रक्सीले मातेका दुई सशस्त्र प्रहरीद्वारा विद्युतका दुई कर्मचारीमाथि कुटपिट

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २३, बुधबार) ०९:२७

रक्सीले मातेका दुई जना सशस्त्र प्रहरीले कुटपिट गर्दा विद्युत् मर्मतको ड्युटीमा रहेका दुईजना कर्मचारी घाइते भएका छन्।

सशस्त्र प्रहरी कार्यदल दरबन्दी भई गृहमन्त्रालयमा कार्यरत सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण राई र हवल्दार छवीन्द्र राईले नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीका दुई कर्मचारीलाई कुटेर घाइते बनाएका हुन्।

उनीहरुको कुटाईबाट नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रमा कार्यरत कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का छन् ।घाइते खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको छ । घाइते दुवैको अहिले अर्थोपेडिक हस्पिटलमा राखेर उपचार भइरहेको छ।

मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका उनीहरु चढेको गाडी रोकेर मदिराले मात्तिएका सशस्त्रका असई प्रवीण राई र हवल्दार छवीन्द्र राई आक्रमण गरेका थिए ।

विद्युतका कर्मचारी कुटपिट गर्ने प्रहरीद्वयले भने प्राधिकरणको गाडीले ठक्कर दिएपछि विवाद भएको दाबी गरेका छन् । बौद्ध प्रहरीका डीएसपी रमेशबहादुर सिंहले आक्रमणकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

 


(२०७६ पुष २३, बुधबार) ०९:२७ मा प्रकाशित

Exchange Rate

Nepali Patro