कोरोनाबिरुद्ध सबै जुटेर लडौं : सन्तोष बुढा मगर

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख १०, बुधबार) १३:५३

नेपाली पात्रोअनुसार वर्ष २०७६ लाई एकान्तबासबाट बिदाइ । नव वर्ष २०७७ लागेको छ । नयाँ वर्षलाई स्वागत छ । यस उपलक्ष्यमा देशविदेशमा बस्ने सारा नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई एकान्ताबासबाट शुभकामना छ ।

यति बेला कोरोना भाइरसले नेपालीलाई मात्र होइन, विश्वका सारा मानिसलाई एक्लाएक्लै कोठा–कोठामा थुनेको छ । सबैलाई असजिलो र आपद्विपद्मा पारेको छ । यस बेला सबैलाई धैर्यधारण र उच्च मनोबलका साथ मिलेर विश्व–महामारी कोरोनासँग लड्न पनि सल्लाह दिन्छु । साथै हालसम्म कोरोनाबाट दिवंगत डेढ एक लाखभन्दा बेसी सबै विश्व–मानवबन्धुहरूको चिरशान्तिको कामना गर्दछु र उहाँहरूका परिवार तथा सम्बन्धित देशबासीलाई समवेदना व्यक्त गर्दछु ।

यतिबेला चीनबाट सुरु भएको ‘कोभिड १९’ नामको कोरोना भाइरस विश्वको कुनाकुनामा पुगेको छ । सबैको एउटै चिन्ता छ यसबाट कसरी बच्ने र कसरी पराजित गर्ने ? विश्वका २१० भन्दा बढी देशहरूमा पुगेको यो कोरोना सिङ्गो मानवजातिका लागि चुनौती बनेको छ । यस बेला सबैले सङ्कल्प गरौँ, सव मानव जाति एक भएर लड्यौँ भने कोरोनालाई जित्न सकिन्छ र जित्नेछौँ । यो मनोबल, आत्मबल र आत्मिक शक्ति (रोग प्रतिरोधी तागत) नयाँ वर्ष २०७७ ले प्रदान गरोस्, यही नयाँ वर्षको शुभकामना छ ।

हामी यो पृथ्वीबासीहरूमा सबैभन्दा सचेत र चेतनशील प्राणी मानव जाति हौँ तर हामीसँग सचेतना भएर पनि जानी–जानी घुँडामा आफैँ बन्चरो हानिरहेका छौँ । कहिलेकहीँ त आफ्नो चिहान आफैँ खनिरहेको जस्तो महसुस हुन्छ । हामीले पृथ्वी र विश्व–पर्यावरणमाथि जथाभाबी हमला गरिरहेका छौँ । विश्व–वातावरण असन्तुलित बनाउँदैछौँ । हामीले यो काम जारी राख्यौँ भने एकजना बेलायती अर्थशास्त्री माल्थसको जनसङ्ख्या सिद्धान्त ‘उत्पादन र जनसङ्ख्याबीच माग र पूर्तिमा असन्तुलन पैदा भयो भने प्रकृतिले आफ्नो सन्तुलन आफैँ मिलाउँछ’ भन्ने कुरालाई एकपटक सम्झनुपर्ने हुन सक्छ । प्रकृति वा विश्व पर्यावरण इकोसिस्टममा चलिरहेको हुन्छ । यो सिस्टममा तलमाथि हुनेबित्तिकै प्रकृतिले आफ्नो सिस्टमलाई सन्तुलनमा ल्याउन केही न केही घटनाहरू हुनुपर्ने अनिवार्य हुन पुग्छ । यो कुनै ‘दैवी खेल वा भगवान्को चाल’ नभएर प्राकृतिक सन्तुलन भत्किनाले उत्पन्न हुने समस्या हो । उदाहरणका लागि चीनमा एकपटक भँगेरा मार्ने अभियान चलाउँदा साना अन्न खाने कीराफट्याङ्ग्राहरू अधिक बढेछन् र अभियान रोक्नुपर्यो । एकपटक सर्प मार्ने अभियान चलाउँदा मुसाहरूको सङ्ख्या बढेपछि यो पनि रोक्नुपर्यो भनिन्छ । यस्तै बनजङ्गल नासिएपछि अक्सिजनको कमी भएर मान्छेको स्वास्थ्यमा नकारात्मक असर पर्ने र विभिन्न रोगको सिकार हुने, खडेरी, अनावृष्टि, अतिवृष्टि, अनिकाल, अभाव र यसबाट विभिन्न रोगहरू पैदा हुने समस्या आउँछ । पुराना झार, जङ्गल मासिने, नयाँ आउने, पुराना रोगहरू निको हुने नयाँ देखा पर्ने, पुराना भाइरसको उपचार हुने नयाँ भाइरस जन्मने वातावरण बन्ने यी सबै काम हामी मानव जातिको व्यवहारले गरिरहको छ । यस्ता नयाँनयाँ घटनाहरू, रोगहरू मान्छेले थाहै नपाउने गरी आकस्मिक रूपमा आउँछन् जो हामी मानव जातिको वशमा हुँदैन । यो हाम्रो सोचाइभन्दा बाहिर हुन्छ । कोरोना पनि यसैको एउटा रूप हो ।

हामी मानव जाति हौँ । हामीले सबै पढेलेखेका छौँ, बुझेका छौँ र भोगेका पनि छौँ । शिक्षा हासिल गरेका छौँ । फेरि पनि हामीले जथाभाबी आणविक भट्टीहरू सञ्चालन र परीक्षण गरिरहेका छौँ । उत्पादनका नाममा आवश्यकताभन्दा बढी उद्योग, कारखानाहरू चलाइरहेका छौँ, पर्यावरण भत्काइरहेका छौँ । विकासका नाममा जथाभाबी पृथ्वीलाई धुजाधुजा बनाइरहेका छौँ । मुनाफाका लागि बन–जङ्गल र वातावरण विनाश गरिरहेका छौँ । मानव वातावरणलाई खलबल्याइरहेका छौँ । हानिकारक विषालु ग्याँसहरू उत्सर्जन गरिरहेका छौँ । वायु प्रदूषण, जलप्रदूषण, ध्वनिप्रदूषण र वातावरणीय प्रदूषणले मानव जीवन र सामाजिक वातावरण भत्किएको छ । वायुमण्डलको ओजोन तह भताभुङ्ग भएको छ । सूर्यको किरणबाट आउने हानिकारक बैजनी किरणहरू बेरोकटोक हामीसम्म आइरहेका छन् जसले विभिन्न रोगहरू पैदा भइरहेका छन् । मानवबाहेकका अन्य प्राणी जगत्माथिको मानव अतिक्रमण, अविकसित देशहरूका साधनस्रोत र वातावरणीय संरचनामाथि साम्राज्यवादी र पुँजीवादी देशहरूको अतिक्रमण, गरिबमाथि धनीको अतिक्रमण, विपन्नमाथि सम्पन्नको र उत्पीडितमाथि उत्पीडकको अतिक्रमण, सिङ्गो पृथ्वीको प्राकृतिक पर्यावरणमाथि मानवजातिको अतिक्रमणका कारण हामीले नचाहँदानचाहँदै पनि हिंसा–प्रतिहिंसा, अशान्ति, द्वन्द्व, युद्ध–महायुद्ध र महामारी तथा आपत्–विपद्का आकस्मिक घटनाहरू बेहोर्नु परेको छ । यो हामी आफैँले निम्त्याएको परिणाम हो । आर्मीमा एकजना कसैले गल्ती गरेपछि पल्टनका सबैले सामूहिक सजाय पाएजस्तो यो पृथ्वीमा बस्ने हामी मानवजातिका कुनै व्यक्ति वा कुनै एक सानो हिस्साले वा केही देशले यो गल्ती गर्ने तर यसको सजाय हामी सबै मानवजातिले वा विश्वभरिका सबै देशहरूले एकैचोटि सामुहिक रूपमा भोग्ने र बेहोर्ने भएको छ । अहिले ‘कोभिड १९’ यसको एउटा उदाहरण हो । यसबाट आउने विपत्तिको कारण पनि धेरै हदसम्म हामी र हाम्रो व्यवहार हो । यसलाई हामीले आगामी दिनहरूमा सच्याउने र फेरि यस्ता विपत्तिहरू आउन नदिन एउटा सचेत प्राणीको नाताले विश्व–पर्यावरण र राजनीतिक प्रणाली तथा मानवलाई आवश्यक पर्ने उत्पादन र उपभोग गर्ने कति हो भन्ने कुरालाई बेलैमा सोचेनौँ भने यसले यति मात्र होइन, अरू भयङ्कर मानवविनाशक उपद्रो गरेर अर्को महामारी आउन नसक्ला भन्न सकिन्न ।

कोभिड १९ नामको भाइरस कहाँबाट आयो भन्ने कसैलाई थाहा छैन । यहाँ थाहा नपाईकन गल्ती गर्नेहरू पनि हौँला तर जानीजानी गल्ती गर्नेहरू निरन्तर यो गल्ती दोहोर्याइरहेका छन् । सबै मिलेर यसलाई रोक्न र हाम्रो व्यवहारलाई सच्याउने सचेत प्रयत्न गर्नु आवश्यक छ । कोरोनाले यसपटक मानव जातिलाई यही कुरा सुझाएको छ । यसमा सबैले सोच्न जरुरी छ ।

प्रकृतिमा यस्ता साना–ठूला परिघटनाहरू निरन्तर बेहोर्दै आएका छौँ । यो हाम्रो बाध्यता बनिरहेको छ । तत्कालिक वा दीर्घकालिक हिसाबले हेर्ने हो भने हाम्राअगाडि यस्ता निकै ठूला चुनौतीहरू छन् । सबैभन्दा सचेत प्राणी भएर पनि सबैभन्दा स्वार्थी प्राणी पनि हामी मानिस नै छौँ । मानिसले विज्ञान र प्रविधिमा यति विकास गरेको छ, एउटै हतियारले संसार ध्वस्त बनाउने शस्त्र–अस्त्र मान्छेले नै बनाएको छ । किंवदन्तीहरूमा भष्मासुरको कथा सुन्न पाइन्थ्यो । आज मान्छे आफैँ त्यो भष्मासुर बनेको छ । उसले आफ्नो विनाश आफैँले निम्त्याएको छ । मान्छेको सबभन्दा ठूलो शत्रु मान्छे नै बनेको छ । नत्र ती मानवविनाशक हतियार कसका लागि र केका लागि बनेको हो ? एक मान्छेले अर्को मान्छेलाई र एक देशले अर्को देशलाई भष्म बनाउनलाई त हो । आखिरमा अरूलाई भष्म बनाउँछु भनेर बनाएका शस्त्र–अस्त्रहरू फर्केर आफ्नै टाउकोमा बज्रेपछि मात्र ऊ पछुताउँछ । यो नै आजको मानवीय स्वभाव बनेको छ । यसकारण मानव जातिले आफ्नो खुट्टामा आफैँ बन्चरो हानिरहेको छ भनेको हो । यो अवस्थामा हाम्राअगाडि राजनीतिक, आर्थिक र सामाजिक गरी तीनथरी चुनौतीहरू जतिखेर पनि आउन सक्छन् । कोरोना भाइरसले ल्याएको चुनौती सामाजिक चुनौती हो । यसले निकट भविष्यमा आर्थिक मन्दी र मह“गी, अभाव र भोकमरीको चुनौती ल्याउन सक्छ । त्यसले राजनीतिक सङ्कट पनि निम्त्याउन सक्छ । यी हाम्रा अगाडिका सम्भावित चुनौती हुन् । यीमध्ये पछिल्ला दुई चुनौतीहरू पहिलोको तुलनामा घातक हुन सक्छन् तर पहिलो (राजनीतिक) चुनौतीले भने सकारातत्मक निकास दिने सम्भावना रहन्छ । यो अँध्यारोभित्रको उज्यालो र आशावादी पक्ष हो ।

सभ्य प्राणी भनिने हामी मानवजाति पनि चेतनाको हिसाबले सचेत र अचेत दुईथरी छौँ । शिक्षाका हिसाबले शिक्षित र अशिक्षित, विचारको हिसाबले वैज्ञानिक र अवैज्ञानिक रूढिवादी विचारका, वर्गका हिसाबले उत्पीडित र उत्पीडक, सर्वहारा र पुँजीपति, आर्थिक हिसाबले सम्पन्न र विपन्न, अवसरको हिसाबले सुविधासम्पन्न र सुविधाविहीन वर्ग (बेरोजगारहरू), मानसिकताका हिसाबले दास मानसिकता र मालिक मानसिकता भएकाहरू, स्थानको हिसाबले गाउँ र सहरमा बस्नेहरू छौँ । कोरोनाले अहिले कसैलाई ठूलो–सानो, धनी–गरिब नभनेर सबैलाई समान रूपले आक्रमण गर्यो । त्यसैले होला एकजना नेपालका व्यक्तिलाई कोरोना कस्तो छ भनेर पत्रकारले सोधेको प्रश्नको जबाफमा ‘कम्युनिस्टजस्तो छ’ भने । हो, यसले धनी–गरिब, सानो–ठूलो नभनेर सबैलाई समान आक्रमण गरेको छ तर आर्थिक मन्दी (सङ्कट) ले भने सबभन्दा तल्लो वर्गलाई असर पार्नेछ । अहिले पनि लकडाउनमा बस्दा धनाढ्यहरू महिनौँ दिनसम्म पनि मज्जाले खानपिन ८४ व्यञ्जन बनाएर निजी गाडीहरूबाट घुमफिर गर्ने सुविधामा छन् तर बेरोजगारहरू, दैनिक काम गरेर खाने ज्यामीहरू, मजदुरहरू साँझबिहान के खाऊँ के लाऊँको अवस्थामा छन् । यस्तो बेला मानवजातिको बाँच्न पाउने र खान–लाउन पाउने अधिकारबाट उनीहरू वञ्चित भइरहेका छन् । सत्ता हुनेखाने वर्गको हातमा छ र उनीहरू जे पनि गर्नसक्ने अवस्थामा छन् भने जनता र ठूलो हिस्सामा रहेका तप्का निकै ठूलो मार्कामा छन् । यस्तो बेलामा उनीहरूले सरकार भएको अनुभूतिसम्म गर्न सकेका छैनन् । जनताको सरकार नभएपछि जनताले आशा गर्ने ठाउँ पनि छैन जब कि यस्तो आपत्–विपद्मा सरकार पूरै जनताप्रति उत्तरदायी हुनुपर्छ र नागरिकका समस्या समाधानको जिम्मा लिनु सरकारको कर्तव्य हुन्छ । यसबाहेक समाजमा सचेत र शिक्षित वर्गको भूमिका अहम् हुन्छ भने अर्को वैज्ञानिक विचार र सचेतन पक्षको भूमिका रहन्छ । यो वर्गले राज्य र जनतालाई सचेत बनाउने सचेतकको भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ । निश्चय पनि यो सङ्कटको बेला हो । हुनलाई यो अस्थायी मात्र हो । फेरि पनि सङ्कटमा सबै नागरिकहरू सचेत र सतर्क बन्न जरुरी छ । कसैको लहैलहैमा, अन्धविश्वास र परम्परावादी प्रचारहरूमा नलागी धैर्यका साथ यो प्राणघातक रोग निर्मूल गर्न सबै लागिपरौँ । सबैले यो सङ्कल्प गरौँ– हाम्रो पहिलो कार्य मानवीयताको हैसियतले सबैसँग एक भएर तत्कालिक समस्या कोरोनाका विरुद्ध लड्नु हुनेछ । दोस्रो र दीर्घकालिक कार्यका लागि आउने हरेक चुनौतीहरूसँग जुध्नु हुनेछ । यसका लागि उत्तम मानवसमाज निर्माण गर्न, उत्तम मानवसभ्यता बसाल्न र राज्यव्यवस्थाको उत्तम पद्धति स्थापना गर्न तत्कालिक र दीर्घकालिक समस्या र चुनौतीहरूसँग जुध्न सतर्कता, सचेतता र पूर्वतयारीका साथ यस पृथ्वीका मानव जातिको हितका लागि सबै मित्रहरूसँग हातेमालो गर्दै अघि बढ्नुको विकल्प छैन ।

फेरि पनि यो नव वर्ष २०७७ लाई गर्भमै कोरोनाले ग्रस्त बनाएको अवस्थामा हामी यो नयाँ वर्षलाई महामारी तथा अन्य सबै रोगहरूसँग लड्ने प्रतिरोधी क्षमता अभिवृद्धि गर्न र सबै प्रकारका समस्या र रोगहरूसँग लड्न र विजय प्राप्त गर्न सङ्कल्पबद्ध बनौँ । नयाँ वर्ष २०७७ ले सबैको यही आकाङ्क्षा पूरा गरोस् ।


(२०७७ बैशाख १०, बुधबार) १३:५३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना