टोर्नाडो पिडितलाई नेपाली सेनाले बनाइदिएका घर चर्किन थाले

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन २३, शुक्रबार) ११:३७

गत वर्ष आएको भीषण हावाहुरी टोर्नाडोकाकारण घर भत्किएपछि बिस्थापित परिवारलाई नेपाली सेनाले बनाइदिएको घरहरु एक वर्ष नपुग्दै चर्किन थालेका छन्।

गत चैत १७ गते राति टोर्नाडोको चपेटामा पर्सा र बाराका आधा दर्जन बढी गाउँपालिका परेका थिए । दुई दर्जन बढीको मृत्यु भएको यस बिपत्तिबाट सयौंको संख्यामा घरबारबिहीन भएका थिए । सोपश्चात् सरकारले तत्कालै सम्पूर्ण पीडितहरूको घर बनाइदिने घोषणा गरेको थियो ।

सरकारको निर्देशन अनुसार नेपाली सेनाले बारामा पाँच सय ६५ र पर्सामा तीन सय चार गरी कूल आठ सय ६९ वटा घर बनाएर पीडितलाई हस्तान्तरण गरेको थियो । प्रत्येक घरमा दुई कोठा, एक शौचालय र घरकै बरन्डामा बारेर भान्सासमेत निर्माण गरिएको छ ।

सरकारले पक्की घर बनाइदिँदा वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरकी ४५ वर्षीया चान्दज्योति देवी खुसी थिइन् । तर, एक वर्ष नबित्दै घरका पर्खाल चर्किन थालेपछि उनको खुसी चिन्तामा परिणत भएको छ । एउटा कोठाको छानो पनि चुहिन थालेको उनले सुनाइन् । ‘पानी परेको दिन भाँडो थाप्नु पर्छ,’ उनले भनिन् ।

घर चर्किएको गुनासो बाराका अधिकांश ‘टोर्नाडो’ पिडितले पनि गरेका छन् । परवानीपुर गाउँपालिका–४ चैनपुरका दलित अगुवा महन्थ रामले आफ्नो घरको दुवै कोठाको भित्ता चर्किएको बताए । ‘दुवै कोठामा एउटै समस्या देखिएको छ,’ उनले भने, ‘भित्ताको चार फिट माथिबाट चर्किन थालेको छ ।’ अर्का स्थानीय वीरबल रामले घर चर्किनुका साथै शौचालयसमेतमा पानी चुहिने समस्या रहेको बताए । सुगान्धी देवीले समेत उस्तै समस्या देखिएको गुनासो गरिन् । ‘दुवै कोठा चर्किएकाले घरमा बस्न डर लाग्छ, गएको महिना हुरी आउँदा घर छोडेर छिमेकीको त्रिपालमा लुक्न गयौं ।’

घर बनाउने जिम्मा पाएको वीरगन्जस्थित चण्डीप्रसाद गणका मेजर हरि पाण्डेले भने निर्माणमा कुनै सम्झौता नगरेको बताए । स्तरीय फालामे छड, सिमेन्ट, क्रसरबाट गुणस्तरीय बालुवा, गिट्टी ल्याएर प्रयोग गरिएको उनले दाबी गरे । ‘जहाँसम्म छानो चुहिने कुरो छ, एक/दुई वटा किल्ला काँटी दाँया–बाँया परेर छानो चुहिएको हुन सक्छ,’ पाण्डेले भने । स्रोत कान्तिपुर दैनिक 


(२०७६ फाल्गुन २३, शुक्रबार) ११:३७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना