निगमको अन्तर्राष्ट्रिय उडान भर्ने ४० मध्ये २५ पाइलटले सामूहिक राजीनामा दिए

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ १०, शुक्रबार) ०७:०५

नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा एयरबस ३३० जहाजका नेपाली क्याप्टेन श्रवण रिजाल, समाज श्रेष्ठ र महेश डंगोल छन् । त्यस्तै, सोही जहाजका ११ को–पाइलटमध्ये १० जनाले राजीनामा दिएका छन् । एयरबस ३२० का १६ क्याप्टेनमध्ये १२ जनाले राजीनामा दिएका छन् । सोही जहाजका नौजना को–पाइलटमध्ये तीनजनाले राजीनामा दिएका छन् ।

राजीनामा दिने पाइलटमा अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराईले सामूहिक राजीनामा बुझाएका छन् ।

वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् ।

राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको छ ।

तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएको एयरबस ३३० जहाजका क्याप्टेन श्रवण रिजालले बताए । निगम व्यवस्थापन सुधार हुनुपर्ने, साथै विदेशी पाइलट र नेपाली पाइलटको विभेद अन्त्य हुनुपर्ने आफूहरूको प्रमुख माग रहेको रिजालले बताए । ‘व्यवस्थापनसँग पटक–पटक यी विषय राखे पनि सुनुवाइ नभएपछि बाध्य भएर सामूहिक राजीनामा बुझाएका हौँ,’ रिजालले भने, ‘नियमित प्रक्रियाअनुसार जाने हो भने एक महिनाअगाडि राजीनामा दिनुपर्ने नियम छ । तर, हामीले आन्दोलनस्वरूप तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हौँ,’ रिजालले भने ।

निगमले विदेशी पाइलटलाई मासिक २३ लाख पारिश्रमिक दिने गरे पनि नेपाली क्याप्टेनलाई भने कम तलब दिने गरेको छ । ‘नेपालीलाई पनि २३ लाख नै तलब दिनुपर्‍यो भन्ने हाम्रो माग होइन, नेपाली क्याप्टेन नै तयारी गरी विदेशीमाथि हुने फजुल खर्च रोक्नुपर्‍यो भन्ने हो,’ रिजालले भने ।


(२०७६ माघ १०, शुक्रबार) ०७:०५ मा प्रकाशित

Exchange Rate

Nepali Patro