जनयुद्धको उद्घम थलोमा २१औं शताब्दीको कलंक : जातिय विभेद हुँदा तीनको मृत्यु, चार बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ १३, मंगलवार) ०२:३२

२१ औं शताब्दीमा जातीय विभेदलाई समाजको कलंकको रुपमा हेरिन्छ।  त्यसमा पनि जातोय विभेद समाप्त गरी समान समाज निर्माणका लागि २०५२ सालमा शुरु भएको महान जनयुद्धको उद्घम थलो मध्येको एक रुकुममा जातीय विभेद सम्बन्धि एक घटना हुँदा तींजनाले ज्यान गुमाएका छन् भने चार जना बेपत्ता छन्।  सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजना जननिर्वाचित वडाध्यक्षसहित १२ जनालाई पक्राउ गरेको छ।

प्रेम सम्बन्धमा रहेकी मल्ल थरकी प्रेमिकालाई बिबाह गरी घर भित्राउने उद्देश्यका साथ रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोती पुगेका कथित ‘दलित’ वर्गका नवराज बिकसहितको टोलीलाई प्रेमिकाका आफन्तले निर्मम तरीकाले हत्या गरेका छन् भने प्रेमी विकका साथमा गएका चार जना युवा अझै बेपत्ता छन्।

प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक मल्ल थरकी प्रेमिका लिन भनी १९ जना साथी लिएर शनिबार चौरजहारीको सोती गएका थिए । आफ्नो छोरी-चेली लिन आएका ती युवालाई आफुहरु कथित उपल्लो जातका मान्ने सोतीका स्थानिय बासिन्दाले वडाध्यक्षको नेतृत्वमा लखेटी लखेटी कुटपिट गर्नुका साथै यातना दिएका थिए।  सोही  कुटपिटकाकारण प्रेमी भेरी नगरपालिका–४ नवराज विकजो मृत्यु भएको थियो भने चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको शव पछि फेला परेको थियो । प्रेमी भनिएका बिक र सुनारको शव आइतबार भेरी नदीमा भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

घटनापछि किशोरी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मबरबहादुर मल्ल सहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए ।

प्रेमिकाका परिवारले नवराज आएको थाहा पाएपछि स्थानीयको सहयोगमा कुटपिट गरी भेरीमा फालिएदिएको मृतकका आफन्तले आरोप लगाउँदै आएका छन्। घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरे । स्थानिय बासिन्दाले प्रेमी नवराज विकका १२ जना साथीलाई समातेर प्रहरीलाई बुझाएका थिए।  उनीहरु प्रहरीको नियन्त्रणमा नै छन्।

यसैबीच रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनामा मृतकका आफन्त आन्दोलित भएका छन्। जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुतमुक्त जिल्ला घोषणा भइसकेको छ ।

यता बहिर्गमित जनमुक्ति सेना नेपालले पश्चिम रुकुममा प्रेम समबन्धलाई लिएर भएको हत्याकाण्डका दोषीलाई कारवाहीको माग गरेको छ । जनयुद्धको उद्गममा अन्तरजातीय प्रेमलाई लिएर दलितमाथि गरिएको आक्रमण निन्दनीय भएको बताउँदै बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष रमेश बसेल ‘करन’ले सोमबार विज्ञप्ति जारी गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

संविधानले नै छुवाछुतलाई अपराध मानिसकेको बताउँदै अध्यक्ष करनले दोषीलाई कानूनअनुसार कारवाहीको माग गरेका छन् । गणतन्त्र स्थापनमा दलित समुदायको महत्वपूर्ण रहेको बताउँदै विज्ञप्तिमा “यो गणतन्त्र ल्याउन दलित समुदायले रगत बगाएको छ । शक्तिको आडमा कथित ठूलालाई ऐन र सानालाई चैन हुने अवस्थामा आए संविधान र राज्य मान्नुको कुनै अर्थ हुँदैन । यस्ता घटनाले प्रोत्साहन पाउने र अझै पनि दलितले न्याय नपाउने हो भने अन्यायमा परेका समुदायको लागि संविधान कुल्चेर संघर्षमा उत्रिन बाध्य हुनेछौं” विज्ञप्तिमा भनिएको छ ।


(२०७७ जेष्ठ १३, मंगलवार) ०२:३२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना