा देखियो । व्यवस्थापनका पिता मानिने फ्रेडरिक टेलरले यसबारे महत्वपूर्ण कुरा बताएका छन् । दलाल पुँजीवादको चिहानमाथि वैज्ञानिक समाजवादको झन्डा गाड्न हामी कुशल व्यवस्थापक हुनैपर्दछ । माओले भनेजस्तै राजनीतिक लाइन निश्चित गरिसकेपछि कर्मठ कार्यकर्ता निर्णायात्मक तत्व हुन्छ्न । सुनिश्चित योजनाअनुसार विशाल सङ्ख्यामा नेता–कार्यकर्ता तयार गर्नु क्रान्तिकारी पार्टीको महत्वपूर्ण कार्यभार हो । क्रान्तिको सिद्धान्त वस्तुगत र आत्मगत तथा वैचारिक र राजनीतिक उद्वेलनामा आधारित हुन्छ । आइन्स्टाइनले भनेका थिए– तेस्रो विश्वयुद्ध कसरी हुन्छ, म भन्न सक्तिनँ तर चौथो विश्वयुद्ध ढुङ्गा र मुढाबाट हुन्छ । आइन्स्टाइनको यो प्रक्षेपण निकै मननीय छ ।

भनिन्छ, जुन बिरुवाले बढी फल दिन्छ, त्यसले नै बढी ढुङ्गाको प्रहार सहनुपर्दछ । जो मानिस समाजमा बढी परिचित हुन्छ, त्यसलाई नै विभिन्न भनाइहरू सुन्नुपर्दछ । सच्चा समाजवादीहरूले यो तथ्यलाई आत्मसात् गर्नुपर्दछ । दुश्मनले हानेको ढुङ्गालाई पर्खाल बनाएर तिनकै विरुद्ध प्रहार गर्नुपर्दछ तर नेपालमा तिनै ढुङ्गाहरू गनेर बस्ने प्रचलन छ । स्तालिनले भनेजस्तै सिद्धान्तबिनाको व्यवहार अन्धो र व्यवहारबिनाको सिद्धान्त लङ्गडो हुन्छ । मान्छेहरू मलामी बढाउने कुरा गर्छन् तर आफ्ना मलामीहरू कस्ता थिए भन्ने कुरा उसैलाई थाहा हुँदैन । नेपालमा ओलीको नौटङ्कीले सीमा नाघेको छ । ओलीको काँधमा चढेर ल्याउने भनेको प्रचण्डको कथित समाजवाद उनको उही छप्ल्याङको कथाजस्तै नै हो । नेपालमा जनक्रान्तिको आत्मगत र वस्तुगत अवस्था परिपक्व बन्दै गएको यतिबेला महान् लेनिनले महान् अक्टोबर क्रान्तिको सन्दर्भमा भन्नुभएको प्रस्तुत अभिव्यक्ति मननीय छ, “हिजो गरेको भए हामीले जित्दैनथ्यौँ, भोलि गर्ने भनेको भए पनि हामी जित्दैनथ्यौँ तर आजै गर्नाले हामीले जितेका छौँ ।”

नेपालमा यतिबेला सामाजिक फासिवादी एवम् दलाल संसदीय व्यवस्थाले आफ्नो आत्महत्या–पत्र लेख्दै छ । यति नै बेला ओली–प्रचण्डहरू आफ्नै शोकगीतको रचना गर्दै छन् । त्यसैले अबका दिनहरू विशेष बन्दै छन् ।


(२०७७ असार २६, शुक्रबार) ०२:०६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना