प्रधानमन्त्री ओलीकै गृह जिल्ला झापाकै करिब एकसय ७४ हेक्टर जमिन भारतले मिचेको खुलासा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २४, शनिबार) १०:१३

भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्शामा समेटेर वाही वाही पाएका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाकै करिब एकसय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ।

सीमाविद् डा. राजकुमार पोखरेलका अनुसार, झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायतका ठाउँको करीब एकसय ७४ हेक्टर जमिन भारतले मिचेको छ। २०२२ सालमा जग्गा नापजाँच गरेर झापाका वासिन्दालाई दिएको जाग्गा धनीपुर्जा भएको जग्गामा ०४५ सालदेखि भारतीयले हस्तक्षेप गर्न थालेका छन् ।

सिमाबिद डा. पोखरेलले, “‘मेची नदीले धार परिवर्तन गरेसँगै सीमा क्षेत्रका जनताको जमिन पनि परिवर्तन भएको भए पनि जमिन नेपाली जनताले प्राप्त गर्न नसकेको” बताउछन्।

दुवै देशबीच ‘पछि मिलाउने हाललाई स्थानीय ती जमिनमा बस्दै गर्छन्’ भनिएका जमिन पनि भारतले आफ्नो पोल्टामा पारिसकेको छ। पछिल्लो समय त्यसरी नै नेपाली लालपुर्जा भएका जमिनमा भारतीयले खेती गर्ने गरेका छन्। त्यही खेतीका बहानामा सीमामा पटक–पटक भारतीय र नेपाली सुरक्षाकर्मीबीच झडप पनि भएको छ। झापा जिल्लाको १४४.२ किमि क्षेत्रफल भारतसँग सीमा जोडिएको छ। यी स्थानका केही बासिन्दाले न आफ्नो भूमि भन्न पाएका छन्। न त आपत विपत पर्दा भूमिको उपयोग गर्ने अधिकार नै छ।

२०२१ सालको नापीबाट करिब १२ सय हेक्टर नेपाली भूभाग भारतमा परेको अनुमान छ। ०२१/२२ सालमा सुरु भएको जग्गा नापी कार्यक्रमअन्तर्गत सीमा क्षेत्रमा नापी हुँदा हकभोगका आधारमा सीमा क्षेत्रका जग्गाधनीलाई पुर्जासमेत दिइएको छ। भारततिर परेको भनिएका नेपाली नागरिकता भएका नेपालीसँग भारतको रासन कार्ड पनि छ। यस विषयमा सीमाविद् पोख्रेल भन्छन्, ‘भारतले नेपालीलाई रासन कार्ड दिएर प्रमाण जुटाउँदै छ। नेपालले भने नजानिँदो ढंगबाट आफ्नै भूमि गुमाउँदै छ।’

२०२२ सालमा धनीपुर्जा पाएका सीमावर्ती झापामा बसोबास गर्दै आएकामध्ये बाहुनडाँगीमा एक जनाको १९ बिघा जमिनको लालपुर्जा छ।  तर जग्गा भारतमा परेको छ। जिल्लाको सीमा क्षेत्रमा लालपुर्जा भएको जमिन भोगचलन मात्र गर्न पाउने बेचबिखन गर्न नपाउने अधिकार भएका भद्रपुर नगरपारिकाअन्तर्गत पर्ने मेचीपारिको डुलु गाउँका २५ घर, कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीनगरस्थित भान्सा खोलाका दर्जनभन्दा बढी घर छन्।

सुगौली सन्धिपश्चात् गरिएको जग्गा नापजाँचमा सुरुमा उनीहरूले भोगचलन गरेको जग्गा नेपालमै थियो। तर भारतले २०४५ सालमा नेपालको जमिनमा पिलर गाडेपछि भारततिर परेको स्थानीय बताउँछन्। उनीहरूको एउटै माग छ— “कि हामीलाई भारततिर पठाऊ कि नेपालकै जमिनमा लगेर राख।”

कचनकवल गाउँपालिका पाठामारीका नुर आलम भन्छन्, ‘मेरा बाबुहरू बस्दादेखि नै नेपाली जग्गा भनेर बसियो। जग्गाको लालपुर्जा पनि छ। यही लालपुर्जाका आधारमा नागरिकता पनि छ। पछि हामी बसिराखेको ठाउँ भारतमा पर्छ भनेपछि पनि यहीँ बसिराखेका छौँ।’ उनले भने, ‘अहिले बस्दै गर्नु, जग्गा पनि कमाउँदै खानु, छिट्टै मिलाउँला भनेका थिए। यो कुरा २०५२ सालमा सीमा नाप्ने मान्छे आउँदा भनिएको हो। त्यहाँदेखि यो ठाउँमा कोही फर्किएर आएका छैनन्।’

भारतीय पक्षले हप्तैपच्छिे साँध–सीमा आएर हेर्ने गरेको छ। तर, नेपाली पक्षलाई वास्तै हुन्न। मेचीपारिका जिनत गणेश भन्छन्, ‘उतिबेला के कसो भएको थियो, थाहा पाएनौँ। अहिले भारतले यहाँको सीमाको जमिनमा हक जमाउन नेपाली भूमिमै छाप्रा बनाइरहेको छ। त्यहाँ मान्छे पनि बस्छन्। नेपाल पक्षबाट अहिलेसम्म त्यहाँ बसोबास गर्नेहबारे कुनै चासो र सोधखोजसमेत गरेनन्।’

पछिल्लो समय दुवै देशका प्राविधिक टोलीले तयार गरेको डिजिटल नक्साले मापन गर्ने क्रममा सीमा क्षेत्रका जनतालाई यो समस्या आइपरेको हो। अहिले सीमामा यताउता परेका स्थानीयलाई सोही ठाउँमा भोग गर्न दिने, केही समय दुवै देशको बैठकबाट दुविधामा परेका जनताको समस्यालाई सुल्झाइने गरी निर्णय हुने भनेर सम्झौता गरिएको अर्का सीमा सचेतक चिन्तामणि दाहालले बताए।


(२०७७ जेष्ठ २४, शनिबार) १०:१३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना