क्वारेन्टाइनस्थलमा नै दुई स्वास्थ्यकर्मी कुटिए, सिनियर अहेव आलमको टाउको फुट्यो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २१, बुधबार) १९:१६

रौतहटको राजपुर नगरपालिका-९ राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टाइन स्थलमा नै दुई जना स्वास्थ्यकर्मी कुटिएका छन्। सोही क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको कुटाईबाट सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह घाइते भएका छन्। आक्रमणबाट आलमको टाउको फुटेको छ। उनकाे स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेकाे छ।

पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएरमात्रै घर पठाउने तयारी भइरहेको समयमा उनीहरूले त्यसको विरोध गर्दै स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी दिए ।

प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार, क्वारेन्टाइनमा बसेका दुइसय नौ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरू पनि केही दिन संक्रमितसँगै बसेकाले आरडीटी परीक्षण गराएरमात्रै पठाउने तयारीअनुसार आरडीटी परीक्षण भइरहेको थियो ।

बुधबार २० जनाको आरडीटी परीक्षण भइसकेको थियो । जसमा १० जनाको आरडीटी रिपोर्ट पोजेटिभ पनि देखिएको थियो । आरडीटी परीक्षण चलिरहेकै समयमा एक्कासी उनीहरूले परीक्षण नै नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको प्रशासकीय अधिकृत ठाकुरले जानकारी दिए। उनीहरुले  स्वास्थ्यकर्मीहरू चढेर आएको तीनवटा मोटरसाइकल समेत तोडफोड गरेको बताइएको छ ।

क्वारेन्टाइनमा बसेकाहरूको आरडीटी परीक्षणका लागि जिल्लाबाट तीन जना स्वास्थ्यकर्मीसहित ९ जनाको टोली खटिएको थियो । यसअघि इशनाथको जोकहामा रहेको क्वारेन्टाइनमा पनि स्वास्थ्यकर्मीलाई कुटपिट भएको थियो ।


(२०७७ जेष्ठ २१, बुधबार) १९:१६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना