तिब्बतमा पश्चिमाहरुको खतरनाक चासो र नेपालमा फ्री टिबेट मुभमेन्ट : नरेन्द्रजंग पिटर

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख ३, बुधबार) १५:१६

जुनबेला कोरोना भाइरस (कोभीड–१९) ले महामारीकाे रुप लिएर धर्तीमा हाहाकार मच्चाउन सुरु गर्दै थियो, त्यहीबेला अमेरिकी सिनेट भने तिब्बतसम्बन्धी नयाँ प्रस्ताव (‘Tibet Policy and Support Act 2019’ January 28, 2020) पारित गर्दै थियो । अहिले कोरोनाको इपिसेन्टर त्यही अमेरिका बनेको छ । याे आलेखमा करोनामा केन्द्रित नभै चीन, तिब्बत लक्षित फेरिएका नीति, नेपाली भूमिबाट चीन विरोधी अभियान, नेपालमा पर्ने असर र त्यसको पृष्ठभूमिको संक्षिप्त विवेचना गरिनेछ । केही थप जिज्ञाशाका उत्तर खोज्ने प्रयत्न पनि गरिनेछ । आखिर ५० वर्षपछि अमेरिकाले तिब्बत नीति फेर्नुका पछाडि के कारण होलान ? किन फेरि ६० वर्षपछि यो पिचास मडारियो ?

तिब्बत र पश्चिमा शक्ति
तिब्बत, इतिहासको उतारचढावमा अनेकौँ चरणबाट महाचीनको छाहारीमा गुज्रियो । ३ जुलाई १९१४ मा भारतको सिमलामा ब्रिटिस प्रतिनिधि आर्थर हेनरी म्याकमोहन र दलाई लामाबीच भएको सम्झौताले भित्री तिब्बतमाथि चीनको प्रत्यक्ष शासन र बाह्य तिब्बतमाथि चीनको प्रभुत्व अन्तर्गत दलाई लामाको स्वशासन स्वीकारियो । बाहिरी तिब्बतमाथि चीनको प्रभुतालाई स्वीकार्ने तर त्यहाँ उसको सैनिक उपस्थितिलाई हरसम्भव तरिकाले रोकेर बफर कायम राख्ने अंग्रेजको तिब्बत–रणनीति थियो । लामो राजनीतिक अस्थिरता भोगिरहेको कमजोर चीन, बाहिरी तिब्बतको बफर हैसियतलाई चुनौती दिनसक्ने अवस्थामा थिएन । पश्चिमा दवदवा लाल चीनको उदयसँगै समाप्त भयो । तर, पनि पश्चिमाहरुले चीनको बढ्दो पुरानो महत्वकांक्षा नियन्त्रण गर्न र अकुत खनिज सम्पदा नियन्त्रण गर्ने कोशिस भने गर्दै गए । मूलभूभाग मुक्तसँगै २४ अक्टोबर १९५० मा रेडियो पेकिङले तिब्बत मुक्त भएको घोषणा ग¥यो ।

अप्रिल १९५४मा तिब्बतबारे भारतले सन्धी गरेर पञ्चशीलको सिद्दान्त प्रतिपादन गर्यो । पश्चिमा उक्साहटमा दलाई लामा १७ र्माच १९५९मा तिब्बतबाट भारत पलायन भएर ३१ मार्च भारतको तवाङ क्षेत्रमा पुगे । शीतयुद्धको टकराहट त छदै थियो, अझ धर्मशाला आधार बनाएर तिब्बतमा घुसपैठी उनको योजनासँगै हिन्दीचिनी भाइभाइको नारा खारेज गरिदियो । त्यसपछि १९६२ को चीन–भारत युद्धको भएर भारतले पराजय भोग्यो । तब पनि पश्चिमा शक्ति शान्त भने बसेनन् ।

तिब्बतबारे उनीहरुसँग दुईवटा हतियार थिए १) तिब्बती बौद्ध आस्था, दलाई लामा र अवतारी संस्कृति २) जातीय उत्तेजना । त्यसलाई अतिसुक्ष्म तरिकाले तिब्बत विषयका सिआईए एजेन्ट जोन केनेथ नसले शीतयुद्धका टुहरामा, मिसन सांग्रिलामा प्रकाश पारेका छन् । यसबेला उच्चहिमाली क्षेत्रको सामाजिक मनोविज्ञान अध्ययन सिआइएका बौद्धिक एजेन्ट लियो रोजले गरेका थिए भने धरातलीय भूमिकामा केनस नसले । खम्पा कोन्ट्रालाई सिआइएले अमेरिकाको कोलोराडो बेसमा तालिम दिन्थ्यो, पाकिस्तानको पेशावर र भारतको उडिसा केन्द्रबाट सप्लाई, हतियार तथा उपकरण सहित विमानबाट तिब्बतका बिभिन्न भाग र मुस्ताङमा खसालेर तिब्बत आक्रमण गराउँथ्यो । अहिले पनि ‘सिआइए’ र ‘रअ’को तिब्बत अप्रेसन जारी रहेको तथ्य सिआइएका पूर्व निर्देशक ब्रुस रिडेलले ‘जेएफके फर्गटन क्राइसिस’ पुस्तकमा सविस्तार उल्लेख गरेका छन् । शीतयुद्ध सकिए पनि १९६२ को युद्धमा मर्माहत भएको भारत र उदाउँदो चिनियाँ शक्तिबाट त्रसित पश्चिमा शक्ति अहिले पनि तिब्बत मामलामा चीनलाई उल्झाउन चाहिरहेका छन ।

पश्चिमा शक्ति र चीन
१८औं शदीमा युरोपीय महाशक्तिले चीनलाई परास्त गरेर जवरजस्ती अपमानजनक सन्धि स्वीकार गराएर उसको स्वाभिमानमा गम्भीर धक्का दिएपछि चिनियाँहरुमा राष्ट्रियताको सशक्त प्रतिक्रिया देखियो । त्यसका संकेत पश्चिमा नेता र राजनीतिक शास्त्रीहरुले देखिसकेका थिए ।

चीनको बढ्दो शक्तिको आकलन जोन हेले वर्षौ पहिला गरेका थिए, ‘जसले चीनलाई चिन्न सक्छ त्यसका हातमा पाँच शताब्दीसम्म राजनीतिको साँचो रहनेछ’ १९औं शताब्दीको सुरुवातमै नेपोलियन बोनापार्टको भनाई थियो, ‘चीन एउटा राक्षस हो, उसलाई सुत्न देउ, किनकि जव उ उठनेछ दुनियालाई हल्लाउने छ ।’ अझ सन् १९०२ मा अमेरिकी सुरक्षातन्त्रलाई मात्र लेखिएको एउटा अनुसन्धान पुस्तकमा एलेन एरलेण्डले चीनको भावी माहाशक्ति बनेर उदयहुँने आधारको भविस्यवाणी गरेका छन् । त्यो वेलासम्म कम्युनिष्ट पार्टीको त कुरै छोडाैं, सन यात सेनको कोमिन्ताङ्ग पार्टीको समेत गठन भएको थिएन् । १९ औं शदीसम्म युरोप केन्द्रित विश्वशक्ति २० औं शदीको सुरुमै अमेरिकामा सरेपछि विश्व चौधरियतको युरोपियन भूमिका खुम्चिएर अमेरिकामा स¥यो तर उपनिवेशवादी सत्ताचरित्र पनि नवसाम्राज्यवादमा फेरियो ।

सन १८४४ जुलाई ३ मा चीन र अमेरिकाबीचको सन्धी उत्तरी मकाउको एउटा गाउँ बाङ्झीमा भएको यो १ सय ७६ वर्षमा ह्वागहो र मिसिसिपीमा धेरै पानी बगिसके । सबन्धका उतार चढाव मात्रै होइन, शक्ति र भूमिका पनि फेरिए । शक्तिमा आउने फेरवदलसँगै सत्तामात्रै होइन, आमधारणा पनि फेरिन्छन् । दोस्रो विश्वयुद्धभन्दा पहिला पश्चिमाशक्ति चीनलाई ‘एशियाको रोगी’ भन्थे । बेलायत, फ्रान्स, अमेरिका र जापानजस्ता शक्तिले उसलाई राजनीतिक र आर्थिक ठूलो शोषण गरे । उनीहरु चीनलाई पूर्वको खरवुजा सम्झन्थे । तर, अक्टुवर क्रान्तिपछि (१९४९) विश्व राजनीतिमा शक्तिराष्ट्रको रुपमा उदय भएको चीन, अहिले आर्थिकरुपमा महाशक्ति बनेपछि भने पश्चिमाहरुको आधा शताब्दी पहिलाको सोच, भूमिका र अवस्था अहिले फेरि फेरियो ।

दोस्रो विश्वयुद्धले साम्राज्यवादी शक्तिका पात्र, रुप र चरित्र फेरिदियो । पुरानो चीन, अब रहेन । शीतयुद्धको सुरुवातसँगै कम्युनिस्ट फोविया ग्रसित शक्तिको कोपाभाजनमा समाजवादी खेमाविरुद्ध षडयन्त्र गर्न र कम्युनिष्ट विस्तार रोक्ने रणनीतिमा पश्चिमाशक्ति लागे । त्यसको चपेटामा समाजवादी ढल्को विश्व नेतृत्व पनि शिकार भयो । जब चीन र सोभियत रुसका बीचमा वैचारिक र व्यवहारिक द्वन्द्व बढे, तब पश्चिमाहरुले आफ्नो चीनप्रतिको दृष्टिकोण पनि फेर्न थाले । तर, यो सहज भने कदापी छैन् । अमेरिकामा झण्डै ५० लाख चिनियाँ मूलका नागरिक छन भने चीनमा ७ सयभन्दा ज्यादा अमेरिकन कम्पनी । ती सबै एकअर्काको देशका अघोषित नागरिक राजदुत पनि हुन । मेजर जनरल क्लेयर सेनालकी पत्नी श्रीमती एना शेनाल (शेन शियाङमेइ) पनि त्यसमध्ये एक थिइन । अमेरिकीहरु उनलाई चिनियाँ अनअफिसियल डिप्लोम्याटको रुपमा चिन्थे । वासिङ्टन् पोस्ट पत्रिकाले उनलाई कुनै समयमा ‘लेजेन्डरी स्टील बटरफ्लाई’ पनि भनेको थियो । युद्ध हुँदाहुँदै संवाद चल्दै जानु स्वभाविक कुटनीतिक अभ्यास हो, त्यसलाई ट्रयाक टु डिप्लोमेसी भनिन्छ । उनी चीन, अमेरिका र ताइवानमा पनि त्यतिकै सम्मानित छिन । १९७१ को अप्रिलमा चीनको पिङपोङ टिमले अमेरिकी टेबल टेनिस टिमलाई चीनमा निम्तो दिनुका पछाडि शेनालको भूमिका प्रमुख रहेको भनिन्छ । त्यसलाई पिङपोङ कुटनीतिका नामले चिनिन्छ ।

१९७१ को जुलाइमा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर गोप्य रुपमा चीन पुगे । अर्को वर्ष राष्ट्रपति रिचर्ड निक्सन । मार्गरेट म्याकमिलन ‘निक्सन र माओ’ नामक पुस्तकमा सो भ्रमणले विश्व परिवर्तन गर्यो भन्छन् । निक्सन चीनले आफुलाई भियतनामबाट निस्किन मद्दत गरोस् भन्ने चाहन्थे भने माओलाई अमेरिकी प्रविधि र विशेषज्ञ ज्ञान चाहिएको थियो । उक्त भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधार गर्यो । जनवरी १९७९मा संयुक्त राज्य अमेरिका र चीनले पूर्ण राजनीतिक सम्बन्ध स्थापित गरे ।

समय फेरियो, शीतयुद्धको अन्तसँगै सोभियत रुसको विघटनले अमेरिकालाई सिधा टक्कर दिने कुनै शक्ति रहेन । तर, चीनको आर्थिक सम्बृद्धिले अमेरिका आसामी भने बनाउँदै लग्यो । सन् २००८ मा आर्थिक मन्दीसँग लड्न उसले अमेरिकालाई ७०० अरब डलर दियो र अमेरिकाको सबैभन्दा ठूलो दाता बन्यो । सन् २००९ मा जर्मनीलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्यो । सन् २०१० मा जापानलाई उछिनेर दोस्रो ठूलो अर्थतन्त्र बन्यो । सन् २०११ मा चीनसँगको अमेरिकी व्यापार घाटा २९५.५ अरब डलर पुग्यो । व्यापारघाटा बढ्दै जानु, चीनलाई तिर्नुपर्ने रिन थपिदै जानु अमेरिकाको निमित्त निश्चय नै टाउको दुखाइको विषय बनेको छ । त्यसैले ब्यापार युद्ध र सामरिक दवाव उसको समस्याबाट उम्कने रणनीति बनेर दक्षिण चाइना सागर दवाव र तिब्बतमाथि हस्तक्षेपका कारण बने । बीआरआईजस्तो चीनको वैश्विक महत्वाकांक्षी योजनाले अझ पश्चिमाहरुको टाउको दुख्ने नै भयो ।

सन् २०१६ मा राष्ट्रपति चुनावको उम्मेदवारको रुपमा बोल्ने क्रममा निउ ह्याम्पशायरको एक ¥यालीमा डोनाल्ड ट्रम्पले भने, ‘चीनलाई हाम्रो मुलुकमाथि थप अरु बलात्कार गर्ने अनुमति दिन सकिँदैन ।’ उनका भनाई पिटर नावारोद्वारा लिखित पुस्तक ‘चीनद्वारा मृत्यु’ बाट प्रभावित जस्ता देखिन्छन् । सन् २०१८ को मार्चमा ट्रम्पले ट्वीट गरे, ‘व्यापार युद्धहरु नै सही छन् र जित्नलाई सजिलो पनि ।’ तर, बीचमा कोरोनाको माहामारी फैलियो । यसमा आरोपप्रत्यारोप चल्दै गर्दा पश्चिमा समाजमा भने चिनीयाँ जनस्तरको सहयोगले पुराना सत्तासिर्जित आग्रह र विभ्रमहरु तोडिदै जाँदा अब सत्ताका आक्रामक भूमिकालाई प्रभाव पार्नेछ ।

खम्पा र नेपाल
पूर्वी तिब्बतको खामक्षेत्रका वासिन्दालाई खम्पा भनिन्छ । तिनै खम्पाहरुलाई लडाकु कोन्ट्रा सिआईएले बनाएको हो । खम्पा गतिविधि बढेपछि ‘तिब्बती शरणार्थीलाई मानवीय सहायता उपलब्ध गराउन अमेरिकाले काठमाडौँको स्यूचाटारमा खोलेको विमानस्थलसमेत बन्द गरायो । मानवीय सहायता सामग्री बोकेर हिमाली क्षेत्रमा उड्ने जहाजमाथि कडा निगरानी थालियो । यो छापामार युद्धमा अमेरिका र भारत दुवैले खम्पाहरूलाई सहयोग गरेका थिए ।’ त्यतिबेला भर्खरै चीनबाट ठूलो पराजय भोगेको भारतले अमेरिकी तिब्बत नीतिलाई समर्थन ग¥यो । ‘बदला लिन खम्पाहरूलाई उक्सायो, सीआईएका सैनिक हवाईजहाजलाई भारतीय विमानस्थलमा इन्धन भर्न अनुमति दियो र ती जहाजले लुकी–लुकी नेपालमाथिबाट उडेर मुस्ताङको ताङ्बे र अरू ठाउँमा प्यारासूटबाट हातहतियार खसाले । उनीहरु मुस्ताङलाई आधारक्षेत्र बनाएर उत्तरीभेगका धेरै जिल्लाबाट तिब्बत आक्रमण गर्न चाहन्थे, कतिपय ठाउँमा घुसपैठ पनि गरे । नेपालसँग सूचना र प्रविधिको कमी थियो भने चीन र पश्चिमाको त्यतिकै दवाव पनि झेलिरहनु परेको थियो । गे हिसी र गे वाङ्गदीका अन्तरविरोध बढेर समूह विभाजनपछि हिसीले नेपाललाई सघाए ।’ त्यसबेला कसरी नेपालीभूमी चीन विरुद्ध प्रयोग भयो र खम्पाबारे चीन विरुद्ध गोप्य कारवाही भए भन्ने बारेमा रुस्तेम गलीउल्लिनले लेखिसकेका छन् ।

राजेन्द्र थापा (नेपाली सेनाका सेवानिबृत उपरथी) लेख्छन, ‘जोमसोमबाट उत्तर करिब चार–पाँच घन्टा कठिन हिँडाइमा पुगिने साढे एघार हजार फिटको केसाङमा उनीहरूको हेडक्वार्टर थियो । पहिले जनरल बाबा हिसी कमान्डर थिए । तर पछि खम्पामा आन्तरिक कलहका कारण उनको ठाउँमा गे वाङ्गदीलाई नेतृत्व दिइयो । २०३१ सालको प्रारम्भमा सेनाका प्रधानसेनापति सिंहबहादुर बस्न्यातलाई दरवारबाट एक्सनको आदेश आयो । सेनाका तत्कालीन सहायक रथी सिंहप्रताप शाहलाई अपे्रसन कमान्डर नियुक्त गरियो । त्यतिबेला त्यसलाई युद्ध भनिएन, सैनिक अभ्यास (तालिम) भनियो । सायद भारत र अमेरिकालाई नचिढ्याउनुपर्ने कूटनीतिक विडम्बना थियो त्यो ।’

डा.प्रेमसिंह बस्न्यात (सेवानिबृत रथी) आफ्नो ‘नेप्लिज आर्मी इन टिबेटन खम्पा डिस्आर्मिङ मिसन’ पुस्तकमा लेख्छन्– ‘अमेरिकी गुप्तचर संस्था सीआईएले अन्य खम्पा विद्रोहीलाई तालिम दिन भारतीय गुप्तचर संस्थाहरू इन्टेलिजेन्स ब्युरो (आईबी) र पछि ‘र’ सँग मिलेर भारत, देहरादुनको चक्राता भन्ने स्थानमा पनि ‘स्टाब्लिसमेन्ट २२’ प्रशिक्षण शिविर सञ्चालन गरेको थियो । दलाइ लामा र नेपालमा परिचालित खम्पाहरूलाई तालिम र हातहतियारका साथै अन्य खर्चका लागि सीआईएले हरेक वर्ष १७ लाख अमेरिकी डलर दिने गरेको थियो । सन् १९७२ मा रिचर्ड निक्सन अमेरिकी राष्ट्रपति बनेपछि यो सहयोग बन्द गरियो । अह्रीदमन कम्पनी (नेपाली सेनाको एक गुल्म)का जमदार दानबहादुर चन्दको नेतृत्वमा तीन वटै देश (चीन, भारत र नेपाल) को सीमानाकै केही सय मिटरको टिङ्कर पासमा रहेको जालमा (एम्बुस) खम्पा–कोन्ट्रा कमान्डर गे वाङ्गदीको अन्तसँगै अन्तत खम्पा काण्डकै बिसर्जन पनि भयो । एकातर्फ नेपाली सेना विदेशी खम्पा–कोन्ट्रासँग लड्दै थियो, अर्कोतर्फ सेनाको महत्वपूर्ण कमाण्डर, ‘युद्ध निर्देशक भरत किशोर सिंह वाग्दी हाम्रा मित्र हुन्,उसलाई आफ्नो सुरक्षाका लागि ४०, ५० सशस्त्र गार्ड राख्न दिनु, अन्तमा उसले सबै बुझाएर आफू पनि आत्मासमर्पण गर्नेछ भन्दै थिए ।’ त्यसको तात्पर्य हुन्छः नेपाली सेनाको उच्चतहमा पनि सिआईए र रअको पकड त्यसैबेला पनि देखिन्छ । त्यसको गुण भरत किशोर सिंहलाई भारतले विश्व हिन्दु परिषदको अन्तराष्ट्रिय अध्यक्ष बनाएर ति¥यो भने पैसामा बिक्नेमा प्रहरी इन्स्पेक्टर गोपीकृष्ण श्रेष्ठले समेत घुसलिँदै खम्पा कमान्डरलाई भगाएर गद्दारीमा आफूलाई उभ्याए ।

सत्तरीको दशकमा काठमान्डु र पोखरामा रहेका खम्पा शरणार्थी क्याम्प अहिले भने उत्तरीभेगका विभिन्न भागमा छरिएर रहेका छन । ९० को दशकदेखि नै धार्मिक आस्थालाई राजनीतिक हतियार बनाउने, विभिन्न रुप र आवरणमा अखण्ड चीन विरोधी भूमिका नेपालमा बढदै गए ।

सोभियत रुसको विघटनसँगै साम्राज्यवादलाई नयाँ शत्रु चाहिएको थियो भने चीनको तीब्रतम आर्थिक विकासले उ झस्किएको थियो । तर, पिङ्गपङ्ग डिप्लोमेसी र नयाँ विश्वको ढोका खोल्ने ५० वर्ष पहिलाको माओ-निक्सनका अभ्यासले ऊ बाँधिएको भए पनि अमेरिकी अहंकारलाई उत्तेजनामा ल्याएर विजय हासिल गरेका डोनाल्ड ट्रम्पलाई व्यापार युद्धले ‘तिब्बती स्वतन्त्रता अभियान’ भन्दै ‘अमेरिका इज फस्ट’ अभ्यासले लता¥यो । नेपालको कमजोर प्रशासन र आर्थिक प्रलोभनमा बिक्ने प्रबृतिले गर्दा पनि खम्पा–कोन्ट्रा र मतियारलाई केही अनुकूलता भएको छ । ती अवैधानिक रुपमा नेपाल भित्रिनेलाई सुपुर्दगी गर्न खोज्दा अमेरिकी दवाब बढ्यो । तिनीहरुलाई तेस्रो मुलुक जान कानुनी दस्तावेजका लागि दवाव पनि । काठमाडौं उपत्यकामा १३ वटा क्याम्पमा एक हजार सात सय नौ जना तिब्बती शरणार्थी बस्दै आएको प्रहरीको तथ्याङ्क छ । धेरैजसो बौद्ध, जोरपाटी, स्वयम्भू र जावलाखेलमा बस्छन् । जोरपाटी खम्पा क्याम्प, बौद्ध क्याम्प, नाम्गेल उच्च मावि, साम्लेघिङ्घ गुम्बा, पेङसिङ गुम्बा, थाङ गुम्बा, सेचेत गुम्बा, कपन गुम्बा, स्वयम्भु रिफ्युजी गुम्बा, शाक्य मेमोरियल गुम्बा, दोङ छोलिङ गुम्बा, ढोग्रान गुम्बामा तिब्बती शरणार्थी बस्दै आएका छन् । जावलाखेलको ह्यान्डीक्राफ्ट सेन्टरमा ४३१ जना बस्दै आएका छन् । पोखरा अर्को क्याम्प हो । देशभरि करिब २० हजार शरणार्थी रहेको गृह मन्त्रालयको अनुमान छ । १९९३ पछि फेरि गणना भएको छैन् । विगतमा दर्ता भएका शरणार्थीलाई सरकारले परिचयपत्र दिने गरेको छ । युएनएचसिआर लगायत संस्थाहरूले पुनः गणनाको दबाब दिइरहेका छन् । तिब्बतियन रिफ्युजी वेलफेयर अफिसका रूपमा दर्ता गरिएको लाजिम्पाटको ‘कादेन खान्सार’ दलाई लामाको प्रतिनिधिको कार्यालय हो । सो कार्यालयमा धर्मशालाबाटै बजेट आउने गरेको छ ।

नेपाललाई असर
नेपाल भूराजनीतिक संवेदनशील भूगोल भएकाले चीन र भारतको वाच टावरिङ र घुसपैठिया गतिविधिका लागि महाशक्तिहरुलाई रणनीतिक महत्व राख्छ । ती दुवै ठूला अर्थतन्त्र मात्रै हैनन् विशाल भूगोल, ठूलो बजार, ठूलो जनसंख्या पनि हो । ती देशको आन्तरिक विषयमा जस्तोसुकै विरोधी अभियान चल्छ भने नेपालले थेग्न सक्दैन् । अहिले अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी’ र चीनको बिआरआईले सामरिक शक्ति र प्रमुख अर्थतन्त्रबीचका द्वन्द्व मात्र निम्त्याएन्, परस्परविरोधी राजनीतिक व्यवस्था भएका मुलुकबीचका द्वन्द्वले नेपाललाई थप चुनौति थपिदियो । चीनमा सात दशकदेखि ‘कम्युनिस्ट’ शासन छ भने भारत आफूलाई विश्वकै ठूलो प्रजातन्त्रका रूपमा चिनाउन चाहन्छ । शीतयुद्धको अवस्थाभन्दा भारतीय विदेशनीतिको झुकाव अब पश्चिम ढल्को छ । त्यसैले भारतको परम्परागत प्रभाव र चीनको बढ्दो उपस्थितिले यहाँको राजनीति पनि प्रभावित भएको छ । अमेरिकी सिनेटको अहिले पारित प्रस्तावले ३० को दशकको खम्पा–कोन्ट्रा अभियानको पिचास अझै नेपालमा मडारिने थप संकेत देखा परेको छ । त्यसले चीनलाई त दक्षिणी सीमा हिमालय अकाट्य रक्षक बन्न सक्दैन्, असर पार्छ भन्ने थप सोचनिय विषय बनायो नै । चीनले अहिले नेपाली सत्तालाई पूरा भरोसा गर्दैन् । उसको ठम्याईमा भारतले समस्या खडा नगरुन्जेल मात्र नेपाल चीनसँग साखुल्ले हुन्छ, अन्यथा आफ्नो बचनमा टिक्न सक्दैन भन्ने सोच राख्छ ।

‘तिब्बती’ समर्थन कि ! चीन विरोध !
नेपालमा चीनविरोधी गतिविधि ‘शीतयुद्धका टुहुरा’ खम्पा वा तिब्बती शरर्णाथीबाट मात्रै भएका छैनन्, त्यसलाई सघाउने, मलजल गर्ने, प्रचारप्रसार गर्ने, जनमत सिर्जना गर्नेमा गैह्रतिब्बतीहरुबाट नै बढी भएका छन । ती मानवअधिकारकर्मी, नागरिक समाज, कानुनी क्षेत्र र मिडियामार्फत समेत सक्रिय छन् ।

१) संसारका धेरै देशका सत्ता उथुलपुथुलको लागि लगानी गर्ने हंगेंरियन मूलका अमेरिकी यहुदी धनाढ्य जार्ज स्वरोजको ‘ओपन सोसाइटी फाउन्डेसन (ओएसएफ)’ पश्चिमा एजेन्सीहरुमा अगाडि छ । कम्युनिस्ट पार्टी भित्रै जन्मने न्यूमेन क्लातुरा (लाल मण्डले) र रुमानियाका लाल तानाशाह निकोलाई चाउसेस्कु जस्ता कति जिम्मेवार छन्, त्यसको विवेचना गर्नैपर्छ तर उनको फाउन्डेसन भने संसारमै कम्युनस्टिको क समेत उखेल्ने अभियानमा सक्रिय छ । रुस, पूर्वी युरोपमात्रै हैन् अनेकौं ठाउँमा गतिविधि देखिन्छ । कतिपय देशले ओएसएफलाई प्रतिबन्ध लगाएका छन । पैसाको शक्तिमा लोकप्रिय भावनामा भीड उकासेर समाजवादी अभ्यास विरुद्ध सोरोजको ओएसएफ मात्रै हैन् अनेकौ द्वन्द्व व्यवसायी संगठनहरु पनि सक्रिय छन् । अमेरिकी यो निर्णय कामधेनु गाई बनेको छ । स्वरोजको ओएसएफ चीनको तियानमेन घटनामा ठूलो लगानीकर्ता थियो । काण्डपूर्व नै (१९८९) ओएसएफ त्यहाँबाट निक्लिसकेको थियो । ओएसएफको फण्डिङमा चल्ने नेपालका मिडिया, मानवअधिकार संगठन, नागरिक समाज, राजनीतिक पहुँचधारी रहेका छन् । जसमा पूर्व र वर्तमान राष्ट्रपतिका सल्लाहकार एवं तत्पार्टीमा महत्वर्पूण हैसियत राख्नेहरु, योजना आयोगका सदस्य समेत छन् ।

१) बौद्ध गुम्वाः आस्था मानवीय आत्मिक विश्वासले पैदा गर्ने उर्जा हो । तर, त्यसले आलोचनात्मक चेतभन्दा अन्धविश्वासतर्फ धकेल्छ । केही वर्ष अगाडिदेखि खुलेका गुम्वाहरु वौद्ध दर्शनको आस्था र योगाभन्दा पनि धर्मशाला प्रायोजित राजनीति लक्षित रहेका छन् । त्यस्ता नवगुम्वाहरु लामाका आराधाना, ध्यान र अध्ययनशालाभन्दा पनि पहेलाबस्त्रधारी तिब्वतियन–कोन्ट्रा उत्पादन केन्द्रमा फेरिँदैछन् ।

२) उत्तरीभेगमा फैलिएका अधिकांस एनजिओहरुको ओएसएफ र त्यस्तै दानबाट चलेका छन् भने उद्देश्य खम्पा केन्द्रित छ । धेरैजसो पार्टीका नेताहरु तिनै एनजिओका कर्ताधर्ता छन् ।

३) नेपालमा चल्ने अधिकांश मिडियामा ओएसएफ र त्यस्तै संस्थाको वर्चश्व छ । त्यसले सम्पादकको छनोट, अवकाशप्राप्त ठूला सम्पादक र लेखक विचारकहरुको बृति व्यवस्थापन पनि गर्दछ । अमेरिकी अनेकौँ प्रतिष्ठित विश्वविध्यालयमा छात्रवृति, त्यहाँका मिडिया हाउसमा इन्टर्नशिप र पुनरताजगी समेत गराँउछ । कर्णालीमा चल्ने २० एफएम रेडियो मध्य १९ वटा रेडियो एनजिओले चलाएका छन् ।

४) हरेक राजनीतिक पार्टीको नीति निर्माणतहमा घुसपैठ भएका छन् भने कतिपय सांसदहरु धर्मशालाको पे रोलमा समेत रहेका छन् ।

अन्तमा, सम्राज्यवादलाई युद्धको आवश्यकता हुन्छ भने अन्धराष्ट्रवाद उसको वैशाखी बन्न पुग्छ । शत्रु सकिएपछि उसलाई नक्कली नै भए पनि दुश्मनको आवश्यकता हुन्छ । उग्रदक्षिपन्थी विचारले आवेग तयार गरेको अमेरिकी रिपब्लिकन र ट्रम्सलाई दोस्रो चुनाव जित्न चीनप्रतिको घृणा फैलाउँदै त्यसै नाउमा चढेर चुनावी यात्रा पार गर्नु थियो । चीन पनि आप्mना सुरक्षा संवेदनशीलतामा चीन सागरलाई नै महत्व दिन्थ्यो । ५० वर्ष पहिलाको सन्धी सिनेटले नै उल्टयाउला भन्ने सामान्यजनले सोचेका पनि थिएनन् । तर, समय आफ्नै क्यालेण्डरमा हाँकिदैन । विश्वमै फैलिएको कोरोना महामारीले सबैका योजना, अपेक्षा र विश्वास भत्काईदियो । फेरि मानवकेन्द्रित राजनीति बहसको केन्द्रीय भागमा पुगे । अमेरिकी तिब्बत नीति गलत समयमा भएको गलत निर्णय बन्न पुग्यो ।

[email protected] ननस्टपखबरबाट साभार 

सन्दर्भ सामाग्रीहरु

– Chapter in the history of Chinese intercourse with the western nation by Allee Ireland, 1902 – http://afe=easia=columbia=edu/main_pop/kpct/kp_imperialism=htm

– China and the powers, https://www.nybooks.com/daily/2013/04/09/cias-cancelled-war-tibet/

– https://pabitra.wordpress.com/2008/10/18/%E0%A4%AF%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%A5%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-%E0%A4%96%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%BE-%E0%A4%85%E0%A4%AA%E0%A4%B0%E0%A5%87/

– https://books.google.com.np/books?id=wSuPhUxWjWAC&pg=PA188&lpg=PA188&dq=Gyen+Yeshe&source=bl&ots=PurI0v4n8f&sig=ACfU3U0Fz6kZcTe3IOo8ziFq6p8TI8Qa6A&hl=en&sa=X&ved=2ahUKEwjoh-G9neDoAhXlIbcAHS2jB6wQ6AEwAHoECAwQKA#v=onepage&q=Gyen%20Yeshe&f=false

– https://www=setopati=com/opinion/179546;g\

– CIA against Asia by Rustem Galiullin

– Orphan of cold war by John Kenneth Knauss

– https://www.nayapatrikadaily.com/news-details/7850/2019-03-06

– https://www.mysansar.com/archives/?p=24393 (नेपालमा सिआइए शैलीको शक्तिशाली सिण्डिकेट By mysansar, on February 3rd, 2012, Narendrajung Peter)


(२०७७ बैशाख ३, बुधबार) १५:१६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना