बलात्कारको आरोप लागेका सिद्धबाबालाई जेल पठाउन अदालतको आदेश, बाबा आदेश अगावै भारत भागे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ ९, बिहीबार) १९:३७

उच्च अदालत विराटनगरले अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर पूर्पक्ष गर्न आदेश दिएको छ।  उच्च अदालतले यस अघि धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गर्दै ४५ वर्षीय  सिद्धबाबालाई थुनामा राखेर पूर्पक्ष गर्न आदेश दिएको हो।

सिद्धबाबामाथि महिला अनुयायीमाथि बलात्कार गरेको अभियोग छ । जिल्लाले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध उच्च अदालतमा परेको पुनरावेदनको फैसला आउनुअघि सिद्धबाबा भने भारततिर लागेका छन् । उच्च अदालत विराटनगरमा उनी विरुद्धको जबर्जस्ती करणी मुद्दामा बिहीबार सुनुवाई चलिरहेको बेला भारततर्फ फरार भएका हुन्। उच्च अदालतका मुख्य न्यायधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश हरिप्रसाद बगालेको इजलासमा उनको मुद्दाको सुनुवाई भइरहेको बेला सुरक्षा गार्डलाई जोगबनी नाकाबाट फर्काएर भागेको प्रहरी स्रोतले जनाएको छ।

गिरी आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको जीपमा भारतर्फ भागेका हुन्। सुनसरी जिल्ला अदालतबाट धरौटीमा छुटेपछि सुरक्षा चुनौती रहेको भन्दै सुरक्षा माग गरेपछि उनको सुरक्षाका लागि प्रहरी हवल्दार मुकेश साहलाई खटाइएको थियो।

एकछिन जोगबनी पुगेर आउने भन्दै प्रहरी हवल्दार साहलाई नाकामा छाडेर गिरी भारततर्फ भागेका हुन्।

 


(२०७६ माघ ९, बिहीबार) १९:३७ मा प्रकाशित

Exchange Rate

Nepali Patro