सुचना माग्न गएका पत्रकारमाथि जनकपुरका मेयर साहको कार्यकक्षमा कुटपिट, तीन पत्रकार र तीन महिला कर्मचारी घाइते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २३, बुधबार) ०३:५७

सुचना लिन जनकपुर उपमहानगरपालिकाका मेयरको कार्यकक्षमा पुगेका पत्रकार र नगर प्रहरी तथा मेयरका समर्थक बीच घम्साघम्सी र भिडन्त हुँदा तीन जना पत्रकार र तीन जना महिला कर्मचारी घाइते भएका छन्।

जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धि सुचना दिन आलटाल गरिरहेका मेयर लालकिशोर साहसंग त्यस सम्बन्धि सुचना लिन मंगलबार बिहान सबेरै कार्यालय समयमा पुगेका पत्रकारहरुलाई मेयर साहको निर्देशनमा नगर प्रहरी र उनका समर्थकहरुले घम्साघम्सी गर्दै कुटपिट समेत गरेका थिए।  त्यही क्रममा पत्रकारहरु अमरकान्त ठाकुर, सुभाष कर्ण र राजा झा घाइते भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ।  सामान्य घाइते बनेका उनीहरु सामान्य उपचारपछि घर फर्किसकेका छन्।

यता जनकपुर उपमहानगरपालिकाले पनि सोही क्रममा आफना तीन जना महिला कर्मचारी घाइते भएको जनाएको छ।  तर नाम सार्वजनिक गरेको छैन।

जनकपुरधाम उप–महानगरपालिकाका मेयरको कार्यकक्षमा पत्रकारहरुमाथि कुटपिट भएको छ । मेयर लालकिशोर साहका समर्थकको कुटपिटबाट तीन जना पत्रकार घाइते भएका छन् ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रका अनुसार, सुचना अधिकारी नतोकिएको जनकपुर उपमाहनागरापालिकाका मेयर लालकिशोर साहसंग जानकी मन्दिरको जग्गा अतिक्रमणबारे कुरा गर्न खोज्दा मेयर पन्छिँदै आएका थिए । तर मंगलबार बिहान १० बजे नै यस बारेमा सुचना माग्न जनकपुर उपमाहानगरपालिका कार्यालयमा पुगेका पत्रकारलाई लामो समय कुराए पनि मेयर साहले भेट गर्न आनाकानी गरेपछि पत्रकारहरु जबर्जस्ती मेयरको कार्यकक्षमा प्रवेश गरेका थिए।

मेयरको कार्यकक्षमा प्रवेश गरेका पत्रकारहरुले मेयर साहलाई जानकी मन्दिरको जग्गा अतिक्रमणको बारेमा प्रशं तेर्स्याएका थिए।  तर पत्रकारहरुको जवाफ दिनुको सट्टा मेयर साहले आफ्ना समर्थक र नगर प्रहरी बोलाएर पत्रकारलाई बाहिर निकाल्न निर्देशन दिएका थिए।

मेयरको निर्देशनमा उनका समर्थक र नगर प्रहरीले धकेल्दै  पत्रकारलाई मेयरको कार्यकक्षबाट बाहिर निकाल्ने क्रममा दुवै पक्षबिच घम्साघम्सी भएको थियो र सोही क्रममा कुटपिट भएको थियो।

मेयर साहले पत्रकारहरु कार्यकक्षमा आएर माइक मुखमै टाँसेर प्रतिक्रिया लिन खोजेको र उनीहरुले आफैं हो–हल्ला गरेको आरोप लगाएका छन् । उनले आफ्ना समर्थक अथवा नगर प्रहरीले यसरी प्रतिक्रिया नलिन आग्रह मात्रै गरेको दावी गरेका छन् ।

घटनापछि नेपाल पत्रकार महासंघ धनुषाले विज्ञप्ति निकाल्दै मेयरको कार्यकक्षमै पत्रकारहरुमाथि भएको दुर्व्यवहार र कुटपिटको छानबिनको माग गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । नेपाल पत्रकार महासंघ धनुषाको बैठकले दोषीमाथि कारबाही नभएसम्म मेयर साह सहभागी हुने कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।

यता, उपमहानगरपालिकाको मंगलबार बसेको आकस्मिक बैठकले पत्रकारहरु अभद्र शैलीमा प्रस्तुत हुँदै कुटपिटमा उत्रिएको दाबी गरेको छ । पत्रकारको कुटपिटबाट ३ जना महिला कर्मचारी समेत घाइते भएको उपमहानगरपालिकाले दाबी गरेको छ । उपमहानगरपालिकाले घटनामा मुछिएका पत्रकारहरुलाई कारबाही गर्न न्यायिक समिति गठन गर्न माग गरेको छ ।


(२०७६ पुष २३, बुधबार) ०३:५७ मा प्रकाशित

Exchange Rate

Nepali Patro