ठेकेदारले ज्याला नदिएपछि भोकै चार दिन लगाएर घर हिडेका जोद्धिको खान नपाई क्वारेन्टाइनमा मृत्यु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ २०, मंगलवार) ०९:१२

काम गरेको ज्याला ठेकेदारले नदिएपछि भोकभोकै अछामबाट चार दिन लगाएर कैलालीको अत्तारिया आइपुगेका एक वृद्धको बर्दियाको गुलरियास्थित क्वारेन्टाइनमा मृत्यु भएको छ।  बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएका बृद्ध गुलरिया–९ का ५५ वर्षीय जोद्धी गोडिया हुन्।

फागुनको पहिलो साता अछामको साँफेबगरमा सडक निर्माण गर्न जोद्धी,  उनका छोराहरू प्रह्लाद र विष्णु अछाम गएका थिए । उनीहरू सडक निर्माणमा खटिएको एक महिनापछि मुलुकमा लकडाउन घोषणा भयो । त्यसले निर्माणको काम रोकियो । लकडाउन खुल्ने र काम सुरु हुने आसमा उनीहरू त्यहीं बसे । बीचमा काम सुरु भयो । गाह्रोसाह्रो काम गरेर दिन बिताए । खेतीपातीको याम सुरु भएकाले घर फर्किन ठेकेदारसित ज्याला मागे । ठेकेदारले पैसा दिएनन् । त्यसपछि पैदल फर्किएको प्रह्लादले बताए ।

उनका अनुसार तीन जनाको गरेर ५० हजार रुपैयाँभन्दा बढी ज्याला लिनुपर्नेछ । तर उनीहरूसँग खल्तीमा सुको थिएन । ठेकेदारले दिएको दुई हजार रुपैयाँ घरमा पठाए । ९ हजार रुपैयाँ खाना खर्च लाग्यो । बेखर्ची भएपछि गाउँलेसँगै गत जेठ ९ गते बिहान घर हिँडेको उनले बताए । ‘पहिलो दिन जंगलमा बितायौं,’ उनले भने, ‘दिनभरि हिँडेर जहाँ रात पथ्र्यो, त्यहीं बास बस्थ्यौं ।’

दुई दिन मुखमा अन्नको दाना नपरेको उनले बताए । ‘तेस्रो दिन बाटोमा एक व्यक्तिले चाउचाउ र बिस्कुट दिए । त्यसले भोक मर्‍यो । राति बचेको चाउचाउ र बिस्कुट खायौं,’ विष्णुले भने, ‘चौथो दिन अपराह्न अत्तरिया पुग्यौं, हिँडाइ र भोकले बुबा गल्नुभएको थियो ।’

अत्तरिया आइपुग्दा सन्नाटा थियो । राजमार्गमा फाट्टफुट्ट गाडी गुडेका थिए । सोधखोज गर्ने क्रममा एउटा बस भेटियो । गुलरिया पुर्‍याएपछि घरबाट पैसा मगाएर भाडा दिने सर्तमा चालकले उनीहरूलाई सदरमुकाम ल्याइदिए । गन्तव्यमा पुगेपछि सबैले घरमा फोन गरेर पैसा मगाएको विष्णुले बताए । ‘त्यहाँ प्रहरीले दुई घण्टा सोधपुछ गर्‍यो,’ उनले भने, ‘राति १२ बजे क्वारेन्टाइनमा लगियो । त्यो रात पनि भोकै सुत्नुपर्‍यो ।’ बुधबार बिहान उठेर बुबालाई पानी पिलाउनेबित्तिकै सास रोकिएको जेठा छोरा प्रह्लादले बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले मृतक दमको रोगी भएको बताए ।‘हामीले परीक्षण गर्दा कोरोना पुष्टि भएन,’ उनले भने, ‘त्यसपछि मात्र दुई छोरालाई पनि क्वारेन्टाइनबाट घर पठाइयो ।’ जोद्धीका दुवै छोराको कोरोना परीक्षण भएको छैन । त्यसैले उनीहरू घरछेउ खेतमा बसिरहेका छन् । उनीहरूको मंगलबार आरडीटी परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । अझै किरिया बसेका छैनन् । समाचार स्रोत कान्तिपुर दैनिक 


(२०७७ जेष्ठ २०, मंगलवार) ०९:१२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना