कोरोना संक्रमितको संख्या छसय ८२ पुग्यो, चारको मृत्यु, एकसय १२ जना डिस्चार्ज, क्वारेन्टाइनबाट ३० जना भागे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ १३, मंगलवार) ०६:१०

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भारस संक्रमणबाट नेपालमा मंगलबारसम्म छसय ८२ जना संक्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ।  त्यस्तै कोरोना संक्रमित भएर क्वारेन्टाइनमा बसेका मध्ये एकसय १२ जना निको भएर घर फर्केका छन्।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।  चारमध्ये तीन जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । अर्थात, कोरोना संक्रमण पुष्टि हुनुअघि नै मृत्यु भएको देखिन्छ ।

कोरोनाबाट मृत्यु भएका चार मध्येको चौंथो व्यक्ति बारा करैयामाई गाँउपालिका-७ का ७५ वर्षीय बृद्ध हुन्।  उनको जेठ ४ गते वीरगन्जस्थित नेसनल अस्पतालमा निधन भएको थियो। उनको मृत्युपछि शबलाई उनको आफन्तलाई जिम्मा लगाएका थिए।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोनाबारे चौथो व्यक्तिको मृत्यु पुष्टि गर्दै भनेका थिए, ‘उहाँको बारे भन्नुपर्दा ट्युबरक्लोसिस (क्षयरोग), दीर्घ स्वाश्वप्रश्वाससम्बन्धी समस्या भएको । सास फेर्न गाह्रो भएर जेठ २ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना हुनु भएको थियो । आईसीयूमा उपचारका क्रममा जेठ ३ गते स्वाब कलेक्सन भएको थियो । नारायणी अस्पतालमा परीक्षण गर्दा शंकास्पद भेटिएपछि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । उहाँको ४ गते मृत्यु भयो ।’

प्रवक्ता देवकोटाले यति मात्र भने । जेठ तीन गते नै संकलन भएको स्वाबको रिपोर्ट आउन ९ दिन किन लाग्यो ? शंकास्पद रिपोर्ट आएका व्यक्तिको शव प्रोटोकल विपरीत किन परिवारलाई दिइयो ? भन्ने विषयमा केही बोलेनन् ।

यसै बीच स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज दिउँसो बर्दियामा तीन, अछाम र पर्सामा एक/एक जना तथा काठमाडौं घर भई बारामा कार्यरत एक जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा आजमात्रै ७८ नयाँ संक्रमित फेला परेका छन् भने कुल संक्रमितको संख्या छसय ८२ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा आइसोलेसनमा रहेका संक्रमितहरु प्रदेश नं १ मा ६० जना, प्रदेश नं २ मा २ सय १ जना, बागमतीमा २६ जना, गण्डकीमा ३ जना, प्रदेश नं ५ मा २ सय ५६, कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन्।

त्यस्तै रियालटाइम पोलीमर चेन रियाक्सन (पीसीआर) विधिबाट आजसम्म ५१ हजार ६ सय ४२ नमुनाहरु परीक्षण भएका छन्। त्यस्तै आजको दिनसम्म क्वारेन्टाइनमा रहेकाको संख्या ४६ हजार २९ रहेको मन्त्रालयले जनाएको छ। डिस्चार्ज हुनेको संख्या १ सय १२ पुगेको छ।

यसैबीच प्राप्त जानकारी अनुसार, क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् ।

कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतको मुम्बईलगायतका शहरबाट फर्केका हुन् । कोरोना संक्रमणको सम्भावित क्षेत्रबाट आएका व्यक्ति क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने सरकारी नियम छ । तर किटको अभावमा दुई हप्ता पूरा हुँदासम्म कोरोना जाँच नहुँदा असन्तुष्टी बढेको छ ।

कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए । उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो । कपिलवस्तुमा झण्डै सात हजार जना क्वारेन्टाइनमा रहेका छन् ।


(२०७७ जेष्ठ १३, मंगलवार) ०६:१० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना