पोशाक लगाउन अटेरी गर्छन, पोखरा महानगरका नगरप्रहरी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ ८, बुधबार) ०७:३६

कमल पौडेल अथक /
वार्षिक एक जोर खैरो पोशाकको सुबिधा पाउने पोखरा महानगरका अधिकांश नगरप्रहरीले पोशाक लगाएको पाइँदैन । उनीहरुले सो पोशाक लगाउन हिच्किच्याउने गरेका छन् ।

पोशाक विना नै यस्ता नगरप्रहरीले लुटपाट शैलीमा फूटपाथे व्यापारीका डोका तान्ने काम गर्दै आएका छन् । आफ्नो औपचारिक पहिचान विना नै फूटपाथमा घुमेर विना पोशाकका नगरप्रहरीले डोको तान्ने काम गरेपछि फूटपाथ व्यवसायीहरु मर्कामा परेको गुनासो गरेका छन् ।अझ डोको तान्दा मुखमा आएको अपशव्द बोलेर पछाडिवाट बुटले रामधुलाई हुनेगरी चुट्ने गरेको फूटपाथ व्यवसायीको भनाइ छ ।

अबैध फूटपाथ व्यवस्थित गर्नु महानगरपालिकाको दायित्व हो । महानगरपालिकाले खटाउने नगरप्रहरीहरु आफ्नो पोशाक र हुलीया सहित अनुगमनमा निस्कनु पर्दछ । तर विना पोशाक निस्कने ती व्यक्ति नगरपुलिस हुन् कि को हुन् भन्ने चिन्न नै समस्या भएको छ । पोशाकमा नगरप्रहरी नहुँदा फूटपाथ व्यापारी सँग नै वेला वखत झगडा समेत हुने गरेको छ ।

महानगरका यस्ता अधिकांश नगरप्रहरीले सहरमा आफन्त भेटिने भएकोले महानगरको पुलिस भन्न लाज लागेर पोशाक नलगाउने गरेको महानगर श्रोतको भनाइ छ । महानगरको पुलिसको जागिर खाने तर महानगरले नै व्यवस्था गरेको पहिचान सहितको पोशाक नलगाउने कहाँसम्मको वद्मासी हो ? महानगरका एक कर्मचारीले भने ।

महानगरमा अहिले स्थायी र करार गरी १८ जना नगरप्रहरी छन् । यी मध्ये एक तिहाईले अहिलेपनि महानगरले व्यवस्था गरेको पोशाक लगाउँदैनन् ।

यता महानगरका निमित्त प्रसाशकीय अधिकृत गंगालाल सुवेदीले महानगरका हरेक नगरप्रहरीलाई पोशाक अनिवार्य भएको दाबी गरे । पोशाक विना नगर निरिक्षण गर्न नहुने उनले वताए । उनले  को कसले नगर प्रहरी पोशाक लगाएका छैनन् छानबिन गरी कारवाही गरिने बचन दिए।

महानगरले पछिल्लो समयमा सार्वजनिक सूचना जारी गर्दै पोखराका मुख्य चोकहरुमा फूटपाथ वजार निशेध गरेको छ । तर सक्ने र पहुँचवालाले अहिलेपनि फूटपाथमा व्यापार गरिरहेका छन् । नसक्ने र भनसुन नचल्नेहरुको नगरप्रहरीले हरिविजोग वनाएको उनीहरुको भनाई छ ।


(२०७६ माघ ८, बुधबार) ०७:३६ मा प्रकाशित

Exchange Rate

Nepali Patro