ड्युटीबाट फर्किएका डाक्टर कुट्ने प्रहरीलाई कारबाही प्रक्रिया शुरु, डिएसपी लम्साल मेट्रो तानिए

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख ५, शुक्रबार) ००:३५

ड्युटी सकेर घर फर्कदै गरेका त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका डाक्टरहरुलाई बुधबार साँझ महाराजगंजमा  कुटपिट भएपछि महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख डिएसपी उमेश लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी (मेट्रो) झिकाइएको छ।

बुधबार साँझ ड्युटी सकेर घर फर्केने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भू खनाल, तेजप्रकाश साह र विकास साहलाई लकडाउन उल्लंघन गरेको भन्दै डिएसपी लम्सालसहितको प्रहरी टोलीले कुटपिट गरेको थियो। सोही विषयमा थप अनुसन्धान गर्न भन्दै डिएसपी लम्साललाई मेट्रो तानिएको हो।

‘उक्त घटनामा संलग्न रहेका महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख प्र.ना.उ. उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई यस कार्यालय झिकाइएको साथै उक्त घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई यस कार्यालयमा झिकाई आवश्यक छानबिन कार्य भइरहेको व्यहोरा समेत जानकारी गराइन्छ’, महानगरीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक श्यामलाल ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बुधबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुखसहितको टोलीले शिक्षण अस्पतालमा कार्यरत डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि अस्पतालमा खाना खाएर फर्कने क्रममा अभद्र व्यवहार गर्नका साथै डा. खनाललाई कुटपीटसमेत गरेका थिए ।

मेट्रोले उक्त घटनाको छानबिन गर्न भन्दै एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डिएसपी होबिन्द्र बोगटी सदस्य रहेको एक छानबिन समिति बनाएको छ ।

उक्त समितिले थप अनुसन्धान गरेपछि विभागीय कारबाहीसम्म हुने मेट्रोका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

यसअघि, कुटपिट गर्ने प्रहरीलाई बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकले दोषीमाथि विभागीय कारबाही गर्ने र लिखितरुपमा माफी माग्ने सहमति भएको थियो । मन्त्रालयमा बैठक बसेर दुवै पक्षबीच प्रहरीलाई कारवाही गर्ने सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी, र पिडित चिकित्सक, नेपाल चिकित्सक संघलगायतका प्रतिनिधि बैठकमा सहभागी भएका थिए ।

सजाय के–के हुन्छ ?

कोभिड १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट तथा हातपात गर्नेलाई १ वर्षसम्मको कैद सजाय हुन्छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोनाभाइरस (कोभिड–१९) को उपचारमा खटिने डाक्टर, नर्स प्राविधिक स्वास्थ्यकर्मीलाई हातपात गर्ने, ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई हातपात गरे सरह कारबाही गर्ने चैत २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा ६६ (१) मा राष्ट्रसेवकलाई बाधा विरोध गर्ने व्यक्तिलाई एक वर्षसम्मको कैद वा दश हजार रुयैयाँसम्म जरिवाना वा दुवै सजाए हुने भनेर उल्लेख गरिएको छ । पीडित स्वास्थ्यकर्मीले कानुनी कारबाहीका लागि सिधै सिडिओ कार्यालयमा उजुरी दिनसक्ने व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ को दफा ६६ (१) मै कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनेर उल्लेख गरिएको छ ।


(२०७७ बैशाख ५, शुक्रबार) ००:३५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना