दलाल संसदीय व्यवस्थामा जनताको दयनीय स्वास्थ्य अवस्था : कलम सिह विश्वकर्मा ‘दिपेन्द्र’

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख १२, शुक्रबार) ११:१६

नेपालमा अहिले दलाल संसदीय व्यवस्था छ‌‌ । दलाल संसदिय व्यवस्थाभित्र भ्रष्टाचार, कमिसन र दलालीको खेल चलिरहेको छ । सरकार आफ्नो विवेकले होईन बिदेशी शक्तिको ईसारामा चलिरहेको छ । वैदेशिक शक्तिको हस्तक्षेप तिब्र भएको छ । साम्राज्यवादी शक्तिहरुले नेपालको आर्थिक, राजनितिक, सामाजिक, सामरिक सबै क्षेत्रमा नियन्त्रण कायम गरिरहेको छ ।

स्वास्थ्य मानिसहरुको जीवनमा प्रत्यक्ष सरोकार राख्ने सम्बेदनशील क्षेत्र हो । दलाल संसदीय ब्यबस्थाले स्वास्थ्यलाई व्यवस्थित गर्न सकेको छैन । नेपालमा १२५ अस्पतालहरु, ३८४ आयुर्बेद अस्पताल तथा औषधालयहरु समेत जम्मा ४५१५ स्वास्थ्य संस्थाहरु रहेका छन् । केन्द्रीय तह, प्रदेश र स्थानीय तहमा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, ईलाका स्वास्थ्यचौकी र स्वास्थ्यचौकीहरु रहेका छन् । सरकारले अस्पतालहरू व्यवस्थित गरेको छैन । प्रयाप्त औषधी, जनशक्ति र स्वास्थ उपकरणहरूको व्यवस्था छैन । गरिब जनताहरू उपचार नपाएर छट्पटिदै बस्नु परेको कहाली लाग्दो अवस्था छ । राज्यले शिक्षा, स्वास्थ्यलाई निशुल्क धोषणा गरेपनि जनताले सिटामोल पाएको छैन । राज्यले जनतालाई मिठा कुरामा भ्रमित बनाउने काम गरेको छ । दलाल संसदिय व्यवस्थाको भनाई र गराईमा, सिद्धान्त र व्यवहारमा, कुरा र काममा भिन्नता छ ।

मानवजीवनमा स्वास्थ्यको महत्वपूर्ण भूमिका हुन्छ । मानिसहरूले चाहेका कुनै पनि शारीरिक र मानसिक काम गर्न निरोगी स्वास्थ्य आवश्यक हुन्छ‌ । राष्ट्रलाई स्वस्थ नागरिकको आवश्यक पर्छ । स्वास्थ्य नै धन हो भन्ने कुराबाट नै स्वास्थ्यको महत्व कति छ भन्ने सहजै बुझ्न सकिन्छ । हाम्रो देशको वर्तमान स्वास्थ्य अवस्था नाजुक देखिन्छ । विश्व स्वास्थ्य संगठनले सन 2018 मा प्रकाशित गरेको वर्ल्ड हेल्थ स्टाटीस्टिक्स अनुसार नेपालमा प्रतिवर्ष प्रतिलाख २५८ आमाको गर्भ सम्बन्धि समस्याबाट निधन हुने गरेको तथ्यांक छ ।किशाेरी अवस्थामा बच्चा जन्माउनेमा नेपाल दक्षिण एशियामा सबैभन्दा बढी छ ? क्यान्सर, मुटु, मिर्गौला र मधुमेह रोगबाट ३० देखि ७० वर्ष उमेर समूहका २१.८% नेपाली नागरिकहरु मुत्यु भएको देखिन्छ । ५ वर्ष मुनिका ९.७% प्रतिशत बालबालिकालाई कुपोषणको समस्या देखिन्छ । धुलो, धुवाँका कारण प्रदुषण बढेको छ । अति प्रदुषित मुलुकहरुमध्ये नेपाल पहिलोमा पर्छ । सरसफाईबाट हुने मुत्युदरमा पनि नेपाल दक्षिण एशियामा पहिलो स्थानमा छ । सरसफाईको अभावमा प्रतिलाखमा १९.८% मानिसहरुको मुत्यु हुने गरेको छ ।

नेपालको जम्मा २७% प्रतिशत मानिसहरूले स्वस्थ खानेपानी प्रयोग गरेको देखिन्छ । प्राकृतिक बिपत्तिको कारण निधन हुनेमा नेपाल विश्वमा नै पहिलो देशमा पर्छ । नेपालमा प्रतिलाखमा ७ जना मानिसहरुको मुत्यु प्राकृतिक विपत्तिका कारण हुने गरेको तथ्यांक छ ।नेपालको वर्तमान स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा माथिका तथ्यहरूबाट मोटामोटी स्पष्ट हुन्छ ।

स्वास्थ्यमा माफियाकरण भएको छ । स्वास्थ्य सेवा गरिब जनताको पहुँचमा छैन । कोरोना महामारीको संकटको बेलामा पनि निजि अस्पतालहरुले गेटमा ताला लगाएका छन् । अस्पतालको गेटबाट बिरामीहरु फर्किन बाध्य भएका छन् । मुनाफाको लागि खोलिएका निजि अस्पतालहरूलाई नागरिकको के मतलब हुन्छ र ? मानिसहरुको जीवनमाथि खेलवाड गर्ने काम निजि अस्पतालका कतिपय सञ्चालक र स्वास्थ्यकर्मीहरुबाट नै भएको देखिन्छ । मरेको मान्छेलाई आईसियुमा राख्ने मात्र होईन मौका परेपछि पित्तथैलीको सल्यक्रिया गर्न आएकाकाे बिरामीको किड्नी चोरेर विदेश पठाउने र पैशा कमाउने पनि गर्छन् । कतिपय बिरामीहरू उपचारमा लागेको रकम तिर्न नसक्दा हस्पिटलको छतबाट हाम फाल्न बाध्य हुन्छन् । कतिपय बिरामीहरु उपचार नपाएर मर्नु न बाँच्नुको दोसाँधमा हुन्छन् ।कतिपय झुपडीमा बस्ने नागरिकहरु रोगले छट्पटिदै मुत्यु सँग लड्न बाध्य हुन्छन् । देशका प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, मन्त्रीहरु र पार्टीका शिर्ष नेताहरु बिरामी हुदा देश भित्र र देश बाहिरका सुबिधा सम्पन्न अस्पतालहरुमा उपचार गर्छन् । राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च हुन्छ । स्वास्थ्य सेवा पनि नेपालमा हुनेखाने र सत्तासिन वर्गको लागि मात्र भएको देखिन्छ ।

संसदिय व्यवस्थाले स्वास्थ्यलाई सेवामुलक भन्दा पनि नाफामुखी बनाएको छ । सेवाभन्दा पनि नाफाको लागि खोलिएका निजि अस्पताल सञ्चालकहरुले राज्यलाई कमिसन दिने र नागरिकहरुलाई लुट्ने काम गरेका छन् ।राज्यले निजि अस्पतालहरुको सँरक्षण गरिरहेको छ ।सरकारी अस्पतालमा अावश्यक पर्ने औषधिहरु, जनशक्ति र उपकरणहरुको अभाव छ । सरकारी अस्पतालमा पनि सामान्य नागरिकहरुले सहज ढंगले उपचार पाउने अवस्था छैन । राज्यको उच्च तहमा पहुँच भएका मानिसहरूको उपचार सजिलै हुन्छ भने पहुँच नभएका बिपन्न मानिसहरूको उपचारमा समस्या हुने गरेको पाइन्छ । स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार मौलाएको देखिन्छ । स्वास्थ्यको सामाग्री खरिद, औषधिहरु खरिद र अन्य स्वास्थ्यको अनुदान रकममा पनि भ्रष्टाचार हुने गरेको छ । कोरोना माहामारीबाट नागरिकहरु पिडित भएको बेलामा मुलुकको स्वास्थ्यमन्त्री नै भ्रष्टाचारमा मुछिनुले नेपाल र नेपाली जनता लज्जित हुनुपरेको छ ।

केन्द्रीय तहमा कथित कम्यूनिष्ट पार्टीको दुई तिहाइको सरकार छ । मुलुकका ७ वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा कथित नेपाल कम्यूनिष्ट पार्टीले सरकारको नेतृत्व गरेको छ । मुलुकका ७५३ वटा स्थानिय तहहरु मध्ये अधिकांश स्थानिय तहरुमा‌ सरकारको नेतृत्व पनि गरेको छ ।नेपाली जनतालाई सुखी र देशलाई धनी बनाउने सपना पनि बाडेको छ । यति हुँदाहुँदै पनि नेपाली जनताहरुका समस्याहरु दिनप्रतिदिन विकराल बन्दै गएका छन् । स्वास्थ्यको मात्र कुरा गर्ने हो भनेपनि स्वास्थ्य दिनप्रतिदिन महङ्गो हुदै गएको छ । स्वास्थ्यलाई नाफामुलक बनाईएको छ । स्वास्थ्य संस्थामा प्रयाप्त औषधिहरु, स्वास्थ्य उपकरणहरु र आवश्यक जनशक्तिको अभाव छ । स्वास्थ्य गरिबहरुको पहुँचमा छैन । कमिसन र दलाली बढेको छ । यी सबै समस्याहरुको समाधान खोज्न जरुरी छ । स्वास्थ्यलाई निशुल्क बनाउनुपर्छ । निजि अस्पतालहरुलाई सरकारीकरण गर्नुपर्छ । सबै स्वास्थ्य संस्थामा अावश्यक जनशक्ति, औषधिहरु र स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्नु पर्छ । सबै किसिमका रोगहरूको उपचारमा गरिबहरुको पनि पहुँच हुनुपर्छ । वर्तमान दलाल संसदीय ब्यवस्थाबाट स्वास्थ्यमा देखिएका समस्याहरुको समाधान हुन सक्दैन । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र नेपाली जनताको गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्यको समस्या हल हुन्छ । वैज्ञानिक समाजवाद ल्याउन सम्पुर्ण जनता एकजुट हुनु पर्ने अहिलेको आवश्यकता भएको छ ।

लेखक: नेपाल कम्यूनिष्ट पार्टी, दैलेख इन्चार्ज


(२०७७ बैशाख १२, शुक्रबार) ११:१६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना