ओम्नीसंगको ठेक्का रद्द भए पनि गुणस्तरहीन र भर गर्न नसकिने किट स्वास्थ्य परिक्षणमा प्रयोग

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र ३०, आईतवार) ०८:५२

सरकारले तोकिएको समयमा कोरोना भाइरस नियन्त्रण सम्बन्धी स्वास्थ्य सामाग्री नल्याएको भनेर ओम्नी समुहसंग ठेक्का सम्झौता गरे पनि त्यही समुहले ल्याएका विवादास्पद र अबिस्वस्नीय मानिएका ७५ हजार र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) किट प्रयोग गरेर कोरोना भाइरस (कोभिड–१९) को आम परीक्षण सुरु गरेको छ । तर यसको विश्वसनीयतामाथि सम्बन्धित विज्ञहरुले सन्देह प्रकट गरेका छन् ।

हाल प्रयोगमा ल्याइएको आरडीटी किट चीनको ग्वान्जाउ वण्डफो बायोटेक कम्पनीले उत्पादन गरेको ‘वण्डफो’ नामक ब्राण्डको हो। यो किटले सामान्य भाषामा भन्नुपर्दा शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए/नभएको निर्क्योल गर्छ। र, त्यो परीक्षणको नतिजा सकारात्मक भए शरीरमा संक्रमण छ भन्ने हो। यद्यपि यस्ता किटहरुको विश्वसनियताबारे विश्वभर नै प्रश्न उठिरहेका छन्।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक सर जोन बेलले बेलायतमा आयात गरिएका कुनै पनि आरडीटी किट काम लाग्ने नभएको प्रतिक्रिया दिएका छन्। त्यसमा अर्का प्रोफेसर जोन न्यूटनल पनि सहमति जनाएका छन्। उनी बेलायती जनस्वास्थ्यको कोभिड-१९ परिक्षणको प्रमुख हुन्। त्यसमा नेपालमा आयात गरेर अहिले प्रयोगमा ल्याइएको वण्डफो पनि छ।

वण्डफोले ल्याट्रल फ्लो विधिबाट शरीरमा कोभिड–१९ को संक्रमण भए/नभएको पत्ता लगाउँछ। कम्पनीको दाबीअनुसार यसले दिने परिणाम लगभग ९१ प्रतिशत सही हुन्छ। तर, यसले दिने परिणाम केही परिस्थितिमा भर पर्छ। जस्तो कि शरीरमा कोभिड–१९ को संक्रमण भएको कम्तीमा तीन दिनपछि मात्रै वण्डफोमा गरिएको परीक्षण सही हुने दर बढ्छ। तर केहीमा भने सात दिनपछि गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आउने गरेको छ।

मोलिक्यूलर बायोलोजीका अनुसन्धानकर्ता डा.सन्तोष दुलालका भनाइमा, किटको परीक्षणलाई अनुसन्धानका लागि प्रयोग गरिए पनि कुनै व्यक्तिको परीक्षण गरेर घर पठाउने/नपठाउने निर्णय गर्न यस्ता किटको प्रयोग उचित होइन। ‘विश्व स्वास्थ्य संगठनले नै पोइन्ट अफ केयर इम्युनोडायग्नोस्टिक टेस्टको प्रयोग अनुसन्धान प्रयोजनका लागि मात्रै गरिनुपर्छ भनेर भनेको छ,’ उनले थपे।

एन्टिबडी पत्ता लगाउने आरडीटीले ‘इम्यूनोग्लोब्यूलिन–एम’ वा ‘इम्यूनोग्लोब्यूलिन–जी’ रगतमा भए/नभएको हेर्ने हो। इम्यूनोग्लोब्यूलिन–एम भनेको शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ। अनि संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) इम्यूनोग्लोब्यूलिन–एमको स्थानमा शरीरले इम्यूनोग्लोब्यूलिन–जी निकाल्न थाल्छ।

सामान्य रुपमा बुझ्दा शरीरमा इम्यूनोग्लोब्यूलिन–एम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने इम्यूनोग्लोब्यूलिन–जी देखिएमा संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भएको भन्ने बुझिन्छ। दुवै देखिएको खण्डमा भने शरीर संक्रमणमुक्त भई नसकेको अवस्था हो।

उक्त किटले इम्यूनोग्लोब्यूलिन–एम र इम्यूनोग्लोब्यूलिन–जी दुवैमा उत्तिकै संवदेनशील भएर प्रतिक्रिया दिन्छ। यसरी दुवै एन्टिबडीमा प्रतिक्रिया देखाएर सकारात्मक नतिजा दिँदा पक्कापक्की गर्न शंकास्पद व्यक्तिको पीसीआर (पोलिमर चेन रियाक्सन) परिक्षण नै गर्नुपर्छ।

किटको उपादेयता, विशेषता तथा यसको ‘भ्यालिडेसन’बारे हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झासँग प्रतिक्रिया माग गर्दा उनले यसबारे कुनै पनि जानकारी दिन नसक्ने बताइन्। ‘मैले यसबारे केही बोल्न मिल्दैन। यति भन्छु, किटले एन्टिबडी टेस्ट गर्ने हो। त्यसभन्दा बढी मलाई नसोध्नुस्,’ उनले भनिन्। कान्तिपुर दैनिकबाट


(२०७६ चैत्र ३०, आईतवार) ०८:५२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना