ने.क.पा. नुवाकोटका सेक्रेटरी अशोक काठमाण्डौबाट गिरफ्तार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २३, बुधबार) १०:२६

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाल (अशोक) गिरफ्तार भएका छन् । उनलाई ककनी गाउँपालिका- ४ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले मंगलबार जानकारी दिए।

नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अभियोगमा समेत अशोक संलग्न रहेको प्रहरीले दाबी गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका सिलवालले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काईभेटरमा आगजनी गरेको आरोप छ । २०७५ साउन ८ गते रोकिराखेको स्काईभेटर आगजनी गरेको मुद्धा उनी माथि रहेको छ ।

सिलवाल दुई वर्षअघि पनि एउटा पत्रकार सम्मेलनबाटै पक्राउ परेका थिए । त्यतिबेला उनी चन्द समूहको जिल्ला जनपरिषद् नुवाकोटका जनसरकार प्रमुख थिए ।

यसैबीच प्राप्त जानकारी अनुसार, प्रहरीले गत १५ गते हातहतियार सहित मोटरसाईकलमा गईरहेको बेला भागेपछि पिछा गरेर मोरङ केराबारी गाउँपालिका– १० बाहुनी घर भएका ४२ वर्षीय देव कुमार लिम्बुलाई पनि पक्राउ गरेको छ । मे ५ प ७५ नम्बरको मोटरसाईकलमा सवार दुईजना नरोकेर भागेपछि पिछा गर्दै जाँदा मोटरसाइकल अनियन्त्रित भई लडेपछि उनी पक्राउ परेका हुन् ।

खानतलासीको क्रममा मोटरसाईकलमा राखिएका पहेंला बोरा भित्र प्लाईको बाकसभित्र राईफल १ नाल, त्यसको स्टेण्ड १, म्यागजिन २ थान, सेतो बोरा भित्र अमेरिकन पेस्तोल १ नाल , त्यसकै म्याग्जिन १ थान फेला परेको प्रहरीले जनाएको छ । उनी माथि हातहतियार तथा खरखजाना अन्तर्गत मुद्धा चलाएको प्रहरीले जनाएको छ ।


(२०७६ पुष २३, बुधबार) १०:२६ मा प्रकाशित

Exchange Rate

Nepali Patro