१३ औँ दक्षिण एशियाली खेलकुद: कराते र तेक्वान्दोबाट मात्रै १४ स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद सागको दोश्रो दिनसम्म छिनोफानो भएको २४ मध्ये आयोजक नेपालले सर्वाधिक १५ स्वर्ण जितेर आफ्नो शानदार उपस्थितिको शुरुवात गरेको छ।
कराते र तेक्वान्दोमा मात्रै कुल १४ स्वर्ण पदक जितेको नेपालले ट्रायथलनमा समेत ऐतिहासिक स्वर्ण पदक जितेको छ।
पछिल्लो पटक तेक्वान्दोमा नेपालका स्वस्तिमा तामाङ, निशा दर्नाल र सञ्जिला तिमल्सिनाले स्वर्ण जितेका हुन् ।त्यसअघि करातेमा अनु अधिकारी एवम् कुसुम खड्काले दुई र तेक्वान्दोमा आयशा शाक्य एवम् सन्जीवकुमार ओझाको जोडीले एउटा स्वर्ण पदक जितेको हो।शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ दुई-दुई स्वर्ण जितेका छन्।
करातेकी अधिकारीले ५० केजी तौल समूहको फाइनलमा श्रीलङ्काली खेलाडीलाई ८-० ले पराजित गरेकी हुन्।खड्काले बाङ्ग्लादेशी खेलाडीलाई हराएर ४५ केजी तौल समूहमा जितेकी हुन्।शाक्य र ओझाले भने २९ वर्षभन्दा माथिको जोडीको विधामा स्वर्ण जितेका हुन्।
करातेका विप्लवलाल श्रेष्ठ र लक्ष्मण तामाङ अनि तेक्वान्दोकी शाक्य र पार्वती गुरुङले यसअघि सोमवार अपरान्ह स्वर्ण जितेका हुन्।श्रेष्ठले पाकिस्तानी खेलाडीलाई हराएर ८४ केजीभन्दा माथि तौल समूहमा स्वर्ण पदक जितेका हुन्।
तेक्वान्दोमा सात स्वर्ण
तेक्वान्दोमा पुम्सेतर्फ नेपालले सात स्वर्ण जितेको हो।महिला एकलमा आयशा शाक्यले २९ वर्षभन्दा माथिको विधामा, पार्वती गुरुङले २३ देखि २९ वर्षसम्मको विधामा र सीना मादेनले २३ वर्षमुनिको विधामा स्वर्ण जितेका छन्। स्वस्तिमा, निशा र सञ्जिलाको समूहले पनि २३ वर्ष मूनिको पुम्सेमा स्वर्ण जितेको हो।
- निरञ्जन राजवंशी /बीबीसी न्यूज नेपाली
(२०७६ मंसिर १७, मंगलवार) ०५:२८ मा प्रकाशित