लकडाउनमा मेला सम्पन्न गरेको भन्दै चार जना वडाध्यक्ष र पुजारीसहित नौजना पक्राउ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष फरार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र २६, बुधबार) २१:४९

लकडाउनको उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्‍चालन गरेको आरोपमा प्रहरीले बझाङको छविसपाथीभेरा गाउँपालिकाका चार जना वडाध्यक्ष र मन्दिरका पुजारीसहित नौ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएका वडाध्यक्षहरुमा छविसपाथीभेरा २ का वडाध्यक्ष विकास अयडी, ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नं ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेका छन्।  त्यस्तै बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समिति कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी , बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि प्रहरीले आवस्यक कारबाहीका लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नेत्र बोहराले जानकारी दिए।  उनीहरुलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको बताइएको छ।

यता लकडाउन उल्लंघनको अभियोगमा छविसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रताला लगायत केही व्यक्तिको पनि खोजी भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र लकडाउन उल्लंघनमा दोषी पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रजिअ पाण्डेले बताए ।

सो मेला संचालन नगर्न जिल्ला प्रशासन कार्यालय अनुरोध गरेपनि बेवास्ता गर्दै करिब ३ सय मानिसको उपस्थितिमा चैत ११ गते जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार मेलाको समापन गरेका थिए।

पक्राउ परेका वडाध्यक्षहरुले भने बान्नी मेलामा मानिसहरुको उपस्थिति रोक्न गाउँपालिकाले प्रयास गर्दागर्दै पनि स्थानीयहरु स्वत:स्फूर्त भेला भएको बताएका छन् । मेलामा स्थानीयहरुको भीड रोक्नका लागि प्रशासनले समेत सहयोग नगरेको उनीहरुको आरोप छ ।

‘मेलामा उपस्थित नहुनका लागि हामीले जिल्लाका सबै रेडियोबाट सूचना प्रसारण गरेका थियौं । गाउँगाउँमा सूचना टाँसेका थियौं’ वडा नं २ का अध्यक्ष विकास अयडीले भने ‘त्यति गर्दा गर्दै पनि स्थानीयहरु उर्लेर आए । प्रहरी प्रशासनको पनि उपस्थिति नभएपछि हामीले कसरी रोक्ने ?’ उनले आफूहरुलाई बिनाकारण पक्राउ गरिएको र यसमा जनप्रतिनिधिहरुको दोष नरहेको बताए ।


(२०७६ चैत्र २६, बुधबार) २१:४९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना