ब्यानरमा प्रचण्ड र ओलीको फोटो राखिएकोमा केन्द्रिय सदस्यहरुको आपत्ति, ओलीले भाषण गर्दा शिर्षस्थ नेता समेत निदाए

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ १६, बिहीबार) १४:३३

सत्तारुढ नेकपाको बुधबारदेखि  केन्द्रिय समिति बैठकको उद्घाटन सत्रमा राखिएको ब्यानरमा अध्यक्षद्वय केपी ओली र प्रचण्डको फोटो राखिएकोमा केन्द्रिय सदस्यहरुले चर्को बिरोध गरेका छन्।  उनीहरुले ब्यानरमा अध्यक्षद्वयको फोटो राखिदा राजारानीको झझल्को आएको टिप्पणी गर्दै बहालवाला दुई अध्यक्षको फोटोलाई यसरी भित्ता टाँगेर ‘देवत्वकरण गरिएको’ भन्दै केन्द्रीय सदस्यहरूले आपत्ति जनाए।

मञ्चको बीच भागमा संस्थापक नेता पुष्पलाल श्रेष्ठ र पूर्व महासचिव मदन मण्डारीको तस्बिर र  त्यसैको दाहिनेतिर अध्यक्ष एवं प्रधानमन्त्री ओली र देब्रेतिर अर्का अध्यक्ष दाहालको तस्बिर राखिएको थियो।

केन्द्रीय सदस्यहरू राजेन्द्र राई, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा लगायतले ‘आफैं मञ्चमा बसेर आफ्नै फोटो राख्नु कम्युनिस्ट सिद्धान्तविपरीत’ भन्दै फोटो हटाउन माग गरे।

‘केही दिनअघि पार्टीले आचरण सुधार्ने भनेर विशेष सर्कुलेसन जारी गरेको छ। आज बैठकमा आउँदा राजा-रानीको झल्को दिने गरी दुई अध्यक्षको फोटो दायाँबायाँ राखिएको छ,’ राजेन्द्र राईको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘हामी कम्युनिस्टहरू एकअर्कालाई कमरेड भन्छौं।त्यसो भनेको हामी सबै समान छौं भनेको हो। तर आज यो फोटो राख्न कसले लगायो? को हो यो फोटो राख्ने?’

दुई अध्यक्षसहित मञ्चमा बसेका नेताहरूप्रति सम्मान रहे पनि उनीहरूलाई सर्वेसर्वा मान्न नसकिने राईले बताए। उनले ‘यस्तरी फोटो राखेर के सन्देश दिन खोजेको हो’ भन्दै प्रश्नसमेत गरेका थिए। अर्को बैठकमा आउँदा फोटो हटाइसक्नुपर्ने उनको माग थियो।

राईको भनाइलाई समर्थन गर्दै अर्का केन्द्रीय सदस्य खतिवडाले ‘यस्ता तस्बिर राखेर लाज हुन्छ कि गर्व लाग्छ’ भनेर प्रश्न गरेका थिए।

फोटो राखिएकोमा विरोध गर्ने नेताहरूले चीनको उदाहरणसमेत दिए। चिनियाँ कम्युनिस्ट पार्टीको बैठकमा राष्ट्रपति एवं महासचिव सी चिनफिङको तस्बिर नराखिने उनीहरूले बताए।

यस अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैगर्दा पार्टीका सचिवालय सदस्यद्वय माधव कुमार नेपाल र नारायणकाजी श्रेष्ठ भने निदाएका थिए ।

अध्यक्ष ओलीले आज दुई घण्टा भन्दा लामो समयसम्म सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली सम्बोधनको बिचमा पुग्दै गर्दा नेताद्धय नेपाल र श्रेष्ठ भने निदाएका थिए । उनीहरु निदाएको देखेपछि बैठकमा उपस्थित केन्द्रिय सदस्यहरुले भने गाँईगुँई कुरा काट्न थालेका थिए ।


(२०७६ माघ १६, बिहीबार) १४:३३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना