नियम विपरीत, राजतन्त्र फेरी ल्याउनुपर्छ भन्ने कालिदासजी महाराजलाई बिमानस्थलको भिभिआईपी कक्ष

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ ८, बुधबार) ०९:०१

राज्यका उच्च पदस्थ र विशिष्ट व्यक्तिहरुले मात्र प्रयोग गर्न पाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीआईपी) कक्ष राजतन्त्र फेरी ल्याउन सक्रिय रहेका आफूलाई गुरु बताउने कालिदास महाराजलाई प्रयोग गर्न दिइएको समाचार सार्वजनिक भएको छ।

विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न क–कसले पाउँछन् भनेर स्पष्टमा व्यवस्था छ । जसअनुसार आफूलाई महाराज बताउने कालिदास भीआईपी कक्ष प्रयोग गर्न पाउने सूचीमा पर्दैनन् । तर गत शनिबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीआईपी) तिनै कालिदास महाराजले प्रयोग गरेका हुन्।

कालिदासलाई भित्र लैजान एसएसपी रामकृपाल शाह र केही डीएसपीसमेत खटिएका थिए । कालिदास भीआईपी कक्ष प्रवेश गरेलगत्तै महानगरी प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेल पनि विमानस्थल पुगेका थिए  । स्रोतलाई उल्लेख गर्दै आजको कान्तिपुरले छापेको समाचार अनुसार, डीआईजी पोखरेलले नै कालिदासको भीआईपी कक्ष प्रयोग गर्न समन्वय गरेका थिए ।
आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको निकट बताउने दुई श्रीमती विवाह गरेका र बारम्बार अनेकन विवादमा तानिएका कालिदास गणतन्त्र स्थापनापछिका केही वर्ष गुमनाम थिए ।  उनी राजतन्त्र फेरि फर्कन सक्ने भन्दै बेला बेलामा संचार माध्यममा आउने गर्छन।

विमानस्थलको सुरक्षा कमान्ड सम्हालिरहेका एसएसपी शाहले विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले भीआईपी कक्ष प्रयोग गर्न अनुमति दिएपछि आफूहरूले सहयोग गर्ने गरेको बताए । उनले कालिदासको हकमा पनि प्राधिकरणले अनुमति दिएको बताए । कालिदासलाई लिन भीआईपी कक्षमा एसएसपीको उपस्थितिलाई भने उनले नियमित कामको संज्ञा दिए ।

विमानस्थलको व्यवस्थापन हेर्ने नागरिक उड्डयन प्राधिकरणका निर्देशक उत्सव खरेलले कालिदासलाई भीआईपी कक्ष प्रयोग गर्न अनुमति दिइएको बताए ।

२०७१ साउन ५ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार,बहालवाला र पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका कुलपति, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्यलगायतले भीआईपी कक्ष प्रयोग गर्न पाउने उल्लेख छ । पर्यटन मन्त्रालय वा विदेशीका हकमा परराष्ट्र मन्त्रालयको पत्रका आधारमा पनि भीआईपी कक्ष प्रयोग गर्ने अनुमति दिइन्छ ।


(२०७६ माघ ८, बुधबार) ०९:०१ मा प्रकाशित

Exchange Rate

Nepali Patro