उखु किसान फेरी ठगिए : निर्धारित समयमा पुरा भुक्तानी पाएनन, सरकारले पनि अनुदान बाँडेन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ ८, बुधबार) ०९:३१

किसानको बक्यौता रकम तिर्न सरकारले चिनी उद्योगीहरूलाई दिएको म्याद मंगलबार सकिएको छ । सरकारले दिएको ७ माघको म्यादभित्र जम्मा १४ प्रतिशत बक्यौता भुक्तान  गरेका छन् भने उद्यमीबाट पैसा उठाइदिने सहमति गरेको सरकार आफैंले दिनुपर्ने अनुदानसमेत वितरण गरेन ।

तर, किसानले अझै एक अर्ब पाएका छैनन् । त्यति मात्रै होइन, अनुदानबापत सरकारबाट पाउनुपर्ने एक अर्ब ३२ करोड पनि पाएका छैनन् । उद्योगीबाट पीडित किसानले सरकारसँगको लिखित सहमतिमा समेत ठगिएको महसुस गर्दै फेरि आन्दोलनको तयारी गरेका छन् ।

सर्लाहीका किसान काठमाडौं आएर आन्दोलनमा उत्रिएपछि सरकारले गत १८ पुसमा उद्योगीबाट ७ माघभित्र बक्यौता भुक्तानी गराउने प्रतिबद्धतासहित किसानसँग पाँचबुँदे सहमति गरेको थियो । तर, म्याद सकिँदासम्म केही उद्योगी सरकारको सम्पर्कमै आएका छैनन् भने केहीले थप समय माग गरेका छन् । उद्योग विभागका अनुसार किसानलाई तिर्नुपर्ने एक अर्ब १६ करोडमध्ये मंगलबारसम्म उद्योगीले १६ करोड १४ लाख मात्रै भुक्तानी गरेका छन् ।

विभागका अनुसार महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिलले तीन करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख किसानलाई भुक्तानी गरेका छन् । नवलपरासीस्थित लुम्बिनी सुगर मिल र बागमती खाडसारी सुगर मिल, रौतहटस्थित बाबा बैजुनाथ सुगर मिल र कञ्चनपुरस्थित महाकाली सुगर मिलका सञ्चालक अझै सरकारको सम्पर्कमा आएका छैनन् । एभरेस्ट, हिमालयन, इन्दुशंकर, रिलायन्सलगायतका मिलले भने लगभग सबै (प्राविधिक कारण भुक्तानी गर्न कठिनाइ भएकोबाहेक) रकम भुक्तानी गरिसकेको विभागले जनाएको छ ।


(२०७६ माघ ८, बुधबार) ०९:३१ मा प्रकाशित

Exchange Rate

Nepali Patro