चार दिनदेखि भोका मलर खेतमै ढले : “हामी गरिबको को छ र ? : जलेश्वरी देवी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ जेष्ठ ८, बिहीबार) ०८:४४

घरमा चार दिनदेखि चुलो नबलेपछि सप्तरीको कञ्चनरुप नगरपालिका-५ पथरी रामपुरका मलर सदा मुसहर चिन्तामा डुबेका थिए । सोमबार दिउसो उनले श्रीमती जलेश्वरी देवीसँग अचानक कोदालो र छाता मागे । बेलुकाको खानाका लागि जसरी भए पनि सिदहा (खाद्यान्न) लिएर आउने बाचा गर्दै घरबाट निस्किए ।

केहीबेरमै बस्तीका एकजनाले मलर नजिकै खेतमा लडेको खबर लिएर आए । एकछिन अवाक् बनेकी जलेश्वरी १० वर्षीय नाति दिनानाथलाई लिएर खेततर्फ दौडिइन् । बेलुका खानेकुरा लिएर आउँछु भनेर हिँडेका ५० वर्षीय श्रीमान् खेतमा ढलेको देख्दा उनी अवाक भइन् ।

नातिसमेत लागेर ढलेका श्रीमान्‌लाई उठाउन त खोजिन् तर सकिनन् । घरमा रहेका दुई जना बुहारीलाई बोलाइन् । नजिकै बाँतर टोलका दुईजना आइपुगे र बुहारीको पिठ्युँमा बोकाएर घर ल्याइन् ।

‘घर ल्याएपछि उपचार गर्न लान्छु भन्ने सोचेँ । तर फेरि पैसा कहाँबाट आउँछ भन्दै उपचार गर्न गइनँ,’ बुधबार दिउँसो जलेश्वरीले सुनाइन्, ‘रातभरि त्यतिकै घरमा राखेँ, मंगलबार बिहान ८ बजे प्राण गयो । खाना नपाएरै मेरो पतिको ज्यान गयो । हामी गरिबको को छ र ?’

चार दिनदेखि पेटमा अन्न परेको थिएन । भोको पेट लिएर कोदालो चलाउन हिँडेका मलर खेतमै लडे । समयमै उपचार गरेको भए बाँच्न पनि सक्थे तर गरिबीका कारण मुसहर परिवारले उपचारसमेत गराउन पाएन ।

उनको घरमा अन्न नभएपछि एक दिनअघि छिमेकी फनिलाल सदाले खिचडी बनाउन थोरै चामल दिएका थिए । ‘भोकले गाह्रो भयो भनेर मलरले भनेपछि मैले उनकी श्रीमतीलाई चामल दिएको थिएँ,’ फनिलालले भने, ‘बिचरा, गरिबीले खान नपाएरै बिते ।’

स्थानीय तहले दुई साताअघि १५ किलो चामल र १ सय २० रुपैयाँ राहत रकम दिएको थियो । राहतको चामल सकिएको चार दिनसम्म खाद्यान्न नजुटेपछि मलर जोहो गर्न कोदालो लिएर हिँडेका थिए ।

उनका तीन भाइ छोरा छन् । दुईजना विवाहित हुन् । सबै रोजगारीका लागि भारतको गुजरातमा छन् । दुई बुहारी एकै आँगनमा भए पनि छुट्टै बसेका छन् । दुई छोराको कच्ची घर छ । मलर दम्पतीको भने भत्केको घर ।

‘खान नपाई मर्ने बेलामा न सन्तानले हेरे न त सरकारले,’ शोकमा डुबेकी जलेश्वरीले आँसु पुछ्दै भनिन्, ‘छोराहरुले पनि के गर्नु, दुई महिनादेखि गुजरातमा बेरोजगार छन् । उनीहरुलाई नै के दोष दिनु, हाम्रो भाग्यमै खाना नपाई मर्नु थियो ।’

मलरको मृत्युपछि जलेश्वरीसँग सद्गत गर्नसमेत पैसा थिएन । टोलवासीले उठाएर १५ सय रुपैयाँ दिए । जसले कात्रोलगायत सद्गतको सामान खरिद गरी अन्तिम संस्कार गरियो । सबै छोरा घरबाहिर रहेकाले नाति दिनानाथ (जेठा राजेशका कान्छा छोरा) ले दागबत्ती दिए । ‘किरियामा बसेको नातिलाई लगाउन एउटा गन्जी छैन, पुरानै कपडा लगाएको छ,’ जलेश्वरीले भनिन्, ‘किरिया कसरी सक्ने र अबको दिन कसरी बिताउने भन्ने चिन्ताले सताएको छ ।’

कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले भने मलरको मृत्यु भोकका कारण नभई दमरोगका कारण भएको दाबी गरे । ‘उनी दमका रोगी थिए, औषधि खाइरहेका थिए, रक्सी पनि खान्थे,’ उनले भने ।

जलेश्वरीले भने आफ्ना पति रोगी नभएको बताइन् । उनका अनुसार पाँच दिनअघि खोकी लागेपछि मलरले औषधि खाएका थिए । घरमा ‘सालबुटामोल’ सिरप र केही ट्याबलेट बाँकी थियो । ‘हामी गरिब सबै रोगसँग लड्न सक्छौं तर भोकसँग लड्न सक्दैनौं,’ जलेश्वरी भन्छिन्, ‘मेरो पति गरिबी र भोको पेटका कारण मरेका हुन् । ठूलाबडाले त जे भने पनि हुन्छ । हामी डराउनुबाहेक अरु के गर्न सक्छौं ?’

नगरप्रमुख मिश्रले आर्थिक सहयोग चाहिए नगरपालिकामा निवेदन दिनु भनेर जलेश्वरीलाई भनिसकेको बताए ।

सरकारले पटकपटक दोहोर्‍याउने गरेको छ- ‘अब खान नपाएर कोही नेपाली मर्नेछैनन् ।’ मलर सदाले भने भोकसँग लड्दालड्दै प्राण त्यागे । उनको यो मृत्युले सरकारी प्रतिबद्धतालाई गिज्याएको छ । ‘सरकारी प्रतिबद्धता नारामा मात्र सीमित भयो,’ स्थानीय दलित अधिकारकर्मी भोला पासमान भन्छन्, ‘प्रतिबद्धता कार्यान्वयन गरी गरिबहरुसम्म नआउँदा यसरी मरी नै रहनेछन् ।’ कान्तिपुर दैनिकबाट साभार 


(२०७७ जेष्ठ ८, बिहीबार) ०८:४४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना