कास्की प्रहरी किन पक्डदैन, बम पड्काउनेलाई ? यातना समाचार लेख्ने पत्रकारलाई ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर २२, आईतवार) ०५:२२

गएको मङ्सिर १४ गते भएको उपनिर्वाचनका दौरान भएका बिस्फोट र आगजनीका घटनामा संलग्न व्यक्तिहरुलाई कास्की प्रहरीले आजसम्म पक्राउ गर्न सकेको छैन।  तर त्यो बिष्फोट र आगजनीको समाचार लेख्ने पत्रकारहरुलाई कास्की प्रहरीले शारीरिक तथा मानसिक यातना दिने गरेको तथ्य सार्वजनिक भएको छ।

नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्टले शनिबार जारी गरेको बिज्ञप्ति अनुसार, उपनिर्वाचनका बेला बम बिष्फोट र आगजनी तथा नेपाल प्रहरीका घुमुवाहरुले जुवा खालबाट रकम लुटेको समाचार लेख्ने पोखरामा डन पत्रकार भनेर पहिचान बनाएका पत्रकार राजेन्द्र अधिकारीलाई कास्की प्रहरीले शारीरिक तथा मानसिक यातना दिएको मात्र हैन उनलाई आफ्नी पेशा र घरबाट समेत बिस्थापित हुने अवस्था सृजना गरेको छ।

पोखरामा निर्भिक, निडर र स्वतन्त्र तरीका पत्रकारिता गरिरहेका पत्रकार अधिकारीलाई कास्की प्रहरीले बिस्थापित नै हुने गरी सादा पोशाकका प्रहरी खटाइ निगरानी गरेर शारीरिक तथा मानसिक यातना दिएकोमा नेपाल पत्रकार महासंघले आपत्ति पनि जनाएको छ।  महासचिव रमेश बिष्टद्वारा अघि भनिएको छ, “पोखराको विभिन्न ठाउँमा प्रहरीले चलाएर्को जुवा अप्रेसन’ का विषय न्यूज २४ टेलिभिजनमा समाचार प्रसारण गरेको भन्दै प्रहरी प्रमुख एसपी कार्कीले पत्रकार अधिकारीको घर तथा कार्यालयमा सादा पोशाकका प्रहरी खटाएर मानसिक तथा शारीरिक यातना दिनुका साथै पत्रकार अधिकारीलाई पोखराबाट विस्थापित हुन बाध्य बनाएका छन् ।”

सो बिज्ञप्तिमा समाचारप्रति गुनासो एवं चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै प्रहरीको जिम्मेवार अधिकारीबाट कुनै पनि बहानामा पत्रकारलाई मानसिक तथा शारीरिक यातना दिने र विस्थापित हुन बाध्य पार्नु आफैंमा निन्दनीय कार्य भएको जनाउदै संविधानविपरीतको कार्य भएको नेपाल पत्रकार महासंघको ठहर रहेको जनाइएको छ । प्रहरीबाट भएको यस्तो कार्यको भत्र्सना गर्दै नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षितरुपमा काम गर्ने वातावरण निमार्ण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

कास्की प्रहरी पत्रकारमाथि खनिनुका कारणहरु 

यसैबीच प्राप्त पछिल्लो तथ्य अनुसार, कास्की निर्वाचन क्षेत्र नम्बर २ मा गएको मङ्सिर १४ गतेको उपनिर्वाचनका बेला भएको आगजनी र बिस्फोटको घटनामा संलग्नहरुलाई कास्की प्रहरीले संरक्षण गरिरहेको छ।  बम बिस्फोट गराएको आरोपमा सत्तारुढ नेकपाका स्थानिय नेता भुमि पराजुलीलाई मङ्सिर १४ गते साँझ समातेको कास्की प्रहरीले २४ घण्टा पछि सत्तारुढ नेकपा कास्कीका नेता बखानसिंह गुरुङलाई बुझाएको थियो।  त्यस यता हालसम्म बम बिस्फोटमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले कोही कसैलाई समातेको छैन।

तर बम बिश्फोट र आगजनी अनि जुवाखालबाट बरामद भएको रकम मध्येबाट केही रकम लुट्ने घुमुवा प्रहरीहरुका बिरुद्ध समाचार लेख्ने पत्रकारहरुलाई छानी छानी कास्की प्रहरीले गिरफ्तारको कोशिश गर्यो।  त्यही क्रममा पत्रकार राजेन्द्र अधिकारी बिस्थापित भए।  राजनीतिक आस्था राखेकै भरमा पत्रकार ओम हमाल र रमाकान्त बास्तोलाले भूमिगत शैलीमा पत्रकारिता गर्न बाध्य छन्।  पत्रकार आश तमु र राजन साउदलाई प्रहरीले गिरफ्तार गरेर थुनामा समेत राख्यो। उनीहरुलाई बम पड्काउनेहरुसंग सम्पर्क रहेको हास्यास्पद आरोप लगाइएको छ।

समाचार स्रोत भन्छ, चुनाब जित्न सत्तारुढ नेकपाले परिचालन गरेका र कास्की प्रहरीकै संरक्षणमा रहेका व्यक्तिहरुबाट भएका आगजनी र विस्फोटका घटनाकाकारण कास्की प्रहरी स्वयम् अप्ठ्यारोमा परेको छ।  पक्राउ गरौँ भने निरन्तर रुपमा आफ्नो सम्पर्कमा रहेका सुचानाबाहकहरु नै बम बिस्फोट र आगजनीमा संलग्न छन्, नगरौं चौतर्फी बिरोध भैरहेको छ।  यही गुत्थी कुरो खुल्ने डरले कास्की प्रहरी निडर र निर्भिक पत्रकारिता गर्ने पत्रकारहरुलाई पक्राउ गर्न खोजिरहेको छ।

अरु त अरु कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीलाई उनकै विस्वासिलो पात्र घुमुवा प्रहरीका तात्कालिन इन्चार्ज असई सन्तोष सुबेदीकाकारण धर्मसंकट परेको छ।  पछिल्लो पटक तिहार २०७६ को बेला पोखराको लेकसाइडस्थित एक होटलमा रहेको जुवाखालमा छापा मार्ने क्रममा केही रकम लुकाएको सिसिटिभी फुटेजकाकारण निलम्वनमा परेका असई सन्तोष सुबेदीले तात्कालीन अवस्थामा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संजाल च्यात्न उनकै केही कार्यकर्ता शुभचिन्तकका साथमा केही सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ता परिचालित गरेका थिए।

असई सुबेदीकाकारण कास्कीमा बिप्लव नेतृत्वको ने.क.पा.बिरुद्ध प्रहरीले ठुलो सफलता हासिल गरेको थियो।  अहिले पनि उनीसंग बम पड्काउने र आगजनी गर्नेहरुको निरन्तर सम्पर्क हुने गरेको समाचार स्रोतको दाबी छ।

बिप्लव नेतृत्वको ने.क.पा.बिरुद्ध ठुलो सफलता दिलाएर जस खाएका कास्की प्रहरी प्रमुख कार्कीले असई सुबेदी जुवाखालबाट रकम लुट्दै गरेको सिसिटिभी फुतेज सहितको सप्रमाण आएपछी निलम्वन गर्न बाध्य भएका थिए।  तर उनले “कामको प्रतिफल राम्रो देखाएमा पुनर्वहाली गरिदिने” प्रलोभन देखाएर असई सुबेदी सहित सोही काण्डमा संलग्न अन्य दुई घुमुवा प्रहरीलाई उपनिर्वाचनका बेला अप्रत्यक्ष परिचालित गरेका थिए।

सार्वजनिक घुमुवा असईको यौन दुर्ब्यबहार र माफी काण्ड 

असई सन्तोष सुबेदी निलम्बनमा परेपछी जिल्ला प्रहरी कार्यालय कास्कीको घुमुवा शाखाको प्रमुखका रुपमा लामो समयदेखि सोही कार्यालयमा कार्यरत् प्रहरी नायब निरिक्षक (सई) टंक पौडेलले सम्हालेका थिए।  उनकै नेतृत्वमा ने.क.पा.का नेता तथा कार्यकर्ता खोज्दै लेखनाथको अर्चले पुगेको सादा पोशाकको प्रहरी टोलीका सदस्य वडा प्रहरी कार्यालय बैदाम पोखराका असई अर्जुन रोकाले १५ वर्षिया एक दलित किशोरीलाई यौन दुर्व्यवहार गरे।

आफ्नो गाउँमा आएर आफनै चेलीलाई यौन शोषण गर्न कट्टु समेत तानेको भन्दै स्थानिय बासिन्दाले असई रोकालाई २/४ झापड हानेका थिए। उनले गाउलेसामु हात जोडेर माफी मागेर फ़ुत्किएका थिए। तर प्रहरीले चुनाबको मुखमा यस्तो घटना सार्वजनिक हुँदा नराम्रो संदेश जाने भन्दै लुकायो र पिडित पक्षलाई धम्क्याउने र प्रलोभन दिने काम गर्यो।  फलस्वरूप त्यो घटना गुपचुप बन्यो।

त्यस घटनालाई प्रहरीले गुपचुप बनाउन सके पनि जनसंचार डट कमले गुत्थी कुरो सहित समाचार सार्वजनिक गर्यो।  त्यसपछि बिप्लव नेतृत्वको ने.क.पा.का समर्थक र प्रहरीका बिरुद्ध समाचार लेख्ने पत्रकारलाई प्रतिशोधका रुपमा तारो बनाएर कास्की प्रहरीले दु:ख दिएको थियो। त्यसको नेतृत्व तिनै असई अर्जुन रोकाले गरेका थिए।  पत्रकारलाई प्रतिशोध साँध्ने दाउमा रहेको कास्की प्रहरीको घुमुवा टोलीले बम बिस्फोट गराउने व्यक्तिलाई पहिचान गरे पनि समाउने आँट गरेन।

चुनाबी सभामा बम बिस्फोटपछि तानिए प्रहरी प्रमुख 

मङ्सिर ११ गते पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा सतारुढ नेकपाद्वारा आयोजित अन्तिम चुनाबी सभामा बम बिस्फोट भएपछी शान्ति सुरक्षा दिन नसकेको भन्दै उपनिर्वाचनको अघिल्लो दिन वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहलाई संघिय प्रहरी कार्यालय गण्डकी प्रदेशमा तानियो।  उनी तानिएसंगै वडा प्रहरी कार्यालय बैदामका घुमुवा प्रहरी प्रमुख असई अर्जुन रोकालाई पनि घुमुवा प्रहरीबाट हटाइएको छ।

मतदानको दिन बिस्फोटका सृंखला 

उपनिर्वाचनका दिन मंसिर्र १४ गते त्यही वडा प्रहरी कार्यालय बैदामको क्षत्रमा पर्ने तर जिल्ला प्रहरी कार्यालय कास्कीबाट झन्डै एक मिनट टाढा सवारी यात्रा रहेको नवप्रभात मावि नयाबजार पोखरा मतदान केन्द्रमा बाहिरबाट बम हानियो।  तर बम हान्ने व्यक्तिलाई प्रहरीले समात्न सकेन।  त्यही दिन पोखरा-१६ को शान्ति मावि अर्मला र अर्को बाटुलेचौरस्थित चण्डिका प्राबि, पोखरा-३३ स्थित सरस्वति टिका उच्च मावि लगायतका मतदान केन्द्र नजिक बम बिस्फोट भएका थिए।  चुनाब प्रचार प्रसार अभियान चलिरहदा पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बिस्फोट गराइएको थियो।

बम पड्काएर चुनाब जितेको देउबाको आरोप 

उपनिर्वाचनको मत परिणाम आए लगत्तै नेपाली कांग्रेसका सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउबाले बम पड्काएर सत्तारुढ नेकपाले चुनाब जितेको आरोप लगाए।  उनले यस्तो आरोप लगाउदा कास्की प्रहरीले बम बिस्फोट गराएको आरोपमा पक्राउ गरेका सत्तारुढ नेकपाका स्थानीय नेता भुमि पराजुलीलाई छाडिसकेको थियो।  चुनाबको दिन मङ्सिर १४ गते साँझ समातिएका पराजुलीलाई प्रहरीले भोलिपल्ट साँझ सत्तारुढ नेकपाकै नेता बखानसिंह गुरुङ ‘आभास’को जिम्मा लगाएको थियो।

बिप्लव छाडेका र संघीय समाजवादीका पनि पक्राउ 

सरकारले उपनिर्वाचन घोषणा गरेपछि समातिएका पत्रकार राज्खुमार घिमिरे, बिप्लव समर्थक भीमसेन परियार अझै पनि हिरासतमा छन्।  त्यति मात्र हैन, बिप्लव नेतृत्वको ने.क.पा. परित्याग गरी सत्तारुढ नेकपा प्रवेश गरेका मजदुर नेता चुच्चे भन्ने खड्का राईलाई पनि प्रहरीले हिरासतमा राखेको छ।  त्यति मात्र हैन संघीय समाजवादी फोरमका कार्यकर्ता बिशाल सेनलाई पनि गिरफ्तार गरेको छ।  चुनावकै सिलसिलामा गिरफ्तार गरिएका पत्रकारद्वय आश तमु र राजन साउद अनि फिर्केखोला मापदण्ड सरोकार समितिका महासचिव टिकाराम घिमिरे हिरासतमुक्त भैसकेका छन्।

काज सरुवाको चाँजोपाँजो 

यति धेरै असफलताका बाबजुद सत्तारुढ नेकपाको सहयोगी बनेका र त्यही पार्टीको इशारामा चलेका कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीलाई सरकारले कारवाही गरेको छैन।  तर संघिय प्रहरी कार्यालय गण्डकी प्रदेश तानिएका वडा प्रहरी कार्यालय बैदामका तात्कालिन प्रमुख डिएसपी कोमल शाहलाई शनिबार सर्बोच्च अदालात्को सुरक्षार्थ खटिएको महानगरीय प्रहरी वृत्त रामशाहपथमा काज सरुवा गरिएको छ।  उनको दरबन्दी रहेको वडा प्रहरी कार्यालय बैदाममा प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको साइबर क्राइम शाखाका डिएसपी यादव ढकाललाई काजमा पठाईएको छ।

उता घुमुवा प्रहरीले यौन दुर्व्यबहार गरेको भनिएको लेखनाथको अर्चले हेर्ने इलाका प्रहरी कार्यालय हंसपुर मुकाम डांडाकोनाक प्रहरीचौकीका प्रमुख डिएसपी मोहनबहादुर खाँडको पनि जिल्ला प्रहरी कार्यालय नवलपुर काज सरुवा भएको छ।  उनले पीडितले उजुरी दिएमा दोषी प्रहरीमाथि कारवाही अघि बढाउने बचनबद्धता व्यक्त गरेका थिए।  उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट डिएसपी अर्जुन रानाभाट काजमा आएका छन्।


(२०७६ मंसिर २२, आईतवार) ०५:२२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना