एक वर्ष जेल र १४ करोड जरिवाना तोकिएका सुडान घोटाला काण्डका मुख्य दोषी शम्भु भारती सर्बोच्चको आदेशमा चार महिनामै जेलमुक्त

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २१, सोमबार) ०५:४५

एक वर्ष जेल सजाय र १४ करोड २० लाख रुपैयाँ विगो र जरिवाना सजाय तोकिएका चर्चित सुडान घोटाला काण्डका मुख्य दोषी शम्भु भारती चार महिनामै जेलमुक्त भएका छन् ।

सर्वोच्च अदालतले थुना बाहिरै बसेर मुद्दाको पुनरावलोकन गर्न दिने सुविधा दिएपछि भारती जेलमुक्त भएका हुन् ।

डडेल्धुरा जिल्ला रुपाली गाविस वडा नं. ०४ स्थायी घर भई हाल ललितपुर जिल्ला सैंबु भैँसेपाटी वडा नं. ८ बस्ने भारतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै १२ भदौमा पक्राउ गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले नै भारतीलाई एक वर्ष जेल सजाय र १४ करोड २० लाख रुपैयाँ विगो र जरिवाना सजाय तोकिएका फैसला गरेको थियो ।

सर्बोच्च अदालतको पत्र अनुसार भारतीलाई थुनामुक्त गरिएको डिल्लीबजार कारागारले जानकारी दिएको छ  ।

 भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए । यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो ।

यही नेपाल प्रहरीको सुडान मिसनका लागि एपीसी (आर्म पर्सनल क्यारियर) खरिदका क्रममा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका ३ पूर्वआइजीपीमध्ये ओमविक्रम राणा र हेमबहादुर गुरुङले सर्वोच्च अदालतको फैसला अनुसार कैद र जरिवाना तिरी मुक्त भइसकेका छन् । तर अर्का पूर्वआइजीपी रमेश चन्द ठकुरी कानुनत: अदालतको फैसला बमोजिम कैद भुक्तान गरिरहेका छन् ।

२०७४ वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठले राणालाई २ बर्ष कैद र ५० हजार जरिवाना तिर्नुपर्ने आदेश दिएका थिए । गुरुङ र चन्दलाई अदालतले १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । राणा र गुरुङ आफैं सर्वोच्च अदालतमा आत्मसमर्पण गर्न गएकाले उनीहरुको २० प्रतिशत कैद मिनाहा भई छुटिसकेका छन् । राणालाई २ बर्ष कैद तोकिएकोमा उनी २०७४ असार ७ मा हिरासतमा गई २०७५ माघमा निस्किएका थिए । उनी करिब १९ महिना हिरासतमा बसेर रिहा भएका थिए ।

भारतीविरुद्ध सुडानकाण्डमा अख्तियारका सात अभियोग
— एपीसीको बोलपत्र गैरकानुनी रूपले प्रस्तुत गरेको
— प्रहरी प्रधान कार्यालयबाट आठवटा एपीसी ढुवानीका लागि भनेर यूएस डलर १,४५,६०० र त्यसको बीमाबापत ७३,५३४ अमेरिकी डलर, स्पेयर पार्ट्सको बीमा र ढुवानीबापत ६२,५८० र पानी ट्यांकर र एम्बुलेन्स ३/३ थानको बीमा र ढुवानीबापत अमेरिकी डलर ५१,४६७ भुक्तानी लिएको ।
— एपीसीको बीमाबापत ३३,२७,२९५ यूएस डलर बीमा गर्नुपर्नेमा ३०,३३,९११ मात्रै बीमा गरेको ।
– स्पेयर पार्ट्सको मूल्यअभिवृद्धि कर २,०८० अमेरिकी डलर भुक्तानी लिएको ।
— बन्दोबस्तीका सामानहरू सुडान पोर्टसम्म निःशुल्क पु¥याइदिने सम्झौता गरेको र पछि ढुवानी सम्झौता गरी अमेरिकी डलर ५१,४६७ बुझिलिएको ।
— कर तिरेको बिल जारी नगरी भुक्तानी लिएको ।
— प्रहरी प्रधान कार्यालयका तत्कालीन प्रमुख ओमविक्रम राणासँग मिलेमतो गरी कमसल र पुराना एपीसी, काम नलाग्ने स्पेयर पार्ट्स ढुवानी गरी तीन करोड १० लाख ३७ हजार तीन सय ३० रुपैयाँ बुझिलिएको ।


(२०७६ पुष २१, सोमबार) ०५:४५ मा प्रकाशित

Exchange Rate

Nepali Patro