उद्योग संचालनमा ब्यबस्थापनको लापरवाही :स्थानीय प्रशासन बेखबर, पोखरा औद्योगिक क्षेत्र पोखरामा कोरोना फैलाउने मूलथलो बन्ने सम्भावना

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख ६, शनिबार) १३:४९

स्थानिय सरकार र प्रशासनको असावधानीकाकारण पोखरा औद्योगिक क्षेत्रका केही उद्योगहरु पोखरामा कोरोना भाइरस संक्रमण फैलाउने मूलथलो बन्ने सम्भावना देखिएको छ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले भिडभाड हुने उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था, सिनेमा हल सबै बन्द गरेर जनतालाई घर भित्र बस्न भनेको छ।  तर यस लकडाउनका अवधिमा पनि पोखरा औद्योगिक क्षेत्रभित्र संचालनमा रहेका केही उद्योगहरुले गरेको खेलांचीको कारण पोखरामा कोरोना भाइरस संक्रमण फैलाउने मूलथलो बन्ने सम्भावना देखिएको हो।

स्थानीय प्रशासनले कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले तोकेका मापदण्ड पुरा गर्नसक्ने उद्योगलाई संचालन गर्न अनुमति दिएको बताइएको छ।  स्थानीय प्रशासनले मजदुरलाई उद्योगभित्रै राखेर खाने-बस्ने ब्यबस्था गर्नुपर्ने, मजदुर-मजदुरबीच कम्तीमा एक मिटर भौतिक दुरी कायम गर्नुपर्ने, मुखमा मास्क, हात धुने साबुनपानी र निर्मलीकरण गर्ने स्यानीटाइजरको उचित ब्यबस्थापन गरिनुपर्ने, मजदुरहरुलाई शरीरमा लगाउने एप्रोन, टाउकोमा लगाउने क्याप, हातमा पन्जा लगाउने लगायतका स्वास्थ्य सम्बन्धि सतर्कता अपनाउन सक्ने उद्योग ब्यबस्थापनलाई स्थानीय प्रशासनले उद्योग संचालनका लागि अनुमति दिएको बजार अनुगमन समिति सदस्य एबम उपभोक्ता मंच कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए।

स्थानीय प्रशासनको मापदण्ड पुरा गरी उद्योग संचालन गरिरहेको भनिएका पोखरा क्षेत्रमा संचालित पोखरा फूड्स र गौरीशंकर बिस्कुट उद्योगमा शुक्रबार दिउँसो पत्रकारहरु पुग्दा कोरोना भाइरस फैलिन नदिन आवस्यक सतर्कता प्रभाबकारी तरीकाले कार्यान्बयन भएको देखिएन।

पत्रकारहरु दिउँसो करीब सवा दुई बजे पोखरा फूड्सको गेटमा पुग्दा मुख्य प्लान्ट संचालनमा नै थियो।  गेटमा रहेका सुरक्षा गार्डलाई आफुहरु पत्रकार भएको र उद्योगमा मजदुरहरुको अवस्थाका बारेमा हेर्न  चाहेकाले उद्योग व्यबस्थापनलाई जानकारी गराइदिन पत्रकारहरुले अनुरोध गरे।  त्यसपछि ब्यबस्थापनलाई खबर गर्न पुगेका सुरक्षा गार्डले केही बेर कुर्न पत्रकारलाई खबर लिएर आउँदा मुख्य प्लान्ट बन्द भैसकेको थियो।

पत्रकारहरुले  पोखरा फूड्सकै गेटमा  झन्डै डेढ घण्टा कुर्दा उद्योग ब्यबस्थापनका प्रतिनिधि आउनुभन्दा आद्योगिक क्षेत्र सुरक्षार्थ खटिएको ससस्त्र प्रहरीको टोली आइपुग्यो। सशस्त्र प्रहरीका डिएसपीको नेतृत्वमा आएको सो सुरक्षाकर्मी टोलीलाई पत्रकारहरुले यथार्थ जानकरी गराएपछि पत्रकारहरुलाई उद्योग भित्र प्रवेश गर्न दिइएको थियो । त्यहाँ उद्योग व्यवस्थापनको आधिकारिक व्यक्रि कोही उपस्थित भएन । उत्पादन शाखा प्रमुख हरिप्रसाद दाहालले पत्रकारहरुलाई उद्योगमा उत्पादनसँग सम्बन्धित जानकारी दिए । उनले सरकारले तोकेको मापदण्ड पूरा गरी उद्योग सञ्चालन भईरहेको दाबी गरे ।

उत्पादन शाखा प्रमुख दाहालले त्यस्तो दाबी गरिरहदा पत्रकारहरुसँग अघि अघि हिँडेका उनले मजदूरहरुलाई भौतिक दूरी कायम गर्न भन्दै निर्देशन दिँदै थिए । तर समयमा नै उिचित निर्देशन नपाएका मजदूहरु भौतिक दूरीको मतलब नराखी काम गरिरहेका थिए । त्यति मात्र हैन गाडीमा सामान सप्लाई गर्ने र बाहिरी मान्छेसँग सम्पर्कमा हुने गाडीका मजदूरहरुलाई न त भौतिक दूरीको मतलब थियो, न मास्क अनि हातमा लगाउने पञ्जा र एप्रोन नै । केही त नाङगै निर्धककसाथ काम गरिरहेका थिए ।

उद्योग व्यवस्थापनले कोरोना संक्रमण फैलिन नदिन यथेष्ट सावधानी अपनाएको त छैन नै, मजदूर संगठनहरुले स्वास्थ्य सतर्कता अपनाउन भनी दिएको सुझावलाई पनि उद्योग व्यवस्थापनले वेवास्ता गरेको छ । सत्तारुढ नेकपा समर्थित अखिल नेपालऔद्योगिक मजदूर संघ कास्की जिल्ला अध्यक्ष लोकबहाखुर भुजेल “बिस्कुट  अति आबस्यक खाद्य पदार्थ नभएकाले मजदुरहरुको जीवनलाई खेलवाड नगर्न भनी आफुले दिएको सुझाबलाई उद्योग ब्यबस्थापनले बेवास्ता गरेको गुनासो गर्छन।  उनी उद्योग संचालन गर्ने नै भए पनि राज्यले तोकेको मापदण्ड पुरा गरेर मजदुरको स्वास्थ्यको ध्यानलाई महत्व दिएर उचित ब्यबस्थापन हुनुपर्ने उनको अडान छ।

चारदिनदेखि निरन्तर सञ्चालन हुज्ञद्धठदै आएको गौरीशंकर बिस्कुट उद्योगका सञ्चालक प्रदिप थापाले सरकारले तोके बमोजिमको मापदण्ड पुरा गर्ने प्रयास गरिएको जानकारी दिए । सहजतापूर्वक नै उद्योग निरीक्षण गर्न दिएका थापाले भने जस्तो भने उद्योग सञ्चालनका क्रममा देखिएन । मजदूरहरु भौतिक दूरीको ख्याल नै नगरी आफ्नो सुरमा काम गरिरहेका थिए भने कुनै मजदूर विना पञ्जा काम गरिरहेका थिए भने कोही मास्क र एप्रोनविनै ।

उद्योगमा काम गर्ने मजदूरलाई बाहिरी सम्पर्कबाट टुटाएर उद्योगिभित्रै खाने-बस्ने व्यवस्था गर्नुपर्ने नियमको न त पोखरा फुड्सले पालना गरेको छ , न गौरीशंकर बिस्कुट उद्योगले नै ।

एकातितर मजदूरहरु जोखिमपूर्ण अवस्थामा उद्योगमा काम गरिरहेका छन् । तर तिनै मजदूरहरुको भविष्य भने सुनिश्चित छैन । चैत महिनाको तलब पेश्कीको रुपमा दिएको गौरीशंकर बिस्कुट उद्योगले राज्यबाट उचित क्षतिपुर्ति प्राप्त्न नभएमा पछि त्यो रकम सम्बन्धित मजदूरबाटै असुली गर्ने जानकारी दिएको छ । तर मजदूरहरु त्यस्तो कदापि मान्य  नहुने बताउँछन् । अखिल नेपालऔद्योगिक मजदूर संघ कास्की जिल्ला अध्यक्ष लोकबहाखुर भुजेल, उद्योग ब्यबस्थापनले राज्यबाट सुविधा पाउन राज्यसँग नै पहल गर्नुपर्ने, मजदुरका सुबिधा खोसिए आफुहरु चुप नबस्ने  उनले स्पस्ट पारे।

 


(२०७७ बैशाख ६, शनिबार) १३:४९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना