खोप्लाङ्गे साहुको बिबादित जग्गा मिलाउने नाममा ठुलो आर्थिक चलखेल : समाचार नलेख्न बिप्लव ने.क.पा.को धम्की

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन १२, सोमबार) १४:३०

पोखराको न्युरोडस्थित खोप्लाङ्गे साहुको जग्गामा गत साल बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डोजर हानेपछि उत्पन्न भएको बिबाद मिलाउने नाममा ठुलो आर्थिक चलखेल शुरु भएको समाचारहरु बाहिर आएका छन्।  सो जग्गा मिलाउने नाममा संसदीय वा गैर संसदीय राजनीति गरेको हुन् वा पाखुरीको बल देखाउने डनहरुको समूहले ठुलो चलखेल गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।

पोखराको न्युरोडस्थित होटल दीपसागर अगाडी वोर्ल्ड टच प्रालिको दाया बाया रहेको करीब नौ रोपनी खोप्लाङ्गे साहु भनेर परिचित स्वर्गीय विष्णुप्रसाद श्रेष्ठको स्वामित्वको जग्गामा गएको मङ्सिर तेश्रो साता बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डोजर लगाएर आफ्नो कब्जामा रहेको घोषणा गरेको थियो।  त्यति बेला बिप्लव नेतृत्वको कास्की जिल्ला सेक्रेटरी रहेका बिबेक भण्डारी ‘आक्रोश’ले पार्टीमा उजुरी दिएर न्याय माग्न आएकाकृष्ण थापाले आफ्ना बाबुलाई जालसाँझी गरेर खोप्लाङ्गे साहुले सबै जग्गा कब्जा गरेकाले पार्टीले सो जग्गामा डोजर चलाएर कारबाही गरेको दाबी गरेका थिए।

त्यसपछि झन्डै एक वर्ष सो जग्गामा कोही कसैले कुनै गतिबिधि गरेको थिएन।  तर गत माघ महिनामा पिडित भनिएका हरि थापाले सो जग्गामा सानो फलामे टहरो बनाएपछि भने सो जग्गाको बिबाद मिलाउने नाममा ब्यापक मात्रामा आर्थिक चलखेल शुरु भएको चर्चा पोखरामा ह्वात्तै बढेको छ।  अरु त अरु सरकारी निकायबाट न्याय नपाएर बिद्रोही नेकपाले संचालन गरेको जनसरकारमा उजुरी हाल्न पुगेका कृष्ण थापा बिद्रोही नेकपाकै नेता तथा कार्यकर्ताले खोप्लाङ्गे साहुबाट खबर सुनेर बहुत चिन्तित छन्।

त्यसो त बजारमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले बिबादित जग्गा मिलाउने नाममा खोप्लाङ्गे साहुबाट पैसा खाएको ब्यापक चर्चा चलिरहँदा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आधिकारिक रुपमा कुनै धारणा बाहिर ल्याएको छैन।  तर सोही पार्टी निकट मानिएको जनपत्रकार संगठन कास्कीका संयोजक रमाकान्त बास्तोला ‘रमेश’ले शनिबार आफ्नो फेसबुक स्टाटसमा यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

गतवर्ष बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले सो जग्गा कब्जा गर्दा खिचिएको फोटो सहित उनले आफ्नो फेसबुक स्टाटसमा “पोखराको न्युरोडमा रहेको बिवादित खोप्लाङ्गे जग्गा नेपाल कम्युनिस्ट पार्टीको कब्जामा थियो । यहि जग्गाको आन्दोलन र मुद्दा अनुरुप केही साथिहरु हिरासत पर्नुभयो । अहिले आएर उत्त जग्गामा टहरा निर्माण गरिएको छ । आर्थिक प्रलोभनमा परेर होस् या व्यक्तिगत लाभ लिएर कोहि पनि चोखो बनेर पिडितलाई झनै पिडित बनाउने काम नहोस । सत्ताका दलाल ठेगेदारी सम्सद सङ्ग मिलेमतो गरेर मुद्दा बिसर्जन बनाउने काम कदापी मान्य हुँदैन । पिडितलाई न्याय मिलोस । गम्भीर रुपमा यसको छानविन होस् ।” लेखेका छन्।

उनको यस स्टाटसलाई समर्थन गर्दै जनपत्रकार संगठनका सदस्य राजकुमार घिमिरे ‘सुगम’ले “पिडितले न्याय पाउन पर्छ,, यस्मा हामी जो कोहि ले बोल्दा पनि फरक पर्दैन ,,।” भनेका छन्।

यस बिबादित जग्गामा लेनदेन गरेको भनिएका खोप्लाङ्गे साहु पक्षधरसंग सम्पर्क हुन सकेन।  तर तिनै खोप्लाङ्गे साहुको नाम लिएका केही व्यक्तिले पिडित भनिएका कृष्ण थापालाई एक करोड रुपियाँ लिएर बिबाद समाधान गर्न र जग्गाको बिबादबाट पछि हट्न प्रस्ताब गरेका छन्।  उनी त्यस प्रस्तावलाई अस्वीकार गरिरहेका छन्।

यसैबीच प्राप्त जानकारी अनुसार, खोप्लाङ्गे साहु पक्षधरले पोखराकै एक व्यापारिक समुहलाई १४ वर्षका लागि जग्गा भाडामा दिएर आफु पन्छिन खोजेको छ।  सो समुहले छिट्टै नै त्यस जग्गामा आफ्नो निर्माण कार्य शुरु गर्न लागेको समाचार स्रोतले जानकारी दिएको छ।

प्राप्त पछिल्लो जानकारी अनुसार, बिगतको दश वर्षे जनयुद्ध कालदेखि पार्टीले कब्जा गरेको त्यस बिबादित जग्गा मिलाउने नाममा पैसा लिएको भन्ने बारेमा बिप्लव नेतृत्वको ने.क.पा.ले एक छानबिन समिति बनाएको छ।  तर पिडित भनिएका व्यक्ति कृष्ण थापा मुद्दा मिलाउने नाममा प्रहरी प्रशासनमा गएको चाल पाएको बिद्रोही ने.क.पा.ले आफ्ना नेता तथा कार्यकर्तालाई त्यस मुद्दामा कुनै प्रतिक्रिया नदिई मौन बस्न निर्देशन गरेको एक बिस्वस्त स्रोतले जानकारी दिएको छ।

यसैबीच त्यस बिबादित जग्गा मिलाउने नाममा बिप्लव नेतृत्वको ने.क.पा.का नेता तथा कार्यकर्ताको अन्य राजनीतिक पार्टीका केही नेता तथा कार्यकर्तासंग मिलेमतो रहेको समाचार यस जनसंचार डट कमले प्रकाशन तथा प्रसारण गर्न लागेको थाहा पाएपछि बिप्लव नेतृत्वको ने.क.पा.ले सम्पादक ओम हमाललाई यस समाचार रोक्न धम्की दिंदै समाचार नरोकिए नराम्रो हुने चेतावनी दिएको छ।  बिप्लव नेतृत्वको ने.क.पा.का ठुला तथा साना नेताहरुको यस मिलेमतोमा संलग्न रहेको पोल खुल्ने भएपछी सम्पादक हमाललाई धम्कि दिइएको हो।  ने.क.पा. स्रोतले त्यस बारेमा छानबिन गर्न सहायोग पुग्ने भन्दै जनसंचार डट कमसंग रहेका प्रमाणहरु पार्टीलाई बुझाउन पनि भनेको छ।

यसैबीच जनसंचार डट कमका सम्पादक ओम हमालले जुनसुकै पार्टी वा संगठनको नाममा हुने गलत कामको आफुले सदैब बिरोध गर्ने र यथार्थ कुरा जनतालाई सुसुचित गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। आफु कुनै पनि व्यक्ति वा संस्थाबाट दिएको धम्कीबाट नतर्सिने र निरन्तर रुपमा कलम चलाईरहने प्रतिबद्ता पनि ब्यक्त गरेका छन्।

 


(२०७६ फाल्गुन १२, सोमबार) १४:३० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना