आफ्नै निर्णयको खिल्ली उडाउँदै सरकारद्वारा विलासी भौतिक संरचना निर्माण र महँगा गाडी तथा फर्निचर खरिद

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २१, बुधबार) १९:४२

सरकारले कोभिड–१९ विरुद्ध लड्न अत्यावश्यकबाहेक बाँकी सबै क्षेत्रको खर्च कटौती गर्ने आफ्नै निर्णयको खिल्ली उडाउँदै विलासी भौतिक संरचना निर्माण र महँगा गाडी तथा फर्निचर खरिदमा करोडौं रुपैयाँ खर्च गरिरहेको पाइएको छ ।

सरकारले संक्रमण रोकथाम र उपचारका लागि बजेट जुटाउन गत चैत २० मा गाडी र फर्निचर खरिदसहित १४ शीर्षकको खर्च रोक्न सबै मन्त्रालय र निकायलाई सर्कुलर गरेको थियो । सर्कुलरको मसी सुक्न नपाउँदै लकडाउनकै बीच सरकारले राष्ट्रपति, मन्त्री र उच्च प्रशासनिक अधिकारीको विलासी र महँगा सोख पूरा गर्न फजुल खर्च गर्दै आइरहेको छ ।
सरकारले राष्ट्रपति भवनको सजावटमा मात्र पौने दुई करोड रुपैयाँ खर्च गर्दै छ । राष्ट्रपति भवनलाई सजाएर भव्य बनाउन महँगा र विलासी गलैंचा राख्न लागिएको छ ।

कोरोना प्रकोपसँगै राष्ट्रपति विद्या भण्डारीले आफ्ना लागि सुविधासम्पन्न विद्युतीय गाडी खरिद गर्न विनियोजित रकम सरकारलाई फिर्ता गरेकी थिइन् । सरकारले त्यसलाई बिर्साउने गरी राष्ट्रपति भवनलाई करोडौं खर्चर सजाउन लागेको हो ।

राष्ट्रपतिका लागि करिब साढे तीन वर्षअघि ६८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको नयाँ भवनमा राखिएका गलैंचा हटाएर नयाँ फेरिँदै छ । नयाँ भवनमा गलैंचा राखेको तीन वर्ष पनि पुगेको छैन । ‘भएका गलैंचा पुराना र काम नलाग्ने भएर फेर्न लागिएको होइन, ती गलैंचा अझै धेरै वर्ष काम लाग्ने खालका छन्,’ स्रोतले भन्यो, ‘महँगा र आकर्षक गलैंचा राख्न लागिएको हो ।’

विदेशी राष्ट्राध्यक्ष र सरकार प्रमुखलगायत विशिष्ट अतिथि र विदेशी राजदूतसँग राष्ट्रपतिले शिष्टाचार भेट गर्ने हललाई आकर्षक र भव्य बनाउन नेपालको संस्कृति र मौलिकता झल्काउने गलैंचा राख्न लागिएको हो । भवनमा स्वदेशमै उत्पादित ऊनी गलैंचा राखिँदै छ ।

अनुत्पादक क्षेत्रमा खर्च नगर्ने नीतिविपरीत के–केमा कति खर्च गरिँदै ?

राष्ट्रपति भवनको सजावटमा पौने २ करोड

– राष्ट्रपति कार्यालयको बगैंचा हेरचाह गर्न ४२ लाख

– मन्त्रीहरूलाई ८३ लाखको जिमखाना

– मन्त्री निवासको मर्मतसम्भारमा २८ लाख

– एक सहसचिवलाई डेढ करोड र अर्कालाई ५० लाखको गाडी

सहरी विकास विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जेठ १७ मा नयाँ भवनमा गलैँचा फेर्ने ठेक्का ‘हिमालयन डेकोर रग्स प्रालि’ लाई दिएको छ । उक्त कम्पनी सत्तारूढ नेकपाका गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङको हो । असारभित्रै राष्ट्रपति कार्यालयको नयाँ भवनमा नयाँ गलैंचा फेर्ने काम भइसक्ने जानकारी स्रोतले दिएको छ ।

गलैंचा मात्र होइन, राष्ट्रपति भवनको भित्री सजावटको कामसमेत लकडाउनमै हुन लागेको छ । कार्यालयले जेठ १३ मा भित्री सजावट र शौचालय भव्य बनाउन १ करोड ५७ लाखमा ठेक्का दिएको छ । भित्री सजावटको जिम्मा श्री विकोई/इन्द्रेणी/सुप्रिम जेभीले पाएको छ ।

सरकारले राष्ट्रपति कार्यालयको बगैंचा स्याहारसम्भार गर्न मात्र वार्षिक ४२ लाख रुपैयाँ खर्चने गरेको पाइएको छ । यस वर्ष बगैंचा सजाउन प्रीतम बगैंचा निर्माण प्रालि, कागेश्वरी मनहरालाई ४२ लाख ८ हजार रुपैयाँमा ठेक्का दिइएको छ । बगैंचाको ठेक्का लकडाउनअगाडि नै दिइएको दाबी स्रोतले गरेको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले भने राष्ट्रपति भवनको सजावट र गलैंचा फेर्ने काम भइरहेको बारे आफूलाई कुनै जानकारी नभएको दाबी गरे ।

लकडाउनमा राष्ट्रपति कार्यालय मात्र होइन, मन्त्रीहरूका लागि पनि विलासी संरचना बन्दै छन् । सरकारले ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवासमा अत्याधुनिक र सुविधासम्पन्न जिमखाना र ब्याडमिन्टन कोर्ट निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ ।

सहरी विकास विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जेठ १७ मा मन्त्रीनिवासमा हेल्थ क्लब (स्पोर्ट्स र जिम मेसिनहरू जडानसहित) र ब्याडमिन्टन कोर्ट (कभर्ड हल) निर्माण गर्न न्यु केपी कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको छ ।

प्रालिले ८२ लाख ८७ हजार रुपैयाँमा जिमखाना निर्माण गर्नेछ । ‘कोरोना संक्रमितको उपचार र क्वारेन्टाइनमा रहेकाको खान–बस्नको व्यवस्था गर्नै सरकारलाई रकम अभाव भइरहेका बेला मन्त्रीहरूलाई किन जिमखाना चाहियो ?’ निर्माणको जिम्मा दिने कार्यालयका अधिकारीहरू नै अनुत्तरित छन् ।

मन्त्रीहरू बस्ने सरकारी भवनसमेत रंगरोगन र मर्मतसम्भार गरी आकर्षक बनाइने भएको छ । कार्यालयले मन्त्री निवासका सबै १९ वटा भवनको रंगरोगन र मर्मतसम्भार गर्न देवीस्थान निर्माण सेवा एन्ड सप्लायर्स कम्पनीलाई २८ लाख ५५ हजार ९ सय रुपैयाँमा ठेक्का दिएको छ । यो ठेक्का लकडाउनकै क्रममा जेठ १७ गते दिइएको हो । स्रोत भन्छ– ‘मन्त्री निवासमा रहेका भवन मर्मतसम्भार गर्नु अत्यावश्यक थिएन । मन्त्रीहरूको दबाबमा काम सुरु गर्न लागिएको हो ।’

सरकार लकडाउनका क्रममा राष्ट्रपति र मन्त्रीको मात्र होइन, उच्च प्रशासनिक अधिकारीको विलासी सोख पूरा गर्नसमेत पछि परेको छैन । उसले आफ्नै सर्कुलरविपरीत दुई सहसचिवका लागि महँगा र विलासी गाडी खरिद गरिदिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको पानीजहाज कार्यालय प्रमुखका लागि १ करोड ४४ लाख र महालेखा नियन्त्रकको कार्यालयका सहसचिवका लागि ५० लाख रुपैयाँमा विलासी गाडी किनिदिएको छ । दुवै निकायमा चालू हालतका गाडी हुँदाहुँदै नयाँ खरिद गरिएको हो । साभार कान्तिपुर दैनिक


(२०७७ जेष्ठ २१, बुधबार) १९:४२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना