राष्ट्रिय सभामा रिक्त १८ मध्ये १६ सत्तारुढ नेकपा र दुई राजपा बिजयी, कांग्रेसले सात सदस्य गुमायो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ १०, शुक्रबार) ०५:०६

राष्ट्रियसभा सदस्यको निर्वाचनमा सबै प्रदेशमा नेकपा गठबन्धन विजयी भएको छ। प्रदेश -२ मा भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच गठबन्धन भएको थियो। बिहीबार १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राजपाका २ उम्मेदवार निर्वाचित भएका हुन्।

सातै प्रदेशबाट प्रतिनिधित्व हुने महिला समूहतर्फ ७, दलिततर्फ २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ २ र अन्यतर्फ ७ गरी १८ रिक्त पदमा मतादान भएको हो। निर्वाचनमा विपक्षी कांग्रेसले ७ वटै सिट गुमाएको छ।

निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ। राष्ट्रियसभा सदस्यको १८ पदका लागि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो। निर्वाचनका लागि सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट तीनै पदमा नेकपाका उम्मेदवार विजयी भएका छन्। सत्तारुढ नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपीबहादुर सार्की (अछामी), इन्दु गौतम र देवेन्द्र दाहाल विजयी बनेका हुन्।

प्रदेश २ मा नेकपाका तुलसा दाहाल र राधेश्याम पासवान तथा राजपाका मृगेन्द्रसिंह यादव र शेखर सिंह निर्वाचित भए । दाहाल महिला सदस्य र पासवान दलित सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै यादव अन्य समूहबाट र सिंह अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बेदुराम भुसाल र महिलामा गंगाकुमारी बेलबासे निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट अन्य समूहमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने विजयी भए ।

राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा प्रदेश नम्बर पाँचबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीनै जना उम्मेदवार विजयी भएका छन्। दाङको घोराहीमा भएको निर्वाचनमा नेकपाका उम्मेदवार अपाङ्गतातर्फबाट दाङका जगप्रसाद शर्मा, महिलातर्फ कपिलवस्तुका विमला घिमिरे र खुल्लाबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका हुन्।

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन्। रिक्त दुई जना सदस्यका लागि भएको निर्वाचनमा मायाप्रसाद शर्मा र महिला समूहकी सुमित्रा विसी निर्वाचित भए ।

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन्। खुलातर्फ नेकपाका तारामान स्वाँर र महिलातर्फ शारदा भट्ट विजयी भएकी हुन्।


(२०७६ माघ १०, शुक्रबार) ०५:०६ मा प्रकाशित

Exchange Rate

Nepali Patro