काठमाण्डौको ह्याम्स अस्पतालमा उपचाररत पोखराका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट थप एकको मृत्यु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २३, शुक्रबार) १९:१२

हालसम्म कुनै कोरोना संक्रमित नदेखिएको गण्डकी प्रदेशको राजधानी पोखराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत ६० वर्षीय एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा जानकारी दिए।  सोही अस्पतालमा उपचाररत गुल्मीका ७६ वर्षीय वृद्धलाई पनि कोरोना संक्रमण पुष्टि भएको प्रबक्ता डा. देबकोटाले स्पस्ट पारे।

पोखराको आलुमाइलाचोकस्थित घरकोठामा बुधबार बिहान बेहोस अवस्थामा भेटिएका ती ६० वर्षीय व्यक्तिलाई उपचारका लागि तत्कालै गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो । त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो र धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार शुरु गरिएको थियो।  त्यही क्रममा स्वाबको नमुना स‌ंकलन गरिएकाेमा शुक्रबार नतिजा पाेजेटिभ आएकाे थियाे ।

बिरामी अवस्थामा भेटिएदेखि काठमाडौं पुर्‍याउने बेलाम्म धेरैजना उनको सम्पर्कमा आएकाले उनीहरुको ट्रेसिङमा अब प्रदेश सरकारले सक्रियता जनाउनुपर्ने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, शुक्रबार दिउँसाेबाटै कन्ट्याक्ट ट्रेसिङ थालेकाे छ ।

यसैबीच कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ भने दुई सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जेठ ७ गते भारतबाट आएका उनी विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी टेस्ट गरेर घर गएका थिए । घर गएकै राति उनको निधन भएको थियो । सुर्खेतमा पीसीआर विधिबाट गरिएको परीक्षणले उनमा कोरोना संक्रमण देखाएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।


(२०७७ जेष्ठ २३, शुक्रबार) १९:१२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना