रुकुम घटनाको पोस्टमार्टम रिपोर्ट भन्छ,”शरीरभरि चोट, पेटमा पानी छैन”

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ १६, शुक्रबार) २०:३५

रुकुम घटनामा शव भेटिएका पाँच जनाको कुटपिटपछि मृत्यु भएको देखिएको छ।  उनीहरुको जाजरकोट अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा त्यस्तो देखिएको हो।

शबको पोस्टमार्टममा संलग्न चिकित्सकलाई उद्दृत गर्दै समाचार स्रोतले दिएको जानकारी अनुसार, मृतक पांच जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको छ। भाग्ने क्रममा नदीमा हाम फाली डुबेर उनीहरुको मृत्यु भएको दाबी गरिदै आएको अवस्थामा पाँचै जनाको पोस्टमार्टम रिपोर्टमा ‘उनीहरु पानीमा बगे पनि पेटमा पानी भरिएको नदेखिएको’ उल्लेख छ।

नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि समाचारस्रोतको दाबी छ । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ ।

पोस्टमार्टम रिपोर्टमा उनीहरुको मृत्यु कुटपिटबाट भएको देखिए पनि भिसेरा रिपोर्ट कस्तो आउने हो त्यो प्रतिक्षाको बिषय बनेको छ।

प्रेम सम्बन्धमा रहेकी मल्ल थरकी प्रेमिकालाई बिबाह गरी घर भित्राउने उद्देश्यका साथ रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोती पुगेका कथित ‘दलित’ वर्गका नवराज बिकसहितको टोलीलाई प्रेमिकाका आफन्त लगायत गाउँलेले कुटपिट गरेका थिए।  त्यही क्रममा मृत्यु भएको भनिएका प्रेमी भेरी नगरपालिका–४ नवराज विक, चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार,  भेरी नगरपालिका–४ का गणेश बुढा, भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शब् भेरी नदीबाट गोताखोरहरुले निकालेका थिए भने सञ्जु विक, गोविन्द शाही र गोपाल बुढाथोकी शनिबारदेखि अझै बेपत्ता छन् ।

यसैबीच गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले शुक्रबारदेखि काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेतको टोलीले शुक्रबार मृतक सन्दीप विकको शवसमेत अवलोकन गरेको थियो । यसका साथै समितिले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको छ ।

गृह मन्त्रालयले सहसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित छानबिन समिति गठन गरेको छ ।

दलित अधिकारकर्मीले जाजरकोट पुगेको समितिलाई निष्पक्ष छानबिनको मागसहित ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । यसअघि कर्णाली प्रदेशसभाका सदस्यहरु रातो कामी, झुपा विक, सीता नेपालीलगायतले जाजरकोट पुगेर घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेका थिए । समितिका संयोजक बस्नेतले सरकारले दिएको म्यान्डेटअनुसार निष्पक्ष छानबिन गर्ने बताए ।

पीडित परिवारले भने घटनालाई तोडमोड गर्ने प्रयास भएको आरोप लगाएका छन् । रुकुममा केही स्थानीय र जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको बताएका छन् ।

मृतक  नवराजका बुवा मुनलालले कुटेर मारेपछि भेरीमा फालेको थाहा हुँदाहुँदै केटाहरुले आफैं भेरीमा हामफाले भन्दै अफवाह फैलाएर दोषीलाई बचाउने प्रयास भएको टिप्पणी गरे।  उनले

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीका स्थानीयले जाजरकोटतर्फबाट आएका युवामाथि आक्रमण गरेका थिए । सोतीकै १७ वर्षीया मल्ल थरकी किशोरीसित प्रेम सम्बन्ध रहेको र उनलाई बिहेका लागि भगाउन भनेर आएका युवाहरुको समूहलाई गाउँलेले लखेटेर हत्या गरेको पीडित पक्षको भनाइ छ।


(२०७७ जेष्ठ १६, शुक्रबार) २०:३५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना