बच्चा बोकेकी महिलालाई निर्घात कुटपिट गर्ने प्रहरी प्रमुखलाई कारवाही प्रक्रिया शुरु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन १६, शुक्रबार) १७:०७

काखमा बच्चा बोकेकी महिलालाई निर्मम तरीकाले लाठीले कुटपिट गर्ने ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेललाई कारबाही गर्न छानबिन शुरु भएको छ। उनले ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि धर्ना दिन पुगेका महिला तथा मानवअधिकारकर्मीहरु मध्येकी  काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट निर्मम तरीकाले लाठी हानेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ।

उक्त भिडियो सार्वजनिक भएपछी शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि घटनाको सत्यतथ्य छानविन गर्न ललितपुर प्रहरी परिसरकी एसपी दुर्गा सिंहको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनेको छ। सोही समितिको प्रतिबेदन वमोजिम प्रहरी निरिक्षक पौडेललाई कारवाही हुने प्रहरीको दाबी छ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा बिहीबारको भिडियोले चर्चा पाएपनि भैंसीपाटी क्षेत्रमा भने विगत ३ महिनादेखि यो घटनाको मूल कारण चर्चाको विषय बनिरहेको छ ।

भैंसीपाटी बस्ने नेपाली सेनाका पूर्व जर्नेल हेम खत्री भनिने (हेम थापा)लाई एक जना महिलाले आफ्नो श्रीमान् भएको दावी गर्दै उनको घर अगाडि धर्ना दिँदै आएकी थिइन् ।

आफूलाई सेनाका ‘पूर्व जर्नेल’ हेम खत्री भनिने हेम थापाकी श्रीमती भएको दाबी गर्ने
माला साह नाम गरेकी महिलाले करिब ३ महिना अगाडिदेखि धर्ना दिन थाले पनि उनको विषयमा स्थानीय प्रशासन र प्रहरीले चासो दिएको थिएन ।

पछि महिला अधिकारकर्मीहरुको ‘सहयोग’मा मालाले महिला आयोगमा उजुरी दिएकी थिइन् । महिला आयोगले हेम खत्रीका नामले चिनिने (हेम थापा)लाई उपस्थित गराइदिन भन्दै केही दिन अगाडि महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र पठाएको थियो ।

प्रहरीले उक्त पत्रबारे थापालाई जानकारी पनि गराएको थियो । तर, उनले एउटा ई–मेल लेखेर महिला आयोगमा आफैं उपस्थित हुने जानकारी गराएका थिए । ‘अहिले बिरामी भएको र उपचार चलिरहेका कारण उपस्थित हुन सक्दिन । उपचार सकिएपछि म आफैं उपस्थित हुन्छु भनेर उहाँ (हेम थापा)ले ई–मेलमार्फत महिला अयोगले पठाएको पत्रको जवाफ पठाउनुभएको छ,’ महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले भन्यो ।

थापाले करिब १ हप्ता अगाडि ई–मेल लेखेर आफैं उपस्थित हुने बताएपनि अहिलेसम्म सम्पर्कमा नआएका महिला आयोग स्रोतले खबरहबलाई जानकारी दियो ।

‘एकजना महिलाले नेपाली सेनाका पूर्व जर्नेल हेम थापाले आफूसँग विवाह गरेपनि धोका दिएको र आफ्नो नाता प्रमाणित गराइदिनु पर्‍यो भनेर हाम्रोमा उजुरी दिनुभएको थियो,’ महिला आयोगका एक अधिकारीले भने, ‘हामीले त्यसबारे बुझ्नका लागि प्रहरीलाई पनि पत्र पठाएका थियौं । थापालाई उपस्थित गराइदिन भनेकोमा उहाँ आफैंले पत्र लेखेर केही दिनमा आउने भन्नुभएको छ । अहिलेसम्म भने आउनुभएको छैन ।’

थापाले महिला आयोगको पत्रको समेत वेवास्ता गरेपछि माला साह केही महिला अधिकारकर्मीको सहयोगमा बिहीबार थापाको घर घेराउ गर्न पुगेकी थिइन् ।

घर घेराउ गर्न पुगेका महिलाहरुले थापासँग भेट्न पाउनुपर्ने माग गर्दा आफू उनकी छोरी बताउने एक महिलाले थापा उपचारको लागि अस्पताल गएको बताएकी थिइन् । महिलाहरुले थापा अस्पतालबाट आउञ्जेलसम्म घरमै बस्ने अडान लिएपछि आफूलाई थापाकी छोरी बताउने महिलाले प्रहरीलाई खबर गरेकी थिइन् ।

थापाको घरबाट सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग बुङमतिको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको टोलीले ‘लोकेशन क्लियर’ गर्न बल प्रयोग गर्दा त्यसको शिकार बच्चा बोकेर विरोध गर्न पुगेकी हेमा श्रेष्ठ हुन पुगिन् ।

प्रहरी प्रभाग वुङ्मतिका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) पौडेलले हेमामाथि लाठी प्रहार गरेका थिए । प्रहरीले थापाको घरबाट बिहीबार माला साहसहित ६ जना महिलालाई पक्राउ गरेको थियो ।

 


(२०७६ फाल्गुन १६, शुक्रबार) १७:०७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना