एमसीसी परिमार्जनसहित अनुमोदन गर्ने सत्तारुढ नेकपा सचिवालयमा सहमति

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन ११, आईतवार) ०४:१६

अन्तत: अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता जस्ताको तस्तै बिना परिमार्जन संसदबाट पारित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना असफल हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा एमसीसी सम्झौता परिमार्जन गरेर जाने सहमति भएपछी प्रधानमन्त्री ओलीको योजना विफल हुने भएको हो।

बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए । त्यसकै आधारमा एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने सहमति जुटेको नेकपा उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ । सचिवालय सदस्यले प्रतिवेदन अध्ययन गरेपछि दुई/तीन दिनमा सचिवालयको अर्को बैठक बस्ने छ।

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे विवाद भएपछि अध्ययनको लागि खनालको संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल गठन भएको थियो। उक्त कार्यदलले २० दिन अध्ययन गरेर प्रतिवेदन बुझाएको हो।

गोकुल बास्कोटामाथि छानबिन गर्न ओलीद्वारा अस्वीकार

निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कसिसन प्रकरणबारे पार्टीभित्र आन्तरिक छानबिन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा आन्तरिक छानबिन गर्नुपर्ने भन्दै आवाज उठेपनि ओलीले उक्त प्रस्ताव अस्वीकार गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिए । ओलीले अस्वीकार गरेसँगै बास्कोटामाथि आन्तरिक छानबिन टरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट बिहीबार राजीनामा दिइसकेका छन् ।

‘सञ्चारमन्त्रीले राजीनामा दिइसक्नु भएको छ । तत् पश्चात अख्तियार लगायतका राज्यका निकायहरुले त्यसबारे थप अध्ययन गरिरहेको बैठकमा जानकारी गराउने काम भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

यद्यपि बास्कोटाको अडियो प्रधानमन्त्रीलाई डेढ दुई महिना पहिले नै जानकारी भएको भन्दै खबरहरु प्रकाशित भइरहेको बेला बैठकमा प्रधानमन्त्री ओलीमाथि अध्ययन गर्नेबारे भने कसैले प्रश्न उठाउन नसकेको ती नेताले जानकारी दिए ।


(२०७६ फाल्गुन ११, आईतवार) ०४:१६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना