कोरोना भाइरस गर्मी लागेपछि हराउला ? के सबैले मास्क लगाउनु अनिबार्य हो ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र १६, आईतवार) ०९:५८

विश्वभर कोरोना भाइरसले उत्पात मच्चाइरहदा सबैको मनमा यो कस्तो खालको भाइरस हो, यसको औषधी बन्यो कि बनेन होला ? कसरी सर्छ ? मास्क लगाएर सुरक्षित हुन् सकिन्छ कि सकिन्न ? लगायतका बिभिन्न जिज्ञासाहरु उत्पन्न भएका छन्।

बेलायतको युनिभर्सिटी अफ ससेक्सकी सिनियर पब्लिकहेल्थ लेक्चरर डा. प्रियंवदा पौड्यालले अहिले विश्वभर महामारीका रुपमा फैलिइरहेको कोभिड १९ (कोरोना भाइरस) बारे निकै निकै साधारण भाषामा केही प्रश्नहरुको उत्तर दिएकी छन् ।

१. कोरोना भाइरस के हो?
कोरोना भाइरस स्वासप्रश्वास रोगसँग सम्वन्धित भाइरस हो। यसको वैज्ञानिक नाम सार्स—कोभ—२ हो। कोरोना भाइरसले लगाउने रोगलाई चाहिँ कोभिड—१९ भनिन्छ।

२. यो रोग कहिले र कहाँबाट सुरु भयो?

यो रोग चीनको वुहान प्रान्तमा सन् २०१९ को डिसेम्बर महिनातिर सुरु भएको मानिन्छ।

३. यो रोग कुन उमेरका मान्छेलाई लाग्छ?
हालसम्मको तथ्याङ्कअनुसार यो रोग बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका मानिसलाई लागेको देखिन्छ तर केटाकेटीमा भने यो रोग लागे पनि लक्षण कम देखिने हुनाले केटाकेटीलाई यो रोग लाग्दैन भन्ने भ्रम भएको हो।

४. यो रोगले कसलाई बढी असर गर्छ?
यो रोगले ६५ वर्ष माथिका मानिस र दीर्घरोग लागेकाहरुलाई (जस्तै मुटुरोग, क्यान्सर, दम, मधुमेह र इम्युनिटी कम भएका व्यक्तिहरुलाई) बढी सिकिस्त बनाउने देखिन्छ। र, मृत्युदर पनि उच्च देखिन्छ।

५. के यो रोगले सबैलाई सिकिस्त बनाउँछ?
यो रोग लागेकामध्ये ८० प्रतिशतभन्दा धेरै मानिसलाई हल्का लक्षणमात्र देखिन्छ। करिब १६ प्रतिशत मानिसलाई (विशेष गरी वृद्धवृद्धा र दीर्घरोगी) भने बढी सिकिस्त बनाएको देखिन्छ।

६. यो रोगका लक्षणहरु के के हुन्?
यो रोगका मुख्य लक्षणहरु भनेको ज्वरो आउने र लगातार सुख्खा खोकी लाग्ने हो। रोगले च्याप्दै लगेपछि सास फेर्न गाह्रो हुन्छ र अन्तमा निमोनिया हुन्छ। अन्य लक्षणमा जिउ दुख्ने र खानाको स्वाद थाहा नपाउने पनि देखिएको छ।

७. यो रोग कसरी सर्छ?
रोगीले खोक्दा र हाच्छयुँ गर्दा निस्केका कणहरुबाट यो रोग अर्को मानिसमा सर्छ। एकचोटी मानिसले खोक्दा करीब ३ हजार कण र हाच्छयुँ गर्दा १० हजार कणहरु सतहमा खस्दछन्। र, स्वस्थ मानिस यी संक्रमित कणहरुको सम्पर्कमा आउँदा यो भाइरस सर्छ। विशेषतः हातले संक्रमित सतहमा छोएर त्यही हात नाक, मुख र आाखातीर लाँदा यो रोग सर्दछ। त्यसैले यो रोगबाट बच्नको लागि बारम्बार साबुन पानीले हात धुनु अत्यन्त आवश्यक हुन्छ।

८. के यो रोग लागेर हस्पिटल जानेजति सबै आईसीयूमै भर्ना हुनु पर्छ?
अरु देशको तथ्याङ्क (चीन, इटली) अनुसार हस्पिटल भर्ना भएकामध्ये करिब ३० प्रतिशत मानिसलाई निमोनियाका कारण स्वासप्रस्वासमा अत्याधिक समस्या आएर आईसीयू भर्ना गरेको देखिन्छ भने अन्यलाई आइसोलेसनमा राख्ने गरेको देखिन्छ।

९. के यो रोग हावाबाट सर्छ?
अनुसन्धानका अनुसार कोरोना भाइरसका किटाणु हावामा २/३ घण्टा रहन्छन्। कसैले नजिकै आएर खोक्यो अथवा हाच्छ्युँ गर्‍यो भने सर्ने सम्भा‍वना हुन्छ। तर, हावामा भाइरस तरंगीत रहिरहेर बस्ने र त्यही हावामा मान्छेले सास फेर्दा रोग सर्छ भनेर अहिलेसम्म पुष्टि भइसकेको छैन। वैज्ञानिकहरुका अनुसार हावाबाट यो रोग सर्ने भएको भए अहिलेको भन्दा निकै विकराल रुप लिने थियो।

१०. के यो रोग बजारमा पाइने तरकारी फलफूलहरुबाट सर्छ?
कोरोना भाइरस प्लाष्टिक र मेटलका सतहमा २/३ दिनसम्म बाँच्छ भनेर भनिएता पनि बजारमा पाइने तरकारी फलफूलहरुबाट सर्छ भन्ने कुनै पुष्टि भएको छैन। किनेर ल्याएको सामान राम्ररी धोइपखाली पकाएर खाँदा डराउनु पर्दैन।

११. के यो भाइरस दिशा पिसाबबाट सर्छ?
यो भाइरस दिशा पिसाबबाट सर्ने भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन।

१२. के यो भाइरस गर्मी लागेपछि हराउला त?
साधारणतया स्वासप्रस्वास रोगसम्बन्धी भाइरसहरु जाडो महिनामा बढी सक्रिय हुने अनि गर्मीमा कम हुने देखिन्छ तर अहिलेको कोरोना भाइरस नौलो भाइरस भएकोले यसको बारेमा केही भनिहाल्न सक्ने स्थिति छैन। अष्ट्रेलियामा अहिले गर्मी चलिरहेको छ तर पनि भाइरसको संक्रमण दिनँहु बढीरहेको छ। त्यसैले गर्मी लाग्दा हराउँछ कि हराउँदैन अहिले नै भन्न सकिदैन।

१३. के यो रोग लसुन, अदुवा, तातोपानी जस्ता घरायसी उपचारका माध्येमले कम गर्छ?
यी चिजहरुको सेवनले रोग कम गर्छ भनेर कुनै वैज्ञानिक पुष्टि भएको छैन। यस्ता भ्रमहरुको पछाडी नलाग्नु नै उत्तम हुन्छ।

१४. के मास्क लगाउन जरुरी छ?
डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरु जो दिनहुँ बिरामीको सम्पर्कमा हुन्छन्, उनीहरुले मास्क लगाउन अत्यन्त जरुरी हुन्छ। तर हावाबाट यो रोग सर्ने पुष्टि नभइसकेको हुनाले साधारण जनमानसले हिँड्डुल गर्दा, पार्कमा घुम्न जाँदा मास्क लगाउन त्यति जरुरी देखिदैन। निकै भीडभाडमा (जस्तै माईक्रोबसमा कोचिएर हिँड्दा) मास्क लगाउन उपयुक्त हुन्छ। तर मास्क लगाउँदैमा रोगबाट बचिन्छ भन्ने चाहिँ होइन। किनभने बजारमा पाइने धेरैजसो मास्कहरु राम्रो गुणस्तरका हुँदैनन् र यसबाट भाइरस सजिलै छिर्न सक्छ। त्यस्तै आँखाबाट पनि भाइरस छिर्न सक्छ। त्यसैले यो रोगबाट बच्नको लागि भीडभाडमा नजाने, काम नपरी घरबाट बाहिर ननिसक्ने, घरको सरसफाईमा ध्यान दिने र बारम्बार साबुन पानीले राम्ररी हात धोईरहने गर्नुपर्छ।

१५. के एन्टिबायोटिक खाएर यो भाइरस मर्छ त?
एन्टिबायोटिकले ब्याक्टेरिया मात्र मार्छ। यो रोग भाइरसबाट सर्ने हुनाले एन्टिबायोटिक खाएर कुनै काम छैन।

१६. यो रोग लागेको कति दिनपछि लक्षण देखिन्छ?
यो भाइरस लागिसकेपछि सरदरमा करिब पाँच दिनमा लक्षण देखा पर्छ। तर कहिलेकाहीं १४ दिन पनि लाग्न सक्छ। त्यसैले रोगका लक्षण नदेखिएका मान्छेले पनि यो रोग अरुलाई सार्ने सम्भावना हुन्छ।

१७. एकजना मान्छेले कतिजना मान्छेलाई रोग सार्न सक्छ?
अहिलेसम्मको अध्ययनअनुसार एकजना मान्छेले करीब २ देखि ३ जनासम्मलाई यो रोग सार्न सक्छ। ती नयाँ इन्फेक्सन भएका मान्छेले फेरि अरु २ देखि ३ जना मान्छेलाई सार्छन् र तिनले फेरि अरुलाई सार्दै जान्छन्। यसरी यो रोग फैलिदै गएर विकराल रुप लिन्छ। त्यसैले यो रोगको लक्षण देखिनासाथ आफूलाई घरैमा आइसोलेसनमा राख्न जरुरी हुन्छ।

१८. साधारण रुघाखोकी, फ्लु र कोभिड—१९ मा के फरक छ?
यी तीनै रोग छुट्टाछुट्टै भाइरसले लाग्छ– रुघाखोकी राइनो भाइरसले लाग्छ। फ्लु इन्फ्लुइन्जा भाइरसले लाग्छ भने कोभिड—१९ चाहिँ कोरोना भाइरसले लाग्छ। यी रोगका लक्षणहरुमा केही समानता भएपनि रोगको मृत्युदरमा भने निकै भिन्नता छ। रुघाखोकीले खासै मानिस मार्दैन, फ्लु लागेकामध्ये हजारमा एकजनाको मृत्यु भएको देखिन्छ भने कोरोना भाइरसले चाहिँ हजारमा ३० जनाको मृत्यु भएको देखिन्छ। कोरोना भाइरसको मृत्युदर निकै चर्को भएकोले यो रोग बढी खतरापूर्ण छ।

१९. के यो भाइरस लागेकालाई निको पार्ने कुनै औषधि छ?
अहिलेसम्म यसको कुनै औषधि छैन तर वैज्ञानिकहरु अनुसन्धानकै क्रममा छन्। आशा गरौं छिटै भ्याक्सिन र एन्टीभाइरल औषधिहरु उपलब्ध हुनेछन्।

२०. सामाजिक दूरीले कसरी रोग कम गर्न मद्दत गर्छ?
यो रोग अत्यन्त संक्रामक छ, मान्छेबाट मान्छेमा सजिलै सर्छ। त्यसैले सामाजिक दूरी राख्दा, मान्छेको घुलमिल निकै कम हुन्छ र रोग सर्ने सम्भा‍वना पनि कम हुन्छ। त्यसैले अहिलेको परिस्थितिमा साथीभाई भेट्ने, पारिवारिक जमघट गर्ने र अनावश्यक रुपमा घरबाट बाहिर निस्कने नगर्दा नै राम्रो हुन्छ।

२१. यो रोगका कारण इटली, फ्रान्सजस्ता विकसित देशमा पनि किन यति धेरै मान्छे मरेका होलान्?
विकसित देशका सरकारले पनि यो रोगको पूर्व तयारीमा अलिकति ढिलाइ गरेको देखिन्छ। यो नौलो रोगले यति ठूलो महामारीको रुप लेला भनेर कुनै देशका सरकारले पनि सोचेका थिएनन् र खासै सजकता अपनाएका थिएनन्। जब तयारीमा जुटे, तब संक्रमण फैलिसकेको थियो। एकैपटक धेरै मानिस बिरामी हुँदा विकसित भन्दा विकसित मुलुकका स्वास्थ्य सेवाले पनि थाम्न सक्ने अवस्था हुँदैन। त्यसैले यी देशहरुमा पनि धेरैको मृत्यु भईरहेको छ।

२२. अहिलेको अवस्थामा नेपालले कसरी सतर्कता अपनाउनु पर्ला?
नेपालमा अहिलेसम्म सानो संख्यामा मात्र कोरोना भाइरसका रोगीहरु देखिएका छन्। साँच्चिकै रोग कम देखिएको हो कि रोगको परीक्षण धेरैमा नगरएिकाले कम देखिएको हो यसै भन्न सकिने अवस्था छैन। बेलैमा सरकारले महत्वपूर्ण कदमहरु चाल्ने जस्तै आईसीयू बेडको संख्या बढाउने, मास्क, पञ्जा, गाउनको जोहो गर्ने, अस्थाई अस्पताल निर्माण गर्ने काम गर्न सक्छ।

सबैभन्दा प्रभावकारी कुरा भनेको जनमानसमा यो रोगको बारेमा सक्दो जनचेतना जगाउने नै हो। यो रोग कसरी लाग्छ, कसरी सर्छ, हात धुनु कत्तिको महत्वपूर्ण हुन्छ, रोग लागेपछि आइसोलेसनमा बस्न किन जरुरी हुन्छ भन्ने कुरा साधारण मानिसले बुझ्नु अत्यन्त जरुरी हुन्छ।


(२०७६ चैत्र १६, आईतवार) ०९:५८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना