कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री खरीदमा करोडौंको भ्रस्टाचारको आशंका : चलनचल्तिको मूल्यभन्दा दशौँ गुणा बढी मुल्यमा सामाग्री खरीद

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र १७, सोमबार) ०६:२५

कोरोना भाइरस संक्रमण (कोबिद-१९)ले बिश्वब्यापी महामारीको रुप लिईरहदा नेपालमा भने त्यस महामारीका नाममा भ्रस्टाचार शुरु भएका तथ्यहरु सार्वजनिक भएका छन्। सरकारले कोरोन भाइरस संक्रमण प्रभावित जनतालाई लक्ष्यित गरेर राहत कार्यकरमको घोषणा गरिरहेको अवस्थामा त्यस राहत कार्यक्रमका नाममा खरीद भएका सामानमा ब्यापक भ्रस्टाचार भएका तथ्यहरु सार्वजनिक भएका हुन्।

कोरोना भाइरस संक्रमण फैलिन नदिन गरेको लकडाउन लगत्तै चीन सरकारले नेपाललाई आवस्यक सामाग्री र जनशक्ति उपलब्ध गराउन आफुहरु तयार रहेको चीन सरकारले वचन दिएको थियो। चीन सरकारले नेपाललाई कोरोना भाइरससंग जुध्न आवस्यक सामाग्रीको सुची उपलव्ध गराउन अनुरोध गरेपनि नेपालले भने त्यस अनुरोधलाई बेवास्ता गरेर केही स्वास्थ्यसँग सम्बन्धित माफियाहरुसँग मिलेर चिनियाँ निजी कम्पनीहरुसँग महंगोमा सामाग्रीहरु खरिद गरेको पाइएको छ।

नेपाल सरकारले निजि कम्पनीसंग खरीद गर्ने मूल्य
नेपाल सरकारले निजि कम्पनीसंग खरीद गर्ने मूल्य

नेपाल सरकारले चीनबाट खरिद गरेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्रीको मूल्य बजार भाउभन्दा दशौं गुणा महंगो परेको पाइएको छ ।

चीनमा उद्योगीले विभिन्न देशलाई हाल उपलब्ध गराइरहेका यस्ता सामाग्रीको बजार भाउभन्दा अस्वभाविक महंगोमा नेपाल सरकारले सामान किनेको हो । र, यी सामाग्रीको नेपालसम्म ढुवानीका लागि विमान चार्टर खर्च पनि नेपाल सरकारले नै ब्यहोरेको छ ।

नेपाल सरकारले खरिद गरेका सामाग्रीको पहिलो नम्बरको सूचीमा रहेको गगल्सको मूल्य १८ डलर परेको छ । जहाँ कि चीनमा यो गगल्सको मूल्य न्यूनतम २ डलरदेखि अधिकतम ४ डलरसम्म पर्छ । एक लाख थान गगल्सलाई परल मूल्य भन्दा १७ करोड रुपैयाँ बढी तिरेको नेपाल–चीन व्यापारका जानकारहरू बताउँछन् ।

ज्वरो मापन गर्ने एफडीए सर्टिफाइड थर्मोमिटरको अधिकतम बजारमूल्य २९ देखि ३३ डलर पर्नेमा नेपाल सरकारले खरीद गर्न लागेको थर्मोमिटरको मूल्य ६५ डलर परेको छ । १५ सय थान थर्मोमिटरमा ७१ लाख रुपैयाँ अतिरिक्त बिल देखाइएको देख्रिन्छ ।

यस्तै, एक सेन्ट पनि नपर्ने डिस्पोजेवल जुत्तालाई नेपाल सरकारले २ डलर तिरेको छ भने २.५ डलर पर्ने रेस्पिरेटर मास्कलाई ७ डलर तिरेको छ ।

नेपाल सरकारले निजि कम्पनीसंग खरीद गर्ने मूल्य

कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर टेस्टिङ किट ५० हजार थान खरीद गरिएको छ । प्रतिकिट ३८ डलरमा खरीद गरिएको छ । यसको अधिकतम मूल्य ९–१० डलर भन्दा बढी नपर्ने गैरआवासीय नेपाली संघ, चीनका केन्द्रीय सदस्य नविन बिक बताउँछन् । यसमा मात्रै १४ लाख डलर अर्थात १६ करोड रुपैयाँ भन्दा बढीको बिल देखाइएको उनको भनाइ छ ।

एनआरएनए–चीनको मूल्य

सामान खरिदका लागि एनआरएनए चीनले पनि टेन्डर हालेको थियो । उच्च सरकारी अधिकारीबाट प्राप्त सूचना अनुसार उसको टेन्डरमा एन–९५ मास्कको मूल्य जम्मा ०.९५ डलर छ । यस्तै, ज्वरो नाप्ने ‘टेम्परेचर गन’ को २७ डलर, कभरलको ४ डलर, पिसिआर टेस्ट कीटको मूल्य १० डलर प्रस्ताव गरिएको सरकारी स्रोतले जानकारी दिएको छ ।

यो बेइजिङमा उपलब्ध गराउने मूल्य हो । तर, चार्टड विमानको ढुवानी खर्च एक हजार डलर एउटै सामानको आइटमबाट निस्कने देखिन्छ । किनभने, माथि चर्चा गरिएको गगल्समा १५ लाख र कीटमा १४ लाख डलर बढी तिरिएको छ । जबकि सरकारले यी सबै सामान ५÷६ गुणा बढी मोल तिरेर किनेको देखिन्छ ।

एनआरएनए चीन आफैले सरकारलाई कोरोना रोकथाम सम्बन्धी सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । सरकारले भने जिन्सीको सट्टा नगदै माग गरिरहेको छ । परराष्ट्रका एक सहसचिव भन्छन्, ‘हामीले एनआरएनएलाई मास्क, कीट, पञ्जा होइन, नगदै चाहिन्छ भनेका छौं किनभने पैसा भएपछि हामी आफै किनिहाल्छौं नि ।’

सामान किनेपछि छलफल

पछिल्लो दिनमा चिनियाँ कम्पनीहरुले स्पेनसहित युरोपेली मुलुकमा निर्यात गरेका यस्तै सामाग्री गुणस्तरहीन भएको पाइएपछि स्पेनले ती सामाग्रीको प्रयोगमा रोक लगाएको छ । नेपालले ल्याउन लागेका सामाग्रीको गुणस्तरको कसरी यकिन गरियो भन्ने विषयमा स्पष्ट पारिएको छैन । गुणस्तरहीन सामाग्री भएको आशंकामा स्थलमार्गबाट आउन लागेका ३६ हजार डलर बराबरका सामाग्रीलाई तिब्बत सरकारले शनिबार सीमानामा रोकिदिएको छ ।

सामान खरीद प्रकृयामा संलग्न नेपाल चेम्बर अफ कमर्स सम्वद्ध केही व्यवसायीको सेटिङमा नेपाल सरकारले निकै महंगो सामान खरीद गर्न लागेको बताइएको छ । सरकार समान आयात गर्न छलफल गर्नु भन्दा पहिला नै चीनमा सामान खरिद भइसकेको स्रोतले जानकारी दिएको छ ।

नेपाली सप्लायर्सहरुद्वारा खरिद प्रक्रियामा प्रश्न

नेपाली सप्लायर्सहरुको छाता संगठन रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री  खरिद प्रक्रियामा नै प्रश्न उठाएको छ । संघकाअनुसार फागुन २५ मा स्वाथ्य सेवा विभागले मागेअनुसार संघका र अन्य गरी १९ व्यवसायीले आवश्यक सामाग्रीको कोटेसन दिएका थिए । साथै त्यसपछिका छलफलमा आवश्यकता र आपूर्ति समयअनुसार खरिद निर्देशन दिने सहमति भएको भन्दै संघले भनेको छ, हालसम्म उक्त प्रक्रिया पूरा भएको छैन ।’

कोटेसनसहित फेरि छलफलमा बोलाएर सम्झौताका लागि पुन बोलाउन आश्वासन दिएर निश्चित व्यवसायीसँग प्रचलित बजारभन्दा अधिक मूल्यमा सामाग्री खरिद गरिएको संघको आरोप छ । साथै रसायन तथा मेडिकल आपूर्ति संघले किनिएको सामानको गुणस्तरमा पनि प्रश्न उठाएको छ ।

केही महंगो परेको हुनसक्ने स्वास्थ्य मन्त्रालयको स्वीकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ । यद्यपि केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरे । अरु देशमा पनि सामानको अभाव रहेको भन्दै उनले भने, ‘केही महंगो भएको हुनसक्छ । तर समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो गर्नु भएन ।’

लकडाउन सुरु भएलगत्तै मन्त्रालयले स्वास्थ्य सामाग्रीका सप्लायर्सहरुसँग छलफल गरेको र उनीहरु मध्ये दुईवटाले मात्र प्रस्ताव हालेको उनले जानकारी दिए । तर अहिले महंगो भयो, भ्रष्टाचार हुन लाग्यो भनिएको भन्दै उनले सरकारले किनेको र चीनका संघसस्थाले दिएको मूल्य तुलना गरे ।

स्वास्थ्य सेवा विभागका प्रमुख श्रेष्ठले अघि भने, ‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ । यो भनेको करिव २ हजार रुपैयाँ पर्छ । हामीले १९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं ।’

‘जीटुजी मोडलमा जाऊ’

भ्रष्टाचारविरोधी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी चीनबाट खरिद गरिएको सामानमा भ्रष्टाचार भएको भनेर प्रश्न उठेपछि सरकारले यसको जवाफ दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘भ्रष्टाचार भएको छ, छैन हचुवामा भन्न मिल्दैन । तर, प्रश्न उठेपछि सरकारले जवाफ दिनैपर्छ ।’

कोरोना भाइरस जस्तो महामारीलाई पनि कतिपयले देश लुटले अवसर बनाउन खोजेको रेग्मीको भनाइ छ । उनी भन्छन्, ‘कुनै पनि बाहनामा पारदर्शिताबाट भाग्न मिल्दैन, यस्तो संकटका बेला सरकार–सरकार (जीटुजी) मोडलबाट खरिद गर्नुपर्छ ।’

स्रोत अनलाइनखबर डट कम 

 

 

 

 

 

 


(२०७६ चैत्र १७, सोमबार) ०६:२५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना