कलेज खारेज भएपछी तीस बिद्यार्थीद्वारा आत्मदाह गर्ने चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २३, बुधबार) ०४:४५

सरकारी लापरवाही र बेवास्ताकाकारण जिन्दगी बर्बादीमा परेका तात्कालिन चक्रवर्ती नर्सिङ कलेज  ठिमी, भक्तपुरका विद्यार्थीले न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिएका छन्।

कानुनविपरीत भर्ना लिएको ठहर गर्दै गत कार्तिकमा सर्वोच्च अदालतले सो कलेज खारेज हुने फैसला गरेको थियो। कलेज खारेजमा परेपछि त्यहाँ भर्ना भएका विद्यार्थीले पढ्न पाएका छैनन।

कलेज खारेजीपछि आक्रोशित बनेका विद्यार्थीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी आत्मदाह गर्नेसम्मको चेतावनी दिएका हुन्।

‘दुर्गम गाउँबाट नर्स पढ्न आएका हामीमाथि अन्याय हुँदा पनि सुनुवाइ हुँदैन भने हामी सिंहदरबार अगाडि नै आत्मदाह गर्न बाध्य हुनेछौं। हामीसँग अब यसबाहेक कुनै विकल्प बाँकी छैन’, पीडित विद्यार्थी संघर्ष समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पत्रकार सम्म्मेलनमा  पीडित विद्यार्थी संघर्ष समितिकी अध्यक्ष अनुष्का चौलागाईंले आफूहरूलाई कुनै विकल्प नदिइएको र कलेज खारेजीमा परेपछि भविष्य नै अन्धकारमा परेको गुनासो गर्दै “‘सिटिइभिटीदेखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन गरेको खेर गएको छ,’  बताइन ।

पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाहीले सिटिइभिटी र कलेजबीचको विवादको कारण विद्यार्थीहरूले समस्या भोग्नु परेको बताइन्।

उनले कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षा मन्त्रालय जाँदा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्मेवारीपूर्ण जवाफ दिएको बताइन्।

२०७५ सालमा भर्ना भएका ३० जना छात्राहरूको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन्।

गत साउन २२ मा सिटिइभिटीलाई अदालतले स्टे अर्डर दिए पनि २०७६ सालमा कलेज खारेज भएको थियो।


(२०७६ पुष २३, बुधबार) ०४:४५ मा प्रकाशित

Exchange Rate

Nepali Patro