भारतीयद्वारा महाकाली नदीमाथि जबर्जस्त बनाइएका आठमध्ये पांच पुल नेपालीले भत्काए

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन ४, आईतवार) ०७:२९

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका बासिन्दाले भारतीय पक्षले जबरजस्त लगाएका आठ पुलमध्ये पाँच वटा अस्थायी पुलहरुलाई भत्काइदिएका छन्।

आफुहरुले पटक पटक अवरोध र बिरोध गर्दागर्दै पनि भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अन्तराष्ट्रिय सीमानदी महाकालीमा फेरी अस्थायी काठे पुल लगाएपछि आक्रोशित नेपालीहरुले पाँच वटा अस्थायी पुलहरु मंगलबार बेलुकी भत्काई दिएका हुन्।  व्यासका – २ दुम्लिङ्गका बासिन्दाले राप्लाको तल्लो दुम्लिङ्गस्थित महाकाली नदीमा आफूहरुलाई भारतीय पक्षले अस्थायी पुल राख्न अवरोध गरेकोमा पनि नेपालीहरु भारतीय पक्षसनग आक्रोशित रहेका छन्।

भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नम्बर १ को छाङकाङरी र बुदीमा अस्थायी काठे पुल लगाएर भारत पट्टी निर्माण भइरहेको सडकमा काम गर्ने मजदुरलाई आवतजावत गराइरहेको छ । यसअघि राप्लाका बासिन्दाले मानव बस्ती नै नभएको स्थानमा भारतीय पक्षले नेपालको अनुमति विना नै महाकाली नदीमा अस्थायी काठे पुल लगाएको भन्दै विरोध गरेका थिए । साथै उनीहरुले तल्लो दुम्लिङ्ग र माल क्षेत्रमा अस्थायी पुल निर्माणका लागि भारतीय पक्षसँग पहल गर्न नेपाली प्रशासनको ध्यानाकर्षणसमेत गराएका थिए ।

नेपाली भूमिका निर्माण सामाग्री भारत लगिए 

यसैबीच प्राप्त जानाकारी अनुसार, भारतले दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक बनाएर डोजर र निर्माण सामग्री ढुवानी गरिरहेको छ ।

त्रिदेशीय सीमा क्षेत्र ब्यास गाउँपालिका–१ र २ को सीमा क्षेत्रमा करिब एक किलोमिटर परबाट डेढ सय मिटर तथा त्यसकै केही अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर जतिको डोजर जाने सडक बनाएको छ।

नेपाली भूमिमा भारतले डोजर गुडाउने बाटो बनाएको तीन साता बढी भएको स्थानीयले बताए। एउटा काठेपुल डेढ महिना अघि र दोस्रो महिना दिन अघि राखेको हो।

माल्पा नजिकको काटार नजिक अन्तर्राष्ट्रिय सीमा नदी महाकालीकोबीच भागमा ठूल्ठूला ढुंगा नदीको माथि राखेर पानीलाई ढुंगामुनि छिराएर जुनसुकै सवारी साधन गुड्ने सडकजस्तै पुल बनाएको छ। त्यसको करिब ७ सय मिटर पर पेल्सितिमा महाकाली वारपार गर्ने राम्रो काठेपुल राखेको छ।

एकतर्फी रुपमा सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकका कारण महाकाली साँघुरिदै र नेपालतर्फको घोरेटो बाटोमा समेत क्षति गरेको छ। नदीको वारिपारि ठूल्ठूला ढुंगाहरुले पानी नै देखिँदैन। धेरै ठाउँमा नदीले कटान गरेपछि ब्यास जोड्ने घोरेटोको भत्किएको छ। भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई कुनै जानकारी नदिई अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो।

उक्त क्षेत्रमा भारतले मनोमाढी ढंगले नेपाली भूमि आएर डोजर लैजान सडक खनेको र महाकाली नदीमा काठेपुल लगाएको बारेमा नेपाली पक्ष बेखर छ। यस विषयमा जिल्ला प्रशासन कार्यालय, सीमाको रेखदेख गर्न जिल्लामा रहेको सीमा सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि बुझ्दा बेखबर भएको प्रतिक्रिया दिएका छन्।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा राज्यको ध्यानाकर्षण हुनुपर्ने हो तर त्यो हुन सकेको छैन। अन्तर्राष्ट्रिय सीमा नाघेर हाम्रो देशमा आएर सडक खनेको बारेमा कुनै निकायबाट जानकारी हुन नसकेको प्रमुख जिल्ला अधिकारी यदुप्रसाद पौडेलले बताए।


(२०७६ फाल्गुन ४, आईतवार) ०७:२९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना