नङनी टोलकी अनिता वनको गोलि हानी हत्या, श्रीमान् अबैध भरुवा बन्दुकसहित पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र २६, बुधबार) ०६:२५

डोटीको जोरायल गाउँपालिका वडा नं. ४ देउथलाको नङनी टोलकी २० वर्षिया अनिता वनको आइतबार बेलुकी ५ बजेतिर भरुवा बन्दुकले गोली हानेर हत्या भएको छ । उनलाई उनकै श्रीमान २२ वर्षिया खडक वनले नै गोली हानी हत्या गरेको आशंका रप्रहरीले गरेको छ ।

मृतक अनिता र उनका श्रीमान मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफुले गोली नहानेको बताईरहेको इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले जानकारी दिए । मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

घरको माथिल्लो तलामा रहेका दुइ कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सइ थापाले बताए ।

अनिताका श्रीमान खडकले आफु घरको तल्लो तलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफु माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बताएको प्रहरीले जानकारी दिएको छ ।शुरुमा बन्दुक कसले ठड्यायो आफुलाई थाहा भएन भन्ने अनिताका श्रीमान खडकले पछि आएर आफैले ठड्याएको बताएको प्रहरीले जनाएको छ ।

घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाई बल खेल्न गएको बताईएको छ ।घटना भएलगत्तै इप्रका जोरायलको टोली घटनास्थल पुगि खडक वनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, घटनामा प्रयोग भएको  बन्दुक पनि अवैध रहेको जनाईएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फाल्गुन १३ गते भागी विवाह भएको र फाल्गुन २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

यसपूर्व कामको शिलशिलामा भारतको बैङ्लोरमा बस्दै आएका खडक र अनिताबिच फेसबुकमार्फत प्रेम सम्बन्ध जोडिएको जनाईएको छ । गत पुष महिनामा भारतबाट घर फर्केका खडक र अनिताबिच गएको फाल्गुन ६ गते पहिलो पटक डडेल्धुरा सदरमुकाममा भेटघाट भएको बुझिएको छ ।

जिल्ला अस्पताल डोटी

यसैबीच, आइतबार भरुवा बन्दुकको गोली लागेर मृत्यु भएकी अनिता वनको शव पोष्टमार्टमका लागि अछामबाट डाक्टरहरु झिकाईएको छ । सोमबार राती जिल्ला अस्पताल डोटीमा पुर्याईएको शवको जिल्ला अस्पतालका डाक्टरहरुले पोष्टमार्टम गर्न नमानेपछि जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्वाज, डाक्टर मनोज बिष्ट सँगै हेल्थ अशिष्टेन्ट हितेष खड्काको टोली मंगलबार राती डोटी आउन लागेको छ ।

डोटी जिल्ला अस्पतालमा रहेका ५ जना डाक्टरहरु मध्ये कुनै पनि डाक्टरहरुले मेडिकोलिगल तालिम नलिएकाले पोष्टमार्टम गर्न नसकिएको अस्तालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ज्योती पाण्ड्येले बताईन् । यद्यपी मे.सु. पाण्ड्ेयले क्लिनिकल मेडिकोलिगल सम्बन्धी ५ दिने तालिम लिएको श्रोतले दावी गरे पनि उनले भने आफुले यस विषयमा तालिम नलिएकोले पोष्टमार्टम गर्न नसकिएको जिकिर गरिन् ।


(२०७६ चैत्र २६, बुधबार) ०६:२५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना