संसदीय समितिमा सांसद सुब्बाको टिप्पणी : “गृहमन्त्रीका राजनीतिक सल्लाहकारले २०/२५ लाख घुस लिएको बजारी हल्ला छ”

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन २, शुक्रबार) ०९:४०

सत्तारुढ नेकपाकै एक सांसदले गृहमन्त्रीका प्रमुख सल्लाहकारले २०/२५ लाख रुपियाँ घुस लिएको बजारमा हल्ला चलेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार बोल्दै त्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बिजय सुब्बाले गृहमन्त्री रामबहादुर थापाका प्रमुख सल्लाहकारले नेपाल रेडक्रस सोसाइटीभित्रको भ्रष्टाचार र अनियमितता छिपाउन २०/२५ लाख लिएको हल्ला चलेको टिप्पणी गरेका हुन् । उनले गृहमन्त्रालयले रेडक्रसको विधान संशोधन गर्ने प्रक्रिया अगाडि बढेका बेला गृहमन्त्रीकै सल्लाहकार नै ‘सेटिङ’ मा लागेको आरोप लागेको बताए । तर सांसद सुब्बाले प्रमुख सल्लाहकारको नाम भने लिएनन् ।

उनले सो बैठकमा अघि भने,‘भनेकै हो हामीले गृहमन्त्रीज्यूलाई, तपाईंको प्रमुख सल्लाहकार जो राजनीतिक व्यक्ति हुन् । तिनले तपाईंलाई मिस गाइड गर्दैछन् । बजारमा २० लाख कि २५ लाख खाएको हल्ला छ ।’

रेडक्रसभित्रको अनियमितता बाहिर आउन नदिन र हालको विधानलाई छिटो संशोधन नगराउन गृहमन्त्रीका सल्लाहकारले मात्रै नभएर न्यायाधीशले पनि पैसा खाएको हल्ला चलेको सांसद सुब्बाले खुलाए । उनले आफूले हल्ला सुनेको भन्दै आधिकारिक हो कि होइन थाहा नभएको बताए ।

रेडक्रसको रक्तसञ्चार केन्द्र, जग्गाखरिद लगायतका विषयमा करोडौं भ्रष्टाचार भएको  लगायतका कुरा लिएर आफु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुग्दा सीआईबीले रेडक्रस बारेको उजुरी हेर्न नसकिने भनेको पनि सुनाए।  उनले अघि थपे,  “सीआईबीले हामीले हेर्न सकेनौं भन्छ । अदालतमा गयो, अदालतले मुद्दा कमजोर छ भन्दिन्छ सरकारी वकिलले, महान्याधिवक्ताले । सबै सेटिङले त्यहाँ पनि हराइदिहाल्छ। ’

रेडक्रसमा विधान संशोधन हुन नदिने र एकै व्यक्ति वर्षौसम्म नेतृत्वमा रहिरहन सेटिङ मिलाउने गरिएको उनले आरोप लगाए । ‘वर्तमान अध्यक्ष १२ वर्ष भइसक्यो । फेरि अध्यक्ष हुने प्रयत्नमा छन् । यो सारा सेटिङ मिलाउने करोडौं पैसा खर्च गरेर आफू फेरि नेतृत्वमा टिक्न खोज्ने उनको योजना त्यही हो ।’

सांसद सुब्बाले वर्तमान अध्यक्षले भूकम्प पीडितको सहायताका लागि आएको रकमसमेत हिनामिना गरेको आरोप लगाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले रेडक्रसको भ्रष्टाचारको बारेमा हेर्न नमिल्ने जवाफ पाएको पनि सांसद सुब्बाले बताए । सांसद सुब्बाले रेडक्रसका विषयमा राज्य व्यवस्था समितिले छानबिन गर्नुुपर्ने बताए ।

संसदीय समितिमा गृहमन्त्रीका राजनीतिक सल्लाहकारले रकम लिएको कुरा उठ्दा समेत न त गृह मन्त्रालयले कुनै सार्वजनिक आफ्नो भनाई सार्वजनिक गरेको छ, न गृहमन्त्रीका सल्लाहकारहरुको कुनै जवाफ बाहिर आएको छ। समाचार स्रोत अनलाइन खबर डट कम 


(२०७६ फाल्गुन २, शुक्रबार) ०९:४० मा प्रकाशित

Exchange Rate

Nepali Patro