हतियारसहित विप्लवका कार्यकर्ता देखिए गोली हान्ने अधिकारसहित काठमाण्डौमा उच्च सुरक्षा सतर्कता

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ ७, मंगलवार) ११:२४

आफ्नो उपस्थिति देखाउन बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता राजधानी छिरेको सुचना पाएपछि सरकारले राजधानी काठमाण्डौको सुरक्षा ब्यबस्थामा उच्च सतर्कता अपनाएको छ भने हतियारसहित बिप्लवका कार्यकर्ता भेटिए गोली हान्नेसम्मको अधिकार फिल्डमा खटिएका सुरक्षाकर्मीलाई दिइएको छ।

ललिता निवास प्रकरणमा जोडिएका शोभाकान्त ढकालको काठमाडौंस्थित ठूलो भर्याङमा रहेको घरमा बम विस्फोट गराएपछि उनीहरूको सक्रियता राजधानीमा बढेको निष्कर्ष निकाल्दै प्रहरीले राजधानीको सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाएको हो।

प्रहरीले उक्त बम विस्फोटपछि ठाउँ–ठाउँमा छापा मारेर १ सयभन्दा बढी संख्यामा रहेका विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।  तिनीहरुकै सुचनाका आधारमा प्रहरीले हात–हतियार तथा विस्फोटक पदार्थसहित राजधानी छिरेका विप्लवका कार्यकर्ताले आफ्नो उपस्थिति देखाउन राजधानीका संवेदनशील क्षेत्रमा अवाञ्छित गतिविधि गर्न सक्ने निर्क्योल गरेको बताइएको छ।

सुरक्षा निकायले अहिले सिंहदरबारको सुरक्षा व्यवस्था अझै मझबुत बनाएको जनाएको छ। सिंहदरबारवरिपरि २४सै घन्टा प्रहरी तैनाथ गरिएको छ भने विभिन्न गण तथा गुल्मबाट थप प्रहरी परिचालन गरी राजधानीमा सुरक्षा व्यवस्था मझबुत बनाउँदै लगेको प्रहरीले दाबी गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नियमित चेकजाँचलाई थप कडाइ गरिएको र २४ सै घन्टा राजधानीमा प्रहरीको उपस्थितिलाई बढाइएको जानकारी दिए ।

एसएसपी सुवेदीका अनुसार, अहिले नेपाल प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा र उपत्यकाभर रहेका प्रहरी कार्यालयबीच समन्वय गरेर आशंकित क्षेत्रमा खानतलासी गर्ने, शंकास्पद गतिविधिमा संलग्न रहेकाहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने काम भएको छ।

अहिले राजधानीका भित्री शहरहरूमा सादा पोशाकका प्रहरी परिचालन गरिएको छ भने अन्य सुरक्षा निकायसग पनि समन्वय गरी विप्लवका गतिविधिका बारेमा जानकारी दिने र उनीहरूलाई नियन्त्रणमा लिने काम भैरहेको सुरक्षासनग सम्बन्धित अधिकारीहरु बताउछन। अहिले राजधानीका केही ठाउलाई संवेदनशील क्षेत्र मान्दै सुरक्षा सतर्कता अपनाएको पनि उच्च सुरक्षा अधिकारीले जानकारी दिए। यदि हतियारसहित विप्लवका कार्यकर्ता फेला पारे सीधै गोली हान्ने अधिकार पनि फिल्डमा खटिएका सुरक्षाकर्मीलाई दिइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

देशभरबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेपछि विप्लव नेतृत्वको ने.क.पा.ले राजधानीलाई नै निसाना बनाएर केही लडाकू कार्यकर्तालाई राजधानी पठाएको सूचना सुरक्षा निकायले पाएको बताइएको छ। समाचारस्रोत नेपाल समाचारपत्र


(२०७६ माघ ७, मंगलवार) ११:२४ मा प्रकाशित

Exchange Rate

Nepali Patro