के हो तात्कालिन माओवादीले परित्याग गरेको “प्रचण्डपथ” ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन १, बिहीबार) १६:०३

नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्यका साथ् २०५२ साल फागुन १ गतेदेखि शुरु भएको दिर्घकालिन जनयुद्धकै क्रममा नेकपा (माओवादी) को २०५७ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले पार्टीको बिचारहरुलाई संस्लेषण गर्दै “प्रचण्डपथ”को संज्ञा दिएको थियो।  त्यतिबेला मुलुकमा जारी  रहेको सामान्ती राजतन्त्रकाबिरुद्ध लड्न भन्दै जनमुक्ति सेना गठन प्रक्रिया शुरु गरिएको थियो।  सोही रास्ट्रिय सम्मेलनको निर्णय बमोजिम गठन भएका जनसत्ता, जनमुक्ति सेना र जनअदालतले तिब्रता पाउँदा चौतर्फी दबाबकाकारण संसदीय ब्यबस्थामा चुर्लुम्म डुबेका र निरङ्कुश राजाद्वारा घोक्र्थ्याक लगाइएका राजनीतिक पार्टीहरुको सहयोगमा मुलुकमा दोश्रो जनआन्दोलन भयो।  

मुलुकबाट दुईसय ४० वर्ष लामो निरङ्कुश राजतन्त्र हटाउन सफल बनेको अग्रगामी र क्रान्तिकारी बिचारधारा प्रचण्डपथलाई विदेशीहरुको इशारामा तात्कालिन नेकपा (माओवादी) अध्यक्ष्क्ष एबम जनमुक्ति सेनाका सुप्रिम कमान्डर प्रचण्डले १२ बुंदे समझदारी र बिस्तृत शान्ति सम्झौताको नाममा परित्याग गरेका थिए।  उनले प्रचण्डपथ परित्याग गरेपछि अहिले दलाल संसदीय ब्यबस्थामा प्रवेश गरेर सत्ताको छिनाझपटीमा लागेका छन्।  के थियो त्यो महान विचारधारा “प्रचण्डपथ’ हेर्नुस : सम्पादक 

अन्तर्राष्ट्रिय सर्वहारावर्गको अङ्गका हैसियतले मार्क्सवाद–लेनिनवाद–माओवादका सार्वभौम सिद्धान्तका आधारमा वर्गसङ्घर्ष र दुई लाइन सङ्घर्षका बीचबाट पार्टीले नेपाली क्रान्तिको कार्यदिशा निश्चित गर्‍यो। नेपाली क्रान्तिको विचार निर्माणका दिशामा यो पहिलो महत्वपूर्ण उपलब्धी थियो। सोही कार्यदिशाको निर्देशनमा नयाँ जनवादी, समाजवादी र सांस्कृतिक क्रान्तिहरू हुँदै साम्यवादसम्म पुग्ने महान् उद्देश्य र प्रतिवद्धताका साथ १ फागुन २०५२ देखि नेपालको इतिहासमा नयाँ युगको सुत्रपातसहित जनयुद्धको ऐतिहासिक पहल गरियो। पार्टीको नेतृत्वमा यो ऐतिहासिक पहल आफैंमा मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा र प्रयोग तथा नेपाली क्रान्तिका विशिष्ट नियमहरूको उद्घाटनको दिशामा अर्को गुणात्मक फड्को थियो। आज जनयुद्धका पाँच आँधीमय वर्षका अनुभवहरूको संश्लेषण माक्र्सवाद–लेनिनवाद–माओवादका आधारमा नेपाली क्रान्तिलाई निर्देशित गर्ने विचार श्रृङ्खलाको यो विकास जनयुद्धका पाँच वर्षको महान् उपलब्धी हो।

जनमुक्ति सेनाका सुप्रिम कमान्डर प्रचण्ड फौजी आक्रमण सम्बन्धि
जनमुक्ति सेनाका सुप्रिम कमान्डर प्रचण्ड फौजी आक्रमण सम्बन्धि 

यो महान् उपलब्धी लाखौं जनसमुदाय एवं क्रान्तिकारी योद्धाहरूको अकथनीय दुःख, कष्ट, त्याग, तपस्या, वीरता, सौर्य र बलिदानका ऐतिहासिक कीर्तिमानहरूको भव्य जगमा खडा भएको छ। यो महान् उपलब्धी नेपाली जनताका हजारौं श्रेष्ठतम् छोराछोरीहरूको रगत धर्तीमा बगाएर त्यसको मूल्यद्वारा हासिल भएको छ। यो महान् उपलब्धी, सिङ्गो पार्टी, सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त र जनवादी शक्ति एवं रिमलगायत विश्वभरिका कम्युनिष्ट क्रान्तिकारीहरूको अनवरत योगदानबाट प्राप्त गरिएको छ। यो समग्र प्रक्रियामा पार्टीले प्रतिक्रियावादी सत्ताका आमहत्याकारी अभियानहरूको प्रतिरोध, संशोधनवादी षड्यन्त्र र बकवासको झण्डाफोर तथा पार्टीभित्रै देखिएको विचलनवादी प्रवृत्तिका विरुद्ध सङ्घर्षमा मार्क्सवाद–लेनिनवाद–माओवादका आधारमा सफल नेतृत्व गर्दै आएको छ। यो तीव्रतम् सङ्घर्षमा सफल नेतृत्वका कारण आज पार्टीको विचार श्रृङ्खलाहरू मात्र होइन, केन्द्रीय स्तरमा सुयोग्य नेताहरूका टीमका साथै क्रान्तिकारी उत्तराधिकारीका रूपमा हजारौं कार्यकर्ताहरूको भरभराउँदो जत्थाको पनि विकास भइरहेको छ।

पार्टी एकतादेखि विचार संश्लेषणको यो उचाइसम्म महामन्त्री क. प्रचण्डको सही र अविच्छिन्न नेतृत्वका कारण आज पार्टी एकताको केन्द्रविन्दुका रूपमा क. प्रचण्डको बलियो सर्वहारा हेडक्वार्टरको विकास भएको छ। अतः सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिका रूपमा विकसित विचार श्रृङ्खलालाई पार्टी प्रचण्डपथ (Prachanda Path) नामकरण गर्दछ। पार्टीभित्र र बाहिरको लामो बहस एवं अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन मुख्यतः रिम (RIM) कमिटीसँगको उच्च सैद्धान्तिक अन्तरक्रियासमेत पृष्ठभूमिमा विकसित यो प्रचण्डपथले मार्क्सवाद–लेनिनवाद–माओवादलाई समृद्ध गर्दै नेपाली क्रान्तिको विशिष्ट विचार श्रृङ्खला (Set of Ideas) लाई अभिव्यक्त गर्दछ। प्रचण्डपथको रूपमा विकसित यो विचार श्रृङ्खलाले नेपाली क्रान्तिको अग्रगमनमा महत्वपूर्ण दिशानिर्देश गर्नेछ।

मार्क्सवाद–लेनिनवाद–माओवाद सर्वहारा वर्गको सामाजिक क्रान्तिको विज्ञान हो। विज्ञान हुनाको कारण यसले हमेसा दुनियाँ बदल्ने वर्गसङ्घर्षको व्यवहारमा प्रयोगद्वारा विकासको अपेक्षा गर्दछ। ‘प्रचण्डपथ’का रूपमा पार्टीका अनुभवहरूको यो संश्लेषणले अन्ततः नेपाली क्रान्तिको व्यवहारमा मार्क्सवाद–लेनिनवाद–माओवादका सार्वभौम सिद्धान्तहरूको प्रयोगको विशिष्टतालाई अभिव्यक्त गर्दछ। अन्तर्राष्ट्रिय अन्तरवस्तु र राष्ट्रिय अभिव्यक्ति, सार्वभौमिकता र विशिष्टता सम्पूर्ण र अंश, सामान्य र विशेषको बीचको अभिभाज्य द्वन्द्वात्मक सम्बन्धअनुसार नेपाली अनुभवहरूको यो संश्लेषणले वस्तुतः विश्व सर्वहारा क्रान्ति र सर्वहारा अन्तर्राष्ट्रियवादको सेवा गर्दछ।

अनुभवहरूको यो संश्लेषण द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्तअनुसार ‘व्यवहार, ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान’को प्रक्रियाबाट हासिल गरिएको छ। मार्क्सवाद–लेनिनवाद–माओवादले हामीलाई सिकाएको छ कि यो चक्र अनन्तसम्म घुमिरहन्छ। हाम्रो पार्टीले वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको व्यवहारबाट पहिलो ज्ञानका रूपमा वर्तमान संश्लेषण गर्‍यो। स्पष्ट छ कि यो प्रक्रिया यहाँ पूर्ण र अन्त्य हुने कुरा होइन। फेरि व्यवहार फेरि ज्ञान हुँदै विकासको निरन्तर प्रक्रियाबाट अगाडि बढिरहेछ। कम्युनिष्ट क्रान्तिकारीहरूले विकासको यो द्वन्द्वात्मक गतिका नियमहरूलाई सही तरीकाले बुझ्न तथा सञ्चालन गर्न मार्क्सवाद–लेनिनवाद–माओवादका सार्वभौम सिद्धान्तहरूको प्रयोगमा सिपालु बन्न प्रयास गरिरहनुपर्दछ।

(नेकपा (माओवादी) को २०५७ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनको दस्तावेज ‘महान् अग्रगामी छलाङ ः इतिहासको अपरिहार्य आवश्यकता’ नामक दस्तावेजको एक महत्वपूर्ण अंश।)


(२०७६ फाल्गुन १, बिहीबार) १६:०३ मा प्रकाशित

Exchange Rate

Nepali Patro