कोरोनाभाइरस नियन्त्रण गर्न खरीद सामाग्रीमा भएको भ्रष्टाचारको छानबिन गर्न प्रम ओलीलाई सत्तारूढ नेकपाको बैठकमा दबाव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र २६, बुधबार) ०७:४०

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले कोरोनाभाइरस सङ्क्रमणको सम्भावित महामारी रोकथाम र नियन्त्रणका निम्ति चीनबाट सामान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा नेताहरूले छानबिन हुनुपर्ने माग गरेका छन्।

वरिष्ठ नेता झलनाथ खनालले त्यस भ्रस्टाचार बारे छानबिन गर्न बैठकमा कुरा उठेको जानकारी दिदै ‘कुनै संस्था वा कम्पनी विशेषमा केन्द्रित नभएर समग्र प्रक्रियामा भ्रष्टाचारको कुरा उठाएको’ बताए। उनले बैठकमा आफूहरूले राखेको धारणा सुनाउँदै बीबीसीसँग भने, “समग्रमा जे भएको छ, योबारेमा अध्ययन गर्नुपर्‍यो, छानबिन गर्नुपर्‍यो, आवश्यकता परे पार्टीले पनि छानबिन गर्छ। छानबिन गर्ने निकायकहरू छन्। ती निकायहरूलाई काम गर्न लगाउनुपर्‍यो, प्रधानमन्त्री गम्भीर हुनुपर्‍यो।”

नेता खनालले भने, “प्रधानमन्त्रीले त्यो प्रकारका अनियमितता गर्ने मान्छेहरूमाथि कडाभन्दा कडा कारबाही अविलम्ब थाल्नुपर्छ, अन्यथा राम्रो हुँदैन, पार्टीले यस्तो खालको कुरा सहदैन भनेका छौँ।”

केही दिनअघि चीनबाट स्वास्थ्य सामग्री किन्न एउटा निजी कम्पनीलाई दिइएको जिम्मेवारी र उसले कबुल गरेअनुसार सामान नल्याएको भन्दै उससँगको सम्झौता रद्द गरिएको विषयले निकै चर्चा पाएको थियो। त्यस प्रकरणमा भ्रष्टाचार भएको र त्यसमा राजनीतिक संरक्षण रहेको खबरहरू प्रकाशित भएपछि त्यो विषयले बैठकमा प्रवेश पाएको थियो।

त्यस विषयमा प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले आफूले अध्ययन गरिरहेको जानकारी गराएको खनालले बताए। त्यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको बताएका थिए ।

मंगलबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको प्रयासबारे झण्डै डेढ घन्टा ब्रिफिङ गरेका थिए ।

उनले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौताबारे आफूलाई पूर्व जानकारी नै नभएको बताएको स्रोतले जनाएको छ । ‘डीजी (स्वास्थ्य सेवा विभागका महानिर्देशक) स्तरमा सम्झौता भएको हरेछ, त्यो मेरो जानकारीभन्दा बहिरको कुरा थियो,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री तथा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले ब्रिफिङ गरेका थिए ।

लगतै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरुले सरकारले गरिरहेको काम सकारात्मक भएको र त्यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बरिस्ठ नेता खनालले भने, “वहाँले ‘म त्यसबारे गम्भीर छु, आफैँ पनि अध्ययन गरिरहेको छु। जुन प्रकारका गल्ती कमजोरी देखा पर्छन् त्यस आधारमा म कडाइका साथ जान्छु’ भन्नु भएको छ।”

चीनबाट निजी कम्पनीले सामान ल्याएको विषय विवादमा परेपछि सरकार-सरकारबीच अर्थात् जीटूजी विधिअनुसार सामान किन्ने निर्णय गरिएको थियो।

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। नेकपाकै कतिपय सचिवालय सदस्य त्यसप्रति असन्तुष्ट रहेको बताइएको थियो।

मार्च महिनाको अन्तिम साता नेपाल वायुसेवा निगमको विमान प्रयोग गरेर चीनमा खरिद गरिएका सामग्रीहरू नेपाल ल्याइएको थियो तर त्यसबारे गहिरिएर कुरा नभएको बताउँदै नेता खनालले त्यसमा नेपाली सेनाको भूमिकाबारे मात्र कुरा भएको जानकारी दिए।

उनले भने, “नागरिक सरकारको भूमिका तलमाथि पर्ने गरीकन सेनालाई दिने कुरा उपयुक्त हुँदैन। सङ्कटको घडीमा सेनालाई परिचालन गर्ने काम अधिकतम रूपमा गर्नुपर्छ भन्यौँ।”

उनका अनुसार प्रधानमन्त्रीले ‘ठिक छ, त्यसलाई गम्भीरतापूर्वक लिन्छौँ’ भन्ने उत्तर दिएका थिए।


(२०७६ चैत्र २६, बुधबार) ०७:४० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना