सोती घटनाबारे पुर्व गृहमन्त्री प्रभाकरलाई एक क्रान्तिकारी युवाको खुल्लापत्र

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ १६, शुक्रबार) १७:२२

कमरेड अभिबादन !

वर्गीय, जातीय, लिंगीय  लगायत सम्पूर्ण खालको उत्पीडनको अन्त्य गरी समतामुलक समाज निर्माणका लागि तपाइहरुले शुरु गरेको जनयुद्धको उद्घमथलो मध्येको एक रुकुम पश्चिम निवासी म परिबर्तनको चाहा राख्ने क्रान्तिकारी बिचारधाराको एक युवा हु ।

पहिलो कुरा तपाइलाइ पत्र लेख्ने हैसियत मसङ्ग होला-नहोला पुर्वमन्त्री प्रभाकर ज्यु , दोस्रो कुरा उचित शब्दको चयन गर्न जान्दिन होला तसर्थ सर्बपर्थम क्षमा चाहन्छु । हरेक नीति , नियम , राजनीति र कुटनिती सङ्गै देश तपाइले बराबर मैले बुझेको छैन होला नेताज्यू।  तर तपाइका आदर्शबादी कुराहरु मैले बच्चैदेखि सुन्दै आएको छु । तपाइका भाषणहरुबाट पनि सत्यलाइ स्वीकार गरि झुटको पर्दाफास गर्ने केही साहस प्राप्त हुन्छ।  त्यही कारण आज तपाइलाइ पत्र लेख्ने अपराध गरेको छु ।
पुर्वमन्त्रीज्यु ! जनयुद्ध अन्त्य भएको एकदसकभन्दा बढी समय बितिसक्यो। जनयुद्धको क्रममा तपाईहरुले  लगाएका वर्गीय, जातीय, लिंगीय लगायतका उत्पीडनहरु जनयुद्धले संस्थागत गरेको भनिएको गणतन्त्रमा दिनप्रतिदिन उग्र बन्दै गएका छन्। स्थिति हेर्दा आज पनि हामी पन्चायतकाल छौं जस्तै लाग्छ।  जनयुद्धकालका ती मुद्दाहरु फोहोरको थुप्रोमा फालिएकी जस्तो महशुस हुन् थालेको छ।  दलित, जनजाति , क्षेत्री , बाहुन सबै समान हुन बिगतमा तपाइँहरुले गरेका भाषणहरु आज ब्यबहारमा हेर्दा फगत जस्तै देखिएका छन्।

नेताज्यू! क्रान्तिले परिवर्तन नल्याएको जस्तो लाग्छ। लाखौ परिबर्तनगामी युबाहरुको योगदान व्यर्थ भए जस्तो लाग्छ र हजारौ हजार सहिदहरुको बलिदान खेर गएको हो कि जस्तो अनुभूति भैरहेको छ। देशमा गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र वा जुनसुकै तन्त्र आएपनि अझै बर्गिय समानता  छैन र जातिय बिभेदको अन्त्य भएको छैन । पुर्व गृह मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ज्यु ! तपाइहरुको शान्ति सम्झौताले परिबर्तन अझै आएको छैन । परिवर्तन छ त केवल कागजका पानाहरुमा सिमित छन्।  परिवर्तनको अनुभूति त सर्वसाधारण र निमुखा जनताले गर्ने पाएका छैनन्।  परिवर्तनको अनुभूति त केवल सिमित भ्रस्टाचारी, दलाल र सामन्तहरुले मात्र गरेका छन्।  यति बेला परिवर्तनका नाममा न रगत फरक छ, न त जगत फरक छ , न भोजन फरक, न निद्रा फरक छ।  जे छ, जातीय, लिंगीय, वर्गीय लगायत विभिन्न खाले उत्पीडन कायमै छन्।

नेताज्यू! जनयुद्धका क्रममा स्थापित मुल्य र मान्यताहरुलाई कायम गर्न नसक्नु वर्गीय, लिंगीय, जातीय लगायतका बिभिन्न खाले उत्पीडन तोड्न नसक्नु कसको कमजोरी हो ? यो समाज गलत हो कि समाजलाइ बुझाउन नसक्ने नेतृत्व गलत हो ? बिगतमा जनयुद्धको नेतृत्व गरेको र वर्तमान  कथित दुई-तिहाइको कम्युनिष्ट सरकारको प्रभावशाली नेता भएको हैसियतले यो प्रश्न तपाइलाइ गरेको हुँ।  अन्यथा नलिनु होला।

रुकुम ( पश्चिम् ) चौरझारी नगरपालिका सोतीको घटनामा आधारित मुद्दालाई मध्यनजर गर्दै तपाइलाइ यस खुल्लापत्रमार्फत म केही प्रश्नहरु गर्न चाहन्छु। तपाइलाई पक्कै पनि ज्ञात छ कि यस जातिय विभेदको बिभत्स घटनाले सर्वत्र आक्रोश पैदा गरिरहेको छ र आन्दोलनका ज्वारभाटाहरु पनि उठिरहेका छन्। यदि यस घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिएन भने त्यति बेला उत्पीडित वर्ग र समुदायले विद्रोहको बाटो अपनाउन बाध्य हुनेछन।  त्यस अवस्थामा विभिन्न बहानामा सिधा, सादा जनतालाई उत्पीडनमा पार्ने तत्वहरुको अवस्था के हुनेछ भन्ने कुरा त तपाइँले पक्कै अनुमान गर्नुभएको होला।  तसर्थ प्रचारमा आए जस्तै यस घटनामा संलग्न दोषीहरुलाई बचाउने काम नहोस। पिडित पक्षलाई न्याय दिलाउने काममा लापरवाही गरिएमा र दोषीलाई बचाउन स्थानिय तहका जनप्रतिनिधि हुन् या जोसुकै लागेमा पनि त्यसको  सशक्त प्रतिरोध हुने कुरामा द्विविधा नरहे हुन्छ, कमरेड।

कमरेड! तपाइलाइ यो पत्र लेख्नुको मुख्य कारण स्थानीय सरकारसङ्गै तपाइको पनि विशेष ध्यानाकर्षण होस , दोषिलाइ कार्बाही होस , निर्दोषलाई न्याय प्राप्त होस , समाज रुपान्तरण हुने खालको न्याय होस । कुरीति र अन्धबिस्वाश अन्त्यको घोषणा गरिएपनि ब्यबहारमा ब्यबहारमा लागू भएको छैन।  कामरेड ! तपाइँहरुकै सट्टा छ, दुईतिहाइको बहुमतको शक्ति छ।  देश रुपान्तरण गर्ने क्षमता छ। अब अरु समाजविरोधी जातीय विभेद जस्ता कुरीतिहरुको उन्मूलन गर्ने खालका सशक्त कानून बनाएर कार्यान्वयन गर्नुस् । यदि न्याय सङ्गत दोसिलाइ फाँसी दिने हो भने भोलिका दिनहरुमा कसैले बर्ग , जातिय विभेद , बलात्कार यस्तै अन्य जघन्य अपराध गर्ने बारेमा कोही कसैले सोंच्न पन  सक्दैनन् ।

कदापी सोच्दैनन र पाइला चाल्दैनन ! न मैले न समाजले तसर्थ चौरझारी नगरपालिका वडा नम्बर ८ स्वती घटनामा निस्पक्ष छानबिन भै नबराज बि.क सहित अन्य मृतक र पीडित बर्गको परिवारलाई उचित न्याय मिलोस , दोषी बेक्ती होस या समाज सजाय कडा होस तर लापरबाही नहोस मन्त्री ज्यु ।

प्रेम गर्नु कुनै गलत हैन तर प्रेम बचाउन आउनेहरुलाइ मेटाउन प्रयास गर्नु गलत हो , जातिय बिभेदकै कारणले प्रेम मेटाउनु गलत हो । जात र धर्मले प्रेम र मानबतालाइ छेक्न सक्दैन।  तसर्थ मानबता बचाउन र समानता ल्याउन न्यायपुर्बक छानबिन होस।  अनि पिडित नवराज बि.क को परिवारलाई न्याय मिलोस।  तर सुन काण्ड, ह्वाइडबडी काण्ड , निर्मला हत्याकाण्ड जसरी नदबाइयोस  नेता प्रभाकर ज्यु ।

लेख्न र सोध्न बाकी धेरैनै थियो।  तर अहिलेको मुख्य बिषयभन्दा बाहिर जान चाहेन म र यो खुल्ला पत्रलाइ यहि समापन गर्दछु । नमस्ते

दिपेन्द्र क्षेत्री
रुकुम ( पश्चिम् )


(२०७७ जेष्ठ १६, शुक्रबार) १७:२२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना