नेपालभित्रको सामाजिक दलाल पुँजीवादका विशेषताहरु : विप्लव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर ४, बुधबार) ०९:०९

हामीले केपी—प्रचण्डहरूलाई ‘सामाजिक दलाल पुँजीवादी’ र उनीहरूले नेतृत्व गरेको सरकारलाई सामाजिक दलाल पुँजीवादी सरकार भनेपछि स्वाभाविक रूपमा सबैमा जिज्ञासा पैदा हुन्छ– के त्यस्ता ठोस कारणहरू रहेका छन् जसले केपी–प्रचण्डहरूलाई सामाजिक दलाल पुँजीवादी भन्न सकिन्छ ? यो कुरा सही हो– कुनै पनि निष्कर्ष र निचोडहरूमा पुग्नका लागि त्यसलाई साबित गर्ने कारणहरू अगाडि आउँछन् र हुनुपर्छ नै । हामीले उनीहरूलाई सामाजिक दलाल पुँजीवादी भन्नुका पछाडि पनि निश्चित कारणहरू रहेका छन् । यसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

केपी—प्रचण्डहरू सामाजिक दलाल पुँजीवादी हुनुको पहिलो कारण केपी—प्रचण्डहरूले माक्र्सवाद—लेनिनवाद—माओवादको परित्याग गर्नु र पुँजीवादी विचार राजनीतिलाई अख्तियार गर्नु हो । मालेमावादी सिद्धान्तको प्रमुख विशेषता भनेको पुँजीवाद—दलाल पुँजीवादी राजनीतिक सिद्धान्त र विचारका विरुद्ध मालेमावादी, द्वन्द्वात्मक भौतिकवादी, वैज्ञानिक समाजवादी सिद्धान्तका पक्षमा कार्य गर्नु हो । पुँजीवादी युगको अन्त्य र वैज्ञानिक समाजवादी—साम्यवादी युगको अनिवार्यतालाई आत्मसाथ गरेर सारा श्रमिकवर्गलाई शिक्षित–दीक्षित पार्दै कम्युनिस्ट पार्टीमा गोलबन्द गर्नु हो तर प्रचण्डहरूले यसको ठीक विपरीत आजको युगमा क्रान्ति सम्भव नभएको भन्दै दलाल पुँजीवादमा आत्मसमर्पण गरेका छन् । तर नाममा भने कम्युनिस्ट र समाजवाद नै भनिरहेका छन् । यसले के बुझाउँछ भने नाममा कम्युनिस्ट भने पनि यी दलाल पुँजीवादकै अङ्ग हुन् ।

दोस्रो कारण केपी—प्रचण्डहरूले वैज्ञानिक समाजवादी—साम्यवादी सिद्धान्त परित्याग गर्नु र पुँजीवादी—दलाल पुँजीवादी संसदीय राज्यव्यवस्थालाई स्वीकार गर्नु वा उनीहरूका सामु आत्मसमर्पण गर्नु हो । राजनीतिको सामान्य जानकारी राख्ने नागरिकलाई पनि थाहा छ– कम्युनिस्टहरूको राजनीतिक सिद्धान्त भनेको पुँजीवादी सत्तालाई जरैबाट मिल्काएर त्यसको ठाउँमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नु हो । पुँजीवादी सत्ताले जतिसुकै प्रजातन्त्र र स्वतन्त्रताको कुरा गरे पनि व्यवहारतः त्यो मुठीभर पुँजीपति मालिक, दलाल पुँजीपतिवर्गको स्वार्थरक्षा गर्ने र उनीहरूकै हितमा समर्पित हुने व्यवस्था हो । श्रमिक जनताको मुक्ति र स्वार्थको रक्षा गर्ने राज्यसत्ता भनेको वैज्ञानिक समाजवाद मात्र हो । उनीहरू क्रान्तिकारी विचारमा रहँदासम्म यो भट्ट्याउने पनि गर्दथे तर यतिबेला केपी—प्रचण्डहरूले यो वैज्ञानिक समाजवादी सिद्धान्तलाई पूर्ण रूपले परित्याग गर्न पुगेका छन् र त्यसको स्थानमा आफूहरू नै वास्तविक लोकतन्त्रवादी, प्रजातन्त्रवादी, संसदीय व्यवस्थाका रक्षक भएको धारणा राख्दै हिँडेका छन् । उनीहरूले कुनै पनि पुँजीवादी समर्थकले भन्दा चर्को रूपले ‘लोकतान्त्रिक संसदीय व्यवस्था’ को विकल्प नभएको, संसदीय लोकतन्त्रको विरोध गर्नु भनेको देशमा अशान्ति, हिंसा मच्चाउनु हो भन्दै हिँडिरहेका छन् ।

तेस्रो कारण केपी—प्रचण्डहरूले सर्वहारा वर्गीय क्रान्तिको सिद्धान्त र मार्ग परित्याग गर्नु र पुँजीवादी संसदीय व्यवस्थाभित्रैबाट समाजवाद आउँछ भनेर भ्रम फैलाउनु हो । आजसम्मको मानवसमाजको इतिहासले के बताउँछ भने राज्यसत्ताहरूको चरित्र सशस्त्र हुने र उसले आफ्नो रक्षाका लागि हिंसात्मक सिद्धान्त लागू गर्ने भएकाले त्यसलाई मिल्काउन जुनसुकै श्रमिक वर्गले पनि बल प्रयोगको सिद्धान्तलाई अनिवार्य रूपले आत्मसाथ गर्नुपर्छ । चाहे दास मालिकहरूलाई सामन्तवादले विस्थापित गर्दा होस्, चाहे सामन्तवादलाई पुँजीवादले विस्थापित गर्दा होस्, सबैमा यही सिद्धान्त लागू हुँदै आएको छ र पुँजीवादलाई वैज्ञानिक समाजवादले मिल्काउँदा पनि यो नियम अनिवार्य रूपले लागू हुन्छ । यो सिद्धान्तलाई केपी—प्रचण्डहरूले पनि आफू क्रान्तिकारी हुँदासम्म निकै चर्को स्वरले उराल्ने र अरू सबैलाई गद्दार, अवसरवादी र दुस्मन घोषणा गर्थे तर ०६३ पछि जब प्रचण्डहरू यो सिद्धान्तबाट विचलित भए तबदेखि उनीहरूले यसको पूरै उल्टो पुँजीवादीको भन्दा पनि भद्दा शान्तिपूर्ण सङ्क्रमण र शान्तिपूर्ण प्रतिस्पर्धाको नारा लगाउन पुगे । प्रचण्डहरूले जनयुद्धका सारा उपलब्धिहरूलाई प्रतिक्रियावादी सत्ताको पाउमा चढाएर आत्मसमर्पण गर्न पुगे । तर प्रचारमा समाजवाद नै भनिरहे । यसकारण उनीहरू सामाजिक दलाल पुँजीवादी हुन् ।

चौथो कारण केपी—प्रचण्डहरूले आफूलाई एक कम्युनिस्ट वर्गबाट पतन गराउनु र स्वयम्लाई धनाढ्य दलाल पुँजीपतिवर्गमा बदल्नु हो । यो सामान्य ज्ञानको विषय हो– कम्युनिस्ट वर्ग भनेको आजसम्मका सबै समाजहरूमा विद्यमान कुनै पनि वर्गभन्दा फरक वर्ग हो । यसो भनौँ कम्युनिस्टले सम्पूर्ण वर्गहरूको निषेध गर्दै वर्गको नै अन्त्य गर्ने नयाँ वर्गको नेतृत्व गर्छ । यसलाई सर्वहारावर्गको सचेत र दृढनिश्चियी हिस्साको प्रतिनिधि पनि भनिन्छ । यसले पुँजीपति, दलाल पुँजीपति र सामन्ती वर्गहरूको अन्त्य मात्र गर्दैन, आफैँलाई समेत वर्गबाट मुक्त गर्दै दुनियाँलाई वर्गविहीन दुनियाँतर्फ अग्रसर गराउँछ । कम्युनिस्टले सचेततापूर्वक पुराना वर्गहरूलाई समाप्त पार्ने र कम्युनिस्ट निर्माण गर्ने पहल गर्छन् । क्रान्तिको नेतृत्व गर्दासम्म यिनीहरूले पनि यही सिद्धान्तलाई खुब जोड दिन्थे । प्रचण्डले त जनयुद्धकालमा नेताहरूले पार्टीलाई सम्पत्ति बुझाएर सर्वहाराकरण हुनुपर्ने, कम्युनीकरणमा जानुपर्ने वकालत गरेका थिए । केन्द्रीय समितिका नेताहरूले बुझाएका पनि थिए । तर आज यिनीहरू आफ्नो एउटा जत्थासहित नवधनाढ्य वर्गमा पतन हुन पुगेका छन् । रातारात लखपति, करोडपति हुँदै परम्परादेखिका पुँजीपतिहरूलाई समेत ईष्र्या लाग्ने गरी अर्बपतितिर बढिरहेका छन् । यो स्पष्टतः वर्गविचलनको पराकाष्ठा हो ।

पाँचौँ कारण केपी—प्रचण्डहरूले राष्ट्रिय स्वाधीनतालाई त्याग्दै साम्राज्यवाद विशेषतः भारतको दलाली र चाकरी गर्नेतिर गएका छन् । उनीहरू क्रान्तिकारी मार्गमा हुँदा नेपाललाई क्षति पु¥याएका र राष्ट्रघात भएका सन्धिसम्झौताहरू खारेज हुनुपर्ने माग राख्ने गर्थे तर आज उनीहरू उल्टै भारतलाई खुसी पार्न र सरकारको कुर्सी जोगाउन विगतका शासकहरूभन्दा पनि तल गिरेर दलाली एवम् राष्ट्रघात गरिरहेका छन् । बाहिर उनीहरूले जति घात गरेका छैनौँ भने पनि महाकाली सन्धिको कलङ्क कसले लगाएको हो ? माथिल्लो कर्णाली र अरुण ३ कसले बेचेको हो ? विगतका सन्धिहरूलाई अनुमोदन गर्ने कार्य कसले गरेको हो ? भारतसँग सुपुर्दुगी सन्धि कसले गरेको हो ? यी सबैबाट प्रमाणित हुन्छ– यिनीहरू आफ्नो छाला जोगाउन र बाँच्दासम्म सुखसुविधा भोग गर्न राष्ट्रघातमा डुब्न पुगेका छन् । उल्लिखित कारणहरू नै हुनु जसले केपी–प्रचण्ड नामका कम्युनिस्ट र समाजवादी भए पनि सारमा दलाल पुँजीपतिकै एक हिस्सा हुन् । यिनीहरूलाई सामाजिक दलाल पुँजीवादी भन्नु एकदमै सही संश्लेषण हो ।

सामाजिक दलाल पुँजीवादका विशेषताहरू

‘सामाजिक दलाल पुँजीवाद’ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखिएका ‘सामाजिक अन्धराष्ट्रवाद’, ‘सामाजिक साम्राज्यवाद’, ‘सामाजिक पुँजीवाद’ कै एक हिस्सा हो । परन्तु यो नेपाली कम्युनिस्ट आन्दोलनको विशिष्ट उपज हो । यसअगाडि कम्युनिस्ट आन्दोलनमा यो रूपको विचलन देखिएको थिएन । युरोपमा पुँजीवादको विकासले यसखालको वस्तुगत आधार थिएन । त्यहाँ सीधै लेनिनले भन्नुभएजस्तै सामाजिक अन्धराष्ट्रवाद र सामाजिक साम्राज्यवादमा देखापर्न पुग्यो । तर नेपालमा भने पुँजीवादको विकास प्राकृतिक रूपले हुन नसकेपछि त्यसको ठाउँमा दलाल पुँजीवाद पुगेपछि यहाँको विचलन भौतिक वस्तुस्थितिले नै सामाजिक दलाल पुँजीवाद तयार गरिदियो । त्यसैले सामाजिक दलाल पुँजीवादका केही नौला विशेषताहरू हुनु पनि स्वाभाविक र अनिवार्य नै छ । नेपाली कम्युनिस्ट क्रान्तिमा यसको कुपरिणामलाई न्यूनीकरण गर्नका लागि यसका विशेषताहरूबारे ज्ञान राख्न अवश्यक छ ।

सामाजिक दलाल पुँजीवादको पहिलो विशेषता भनाइमा समाजवाद गराइमा दलाल पुँजीवाद, तर्कमा समाजवाद कर्ममा दलाल पुँजीवाद हुनु हो । यसले आफ्नो भाषण, प्रचार, लेखमा समाजवादको उल्लेख गर्छ तर यसको सम्पूर्ण जीवनव्यवहार र कामकार्य दलाल पुँजीवादी चरित्रको हुन्छ । यिनीहरूले समाजवादको प्रचार मात्र गर्छन्, काम सबै पुँजीपति, दलाल पुँजीपति र नोकरशाही पुँजीपति वर्गको गर्छन् । उनीहरूकै सत्तामा जुठोपुरो चाटेर सरकार चलाएको नाटक गर्छन् । मजदुर— किसानलाई समाजवादका नाममा ठग्नु र पुँजीपति वर्गलाई सेवा पुर्याउनु यही हो दलाल पुँजीवादी प्रवृत्तिको विशेषता !

यसको दोस्रो विशेषता भनेको सारमा समाजवाद त्याग्नु र रूपमा समाजवादको नाम लिनु हो । यो अनौठो छ– जनताले समाजवाद मनपराउने र साथ दिने तर नेतृत्व भनिनेहरू समाजवादबाट भाग्ने तर जनताबाट फाइदा उठाउन समाजवादको प्रचार गरेर खाने । यस प्रवृत्तिलाई लेनिनले संशोधनवादमा संश्लेषण गरेर व्यापक भण्डाफोर पनि गर्नुभयो । नेपालमा पनि ती बर्नस्टिन, मिलेराँ, सिदेमान, ज्योति बसुहरूको नयाँ संस्करणमा केपी—प्रचण्डहरू देखापरेका हुन् तर यी व्यक्तिहरू नेपाली जनताका लागि केही नयाँ छन् । सिद्धान्ततः यिनले वैज्ञानिक समाजवाद त्यागिसकेका छन्, सर्वहारावर्गको नेतृत्व, समाजवादी क्रान्ति, सशस्त्र क्रान्ति, वैज्ञानिक समाजवाद सबै छोडिसकेका छन् तर जनताको कम्युनिस्ट एवम् समाजवादमोहका कारणले गर्दा बाहिर समाजवादकै प्रचार गरिरहेका छन् ।

सामाजिक दलाल पुँजीवादको तेस्रो विशेषता समाजावादको नाम लिएर वास्तविक समाजवादी क्रान्तिलाई अवरोध गर्नु रहेको छ । समाजमा सामान्यतः दुई वर्ग, दुई सत्ता र दुई विचार रहँदासम्म समाजवाद र पुँजीवादका बीचमा सङ्घर्ष चलिरहन्छ । दुई वर्गबीचको सङ्घर्ष कहिले सामान्य र कहिले उग्र रूपले चल्छ । वर्गसङ्घर्ष कुनै पनि बेला सशस्त्र क्रान्तिमा परिणत हुनसक्छ । त्यसलाई कसैले पनि रोक्न सक्दैन तर केपी— प्रचण्डहरूले समाजवादकै नाममा सरकार चलाएको हल्ला मच्चाएपछि थोरै भए पनि पुँजीवादलाई राहत प्राप्त भएको अनुभव भएको छ । पुँजीवादविरुद्धको सङ्घर्ष सीधा पुँजीवादसँग जति तीखो र तीव्र बन्छ समाजवादकै नामधारीहरू अगाडि आएमा स्वभावतः केही न केही कठिनाइ जनतामा पैदा हुन्छ । त्यसैले यिनीहरूलाई पुँजीवादी र दलालहरूले प्रयोग गरेर समाजवादका विरुद्ध समाजवाद भन्ने बनाइदिन कोसिस गर्न सक्छन् ।

सामाजिक दलाल पुँजीवादको चौथो विशेषता प्रचारमा समाजवादी भन्दै जनतालाई दलाल पुँजीपतिवर्गको उत्पीडनभित्र घिसार्नु हो । दलाल पुँजीवाद सार र रूप दुवै दृष्टिले राष्ट्र र जनताका विरुद्ध रहेको हुन्छ । यसले देशलाई न प्रगतिशील पुँजीवादतिर जान दिन्छ, न त परम्परागत सम्बन्धमा नै रहन दिन्छ । एकातिर पुँजीवादी उत्पादन सम्बन्धको विकासलाई रोकिदिन्छ भने अर्कोतिर एकाधिकार र निगम पुँजीपतिवर्गसँग मिलेर जनतालाई उपभोग्य बजारका लागि मात्र प्रयोग गर्छ । बजार उपभोगका दृष्टिले पुँजीवादमा पाइने सबै सुविधा र सामग्रीहरू उपलब्ध हुन्छन् तर उत्पादनमा पूरा रूपले एकाधिकार एवम् निगम पुँजीपतिवर्गमाथि निर्भर गरिदिन्छ जसले गर्दा देशभित्र पुँजी उत्पादन नभएर बेरोजगारी, गरिबी, दलालीकरण, परनिर्भरता पराकाष्ठामा पुग्छ । उता पुँजीवादी उत्पादनका वस्तुहरू अनियन्त्रित प्रकारले हुलिएर आइपुग्दा विभिन्न तरिकाले कमाएको (विदेशमा गएर कमाएको रकम पनि एउटा ढोकाबाट छिरेर अर्को ढोकाबाट बाहिरिन पुग्छ । जनताको जीवनमा गुणात्मक सुधार र समृद्धि असम्भव बन्न पुग्छ । यिनीहरूले नेपाली श्रमिक वर्ग मजदुर—किसान, दलित, जनजाति, मधेसी, महिलाहरूलाई झुक्याउन कम्युनिस्टको नाम राखे पनि सारमा आफूलाई पुँजीपतिवर्ग र देशलाई दलाल पुँजीपति वर्गको लुटिखाने भाँडोमा परिणत गरिसकेका छन् । उनीहरूले अवैध तरिकाले आर्जन गरेको सम्पत्ति कैयौँ पुराना व्यावसायिक पुँजीपतिहरूको भन्दा पनि माथि पुगिसकेको छ । केपी—प्रचण्डहरूले आफूलाई सर्वहारा वर्गको नेताबाट दलाल पुँजीपति वर्गको प्रतिनिधिमा बदल्न पुगेपछि नेपालले दलाल पुँजीवादको भयानक उत्पीडन र लुट झेल्नुपर्ने बाध्यता खडा भएको छ । यसबाट पुराना पुँजीपतिहरूसमेत असन्तुष्ट देखिन्छन् ।

सामाजिक दलाल पुँजीवादको पाँचौँ विशेषता कम्युनिस्ट र समाजवादको नाम लिँदै क्रान्तिकारीहरूमाथि दमन गर्नु रहेको छ । उनीहरू थोरै मात्र पनि कम्युनिस्ट हुन्थे भने जनताको अधिकार, देशको स्वाधीनता, जनताका दैनिक उपभोग्य वस्तुको सुविधा र सामाजिक सुरक्षाका विषयमा आवाज उठाउँदा आफ्नै टाउकोमा हानेको जस्तो गर्नुपर्ने र निर्मम दमनमा उत्रिनुपर्ने कुनै जरुरी हुँदैन । दशकौँदेखि सत्ताको शक्ति प्रयोग गरेर जनता र देशका विरुद्ध अपराध गर्ने दलाल, नोकरशाह, भ्रष्ट, तस्कर, सुदखोरविरुद्ध कारबाही गर्दा रिसाउनुपर्ने र उनीहरूको रक्षाका लागि दमनमा उत्रिनुपर्ने कुनै आवश्यकता थिएन । तर केपी—प्रचण्डको सरकार हाम्राविरुद्ध दमनमा उत्रिरहेको छ । यसले स्वतः स्पष्ट गर्दछ– यो सरकार सामाजिक दलाल पुँजीपति वर्गको हो ।

छैटौँ विशेषता भनेको कम्युनिस्ट सरकारको नाम लिएर आफ्नो सुखसुविधा र कुर्सी रक्षाका लागि देशको स्वाधीनतालाई बेच्नु र साम्राज्यवादको दलाली गर्नु रहेको छ । क्रान्तिकालमा बडो चर्को ढङ्गले राष्ट्रिय स्वाधीनता र मुक्तिको माग गर्ने, त्यसलाई प्रस्ताव बनाएर प्रचार गर्ने, अरू सबैलाई दलाल र अनुचर देख्ने उनीहरू संसदीय व्यवस्था स्वीकार गर्दै सरकारमा पुगेपछि एमाले बहुदलकालदेखि र प्रचण्ड ०६४ पछि साम्राज्यवादी शक्तिको दलालमा पतन हुन पुगेका छन् । उनीहरूले विगतका राष्ट्रघाती सन्धिसम्झौता खारेज गर्ने त धेरै परको कुरा भयो आफैँले राष्ट्रघाती सम्झौताहरू थोपर्न र लाद्न पुगेका छन् । सामान्य जनताले पनि बुझ्ने गरी महाकाली, कर्णाली र अरुण नदीहरू बेच्न पुगेका छन् । बिप्पादेखि बन्दी सुपुर्दगी सन्धिहरू गर्न पुगेका छन् । अहिले कुर्सी जोगाउन, आफ्नो हातमा कुर्सी पार्न कति चाकरी, गुलामी र दलाली बजाएका छन् भन्ने अब कसैका सामु छिपेको छैन । यी मुख्य विशेषताहरूले गर्दा केपी—प्रचण्डहरू कम्युनिस्ट होइनन्, सामाजिक दलाल पुँजीपति हुन् र यो सरकार सामाजिक दलाल पुँजीवादी सरकार हो भन्ने सत्य साबित हुन्छ ।

नेपालमा वैज्ञानिक समाजवादी सत्ता (नयाँ जनवादी सत्ता) को अनुभव

वैज्ञानिक समाजवादी सत्ता राजनीतिक, आर्थिक, न्यायिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, विकास निर्माण साराका दृष्टिले पुँजीवादी—दलाल पुँजीवादी सत्ताभन्दा गुणात्मक रूपमा नै फरक हुन्छ भन्ने हाम्रो कुनै तर्क वा अनुमानको विषय मात्र किमार्थ छैन । सैद्धान्तिक एवम् सम्पूर्ण सत्ताका हिसाबले अन्तर्राष्ट्रिय अनुभवहरू हाम्रा आधारहरू भए पनि व्यावहारिक दृष्टिले हामीले महान् नयाँ जनवादी क्रान्तिकालमा सञ्चालन गरेका स्थानीय जनसत्ता र आधारइलाकीय सत्ताहरूका प्रत्यक्ष अनुभवहरू छन् । ती सामान्य खालका नभएर नेपाली इतिहासकै उच्चतम अभ्याससँग जोडिएका छन् ।

राजनीतिक दृष्टिले जनसत्ताहरू वर्गीय चरित्रका थिए भने सत्ताहरूमा श्रमिक जनताको सहभागिता पूराका पूर थियो । बिनाकुनै कानुनी औपचारिकता, कुनै दबाब र हस्तक्षेपबिना नै जनसत्तामा मजदुर, किसान, महिला, दलित, जनजातिहरूको सहभागिता अनुकरणीय र अनुपम थियो । विश्वभर र नेपालमा संसद्वादी हुल्लडबाजहरूले गर्ने अनेकौँ रङ्गीचङ्गी प्रचार (समानुपातिक, समावेशी, आरक्षण, संरक्षण आदि) भन्दा जनयुद्धमा गठन भएका जनसत्ताहरूमा सुन्दर र स्वभाविक प्रतिनिधित्व थियो । समाजमा सबैभन्दा दबेका श्रमिक जनताहरू जनसत्ता सञ्चालनमा अगाडि आएका थिए । कुनै उत्पीडित वर्ग—समुदाय—महिलाको गुनासो थिएन । सदीयौँदेखि समाजमा कब्जा जमाएर सत्ता चलाइरहेका सामन्त, जमिन्दार, जालीफटाहा, सुदखोर, मुखिया, जिम्बावाल, साहु–महाजनहरूको शासन अन्त्य भएको थियो । दलाल पुँजीपति वर्गको हालत सहरका चौघेरा र उद्योगका बारबन्धनभित्र घेरामा परेको मुसाको जस्तो बन्दै थियो ।

आर्थिक दृष्टिले दलाली, सूदखोरी, चक्रवृत्ति ब्याज असुली, चर्को ब्याज समाप्त भएको थियो । किसानहरूमाथि लादिएका ऋणहरू खारेज गरिएका थिए र सबै करहरू समाप्त गरिएका थिए । जनता र राज्यको साझा स्वामित्वमा नयाँ उद्योग, फारम, सहकारी, व्यापार, उत्पादनहरू सुरु भएका थिए । कपडा, साबुन, कागज, कृषि उद्योगहरू सञ्चालन भएका थिए । जनतामाथिको शोषण अन्त्य भएपछि जीवनस्तर माथि उठ्न थालेको थियो । गाउँगाउँमा व्यापार बढ्दै गएको थियो । जाँडरक्सी नियन्त्रण गरेका कारण प्रायः परिवारलाई खान पुग्ने भएको थियो । एउटा एकदमै नौलो विषय जनयुद्ध र जनसत्ताका कारण आधारक्षेत्रका जनताको आर्थिक आयमा वृद्धि भएको थियो । कृषिमा कम्युन र सहकारीहरू धमाधम सफल हुँदै विस्तार भइरहेका थिए । नागरिकहरूमा निजी परिवारबाट कम्युनमा जान होडबाजी चलेको थियो ।

जनसत्ताहरूभित्र जनताका लागि न्यायिक सेवा निष्पक्ष, सर्वसुलभ र छिटोछरितो खालको थियो । कुनै पनि मुद्दामा जनताले अन्यायमा परेको अनुभूति गर्नुपरेको थिएन । गरिब जनताको हितलाई ध्यानमा राखेर जनअदालतहरूले कानुनी एवम् न्यायिक सेवा उपलब्ध गराइरहेका थिए । कैयौँ बेलामा घुम्ती जनअदालतसमेत सञ्चालन गरिन्थे । मुद्दामा फैसला हुँदा अन्याय परेको महसुस हुने कुनै पनि पक्षलाई सहज ढङ्गले अपिल गर्न पाउने सुविधा दिइएको थियो । अपराध साबित भएका अभियुक्तहरूलाई पनि जीवन रूपान्तरण गर्ने उद्देश्य राखेर व्यवहार गरिन्थ्यो । बन्दीहरू प्रायः अपराधको सजाय कटाइसकेपछि पार्टीमै भर्ती भएका उदाहरण पनि छन् । कैयौँ मुद्दाहरू प्रतिक्रियावादी सत्ताका अदालतहरूले फैसला गरेकालाई सत्यतथ्यका आधारमा उल्ट्याएर न्याय दिएका साथै उताका अदालतमा चलिरहेका मुद्दाहरूसमेत छोडी जनअदालतमा आएर न्याय पाएका उदाहरणहरू पनि प्रसस्त छन् । यिनै कारणले गर्दा नै जनअदालत निकै लोकप्रिय भएको पनि जगजाहेर नै छ ।

जनसत्ता चलेका ठाउँहरूमा सामाजिक अपराधहरू प्रायः अन्त्य भएका थिए । धामीझाँक्री, भूतप्रेत, बोक्साबोक्सी, दैवभगवान्जस्ता अन्धविश्वासहरू तीव्र रूपले हट्दै गएका थिए । अन्धविश्वासका कारण महिला र गरिबवर्गमा हुने हिंसाहरू अन्त्य हुँदै गएका थिए । कुनै आपराधिक घटना भए पनि केही घन्टामै नियन्त्रणभित्र आइपुग्थे । समाजमा जुवातास, गुन्डागर्दी, चोरीडकैती, बेस्यावृत्ति बन्द भइसकेका थिए । जाँडरक्सी, बलात्कार, आवारागिरी नियन्त्रणभित्र थिए । जनता र जनसत्तालाई जनमिलिसियाले गाउँगाउँमा सुरक्षा दिने गरेको थियो । जनतालाई घुमफिर र व्यापारव्यवसायमा कुनै समस्या थिएन ।

सांस्कृतिक रूपले गाउँगाउँमा जनवादी संस्कृतिको आरम्भ भएको थियो । सरल, सरस, भद्र, शिष्ट जनवादी संस्कृतिको विकास भएको थियो । छाडा, अश्लील, पुँजीवादी, व्यक्तिवादी, स्वार्थी, नाङ्गो संस्कृतिको अन्त्य भएको थियो । नागरिकहरूमा आत्मनिर्भर हुने, श्रम, शिक्षामा मेहनत गर्ने, गाउँका अगुवा र पाकाहरूलाई माया र सम्मान गर्ने, अपाङ्ग, असहायहरूलाई काममा सघाउने, सहिद परिवार, बेपत्ता परिवार, घाइते, कार्यकर्ता परिवारलाई सरसहयोग गर्ने, खानालाउनमा आत्मीयता प्रदर्शन गर्ने गरिन्थ्यो । जनसंस्कृति सम्भवतः इतिहासमै नयाँ सुरुआत थियो ।

जनसत्ता चलेका ठाउँहरूमा शिक्षा र स्वास्थ्यको अवस्था पनि निकै स्तरीय हुँदै गएको थियो । जनसत्ताले आमसुधार र आमूल परिवर्तनका नीतिहरू सञ्चालन गरिरहेका थिए । एकातिर जनवादी स्कुलमा आफैँले पाठ्यक्रम बनाएर वैज्ञानिक शिक्षा सुरु गरेको थियो भने अर्कोतिर सरकारी स्कुलहरूको पनि नियमित अनुगमन गर्ने भएकाले शिक्षकहरूले आफ्नो पठनपाठन राम्रो गरिरहेका थिए र परीक्षा परिणाम पनि राम्रो हुँदै थियो । किशोर र युवा विद्यार्थीहरू प्रायः सबै क्रान्तिकारी विद्यार्थी आन्दोलनमा आबद्ध भएकाले गाउँगाउँमा एउटा छुट्टै जागरण र अनुशासन विकास हुँदै थियो ।

जनसत्ताअन्तर्गत जनप्रशासन पनि गाउँगाउँमा उपलब्ध थिए । आर्थिक कारोबार, सम्पत्ति बेचबिखन, लेनदेन गाउँ जनसत्ताभित्र जनप्रशासनले गथ्र्यो । जनतालाई सर्वसुलभ प्रकारले सुविधा प्रदान गरिएको थियो । त्यसैगरी विकास निर्माणका कार्य पनि जनसत्ताले आफ्नै आवधिक योजना र पहलमा अगाडि बढाएका थिए । बाटोघाटो, पुलपुलेसा, स्कुल, अस्पताल, खानेपानी, शौचालयका कार्यक्रमहरू व्यापक रूपमा अगाडि बढाइएका थिए । जनताले आफ्नो विकास आफैँले गर्ने चेतनाको विकास गरेका थिए ।

जनयुद्ध एकपछि अर्को उच्च तहमा विकास र विस्तार हुँदै जाँदा माओवादी र श्रमिक जनतामा त्याग, बलिदानको चिन्ताभन्दा विजयको अभिलाषा अधिक थियो । हरेक क्रान्तिकारीले बलिदानमा गर्व र गल्तीमा दुःख मान्ने अवस्था आएको थियो । ८० प्रतिशत भूभागमा जनसत्ताहरू विस्तार हुँदै गर्दा र विजयको वातावरण बन्दै गर्दा सारा नेपाली श्रमिक जनतामा नयाँ भविष्यप्रति ठूलो आशा र विश्वास जागेको थियो । आफूले क्रान्तिमा जति नै दुःख पाए पनि नयाँ पुस्ता र आफ्ना सन्ततिले नयाँ, सुन्दर समाजवादी जीवन पाउनेछन् भन्ने विश्वास बनेको थियो । विडम्बना प्रचण्डहरूको गद्दारी अकल्पनीय रूपले क्रान्ति र जनताका सामु आइलाग्यो । उनीहरू जनताका लाखौँ आँखाहरूमा विध्वंसको चट्याङ झार्दै, स्तब्ध र विक्षिप्त पार्दै दुस्मनहरूसँग भासिन पुगे । जनताको यो हलहलाउँदो आशामा बन्चरो बजारेजस्तो भयो । एकप्रकारले महाविपत्ति आइलाग्यो ! आज यिनै तत्वहरू दलाल पुँजीवादको तरमार्दै जनतालाई महामूर्ख बनाउन समाजवादको नारा ओकलिरहेका छन् । हेर यो कस्तो दुःखान्त प्रहसन !

सामाजिक दलाल पुँजीवादको भविष्य

सामाजिक दलाल पुँजीवादीहरूको सोचाइ र जीवन, भनाइ र गराइ, तर्क र व्यवहार असाध्य अन्तर्विरोधी र विरोधाभासपूर्ण रहेको छ । उनीहरू श्रमिक जनताको साथ र समर्थनका लागि कम्युनिस्ट र समाजवादी बन्नुपरेको छ तर आफ्नै विचलन र पुँजीवादीहरूको दबाबका कारण दलाल पुँजीवादी बन्नुपरेको छ । उनीहरूले समाजवादको नाराभित्र पुँजीवादको वैभवशाली जीवन भोग्नु छ । जुन जीवन त्रासले भरिएको विलासी जीवन हो । उनीहरू जनताको दृष्टिमा कम्युनिस्ट र समाजवादी देखिनु छ तर जीवन पुँजीवादीवर्गको भन्दा पनि भद्दा र विलासी भोग्नु छ !

उनीहरूले यो अन्तर्विरोधलाई छोप्न अनेकौँ गलत कर्महरूको सहारा लिन बाध्य हुनुपर्छ । उनीहरूले जनताका आवाजहरूलाई निर्ममतापूर्वक कुल्चँदै जानुपर्छ । क्रान्तिकारीमाथि क्रूर दमन गर्दै जानुपर्छ । जनजीवन दैनिक सामाजिक अपराधीहरूको घेराबन्दीमा पर्दै जान बाध्य छ । न्याय र मुक्ति खोज्ने श्रमिक जनता र क्रान्तिकारीहरूमाथि दमन व्यापक बन्दै जानेछ । राष्ट्रघात दिनप्रतिदिन चुलिँदै जानेछ । विदेशी शक्ति केन्द्रका सामु दलाली अरू बढेर जानेछ । देश अरू टाटपल्टिएर जानेछ भने जनता अरू गरिब र कङ्गाल बन्दै जानेछन् । यसले स्वाभाविक रूपमा सामाजिक दलाल पुँजीवाद जनताको आँखामा नाङ्गिँदै र कमजोर हुँदै जान बाध्य हुनेछ । उनीहरू जति नाङ्गिँदै जानेछन् त्यति नै श्रमिक जनता जागृत हुँदै जानेछन् र वैज्ञानिक समाजवादी क्रान्तिका पक्षमा नयाँ वातावरण बन्दै जानेछ । सार कुरा उनीहरूकै आन्तरिक भएकाले यो लामो समय जान सम्भव छैन ।

क्रान्तिकारीको सङ्घर्ष र श्रमिक जनताको समर्थनले सामाजिक दलाल पुँजीवादविरोधी सङ्घर्ष एकपछि अर्को उचाइतिर अगाडि बढ्दै गएको छ । यो अझै व्यापक भएर जानेमा कुनै द्विविधा छैन । अर्कोतिर सामाजिक दलाल पुँजीवादले क्रान्तिका विरुद्ध अरू दमनात्मक र नरसंहारकारी रबैया अपनाउन सक्छ तर उनीहरूविरुद्धको क्रान्तिकारी सङ्घर्ष झन् शक्तिशाली र व्यापक भएर उठ्नेछ । उनीहरू जनताको बीचमा विगतका तानाशाही र फासिवादी शासकभन्दा पनि बदनाम र कमजोर भएर जानेछन् । सामाजिक दलाल पुँजीवादका विरुद्ध सर्वहारा श्रमिक जनताको मात्र होइन, सारा क्रान्तिकारी, वामपन्थी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूको एकता कायम हुनेछ । दलाल पुँजीवादका विरुद्ध नयाँनयाँ संयुक्त मोर्चाहरू सतहमा खुल्दै जानेछन् । त्यसको प्रभाव राजनीतिक शक्तिहरूमा मात्र होइन, सारा बुद्धिजीवी, समाजसेवी, कर्मचारी, सुरक्षा शक्तिमा पनि पर्न पुग्नेछ । एकातिर दलालहरू, अर्कोतिर अरू सबै शक्तिहरू उभिन पुग्ने अवस्था बन्नेछ र वैज्ञानिक समाजवादी क्रान्ति सफल हुनेछ । केपी—प्रचण्डले लिएको संशोधनवादी मार्गले त्यही हविगत बेहोर्नेछ जुन हविगत महान् अक्टोबर क्रान्तिपछि बर्नस्टिन, काउत्स्की, ब्राउडर र खु्रस्चोभहरूले बेहोर्नुपर्यो । अर्थात् संशोधनवाद परास्त हुनेछ र वैज्ञानिक समाजवाद नेपाली जनताको भविष्यमा बदलिनेछ ।

निष्कर्ष

सर्वहारावर्गको अधुरो क्रान्तिले दलाल पुँजीपति वर्गलाई सत्तासीन बनाइदिन पुग्यो । दशकौँदेखि सामन्तवर्गसँग सत्ता साझेदारीमा बसेर अजिङ्गरले जस्तो मौकाको ताकमा मुख बाएर बसेको दलाल पुँजीपति वर्गले राजनीति, अर्थतन्त्र, संस्कृति, सामाजिक सबै क्षेत्रलाई लपेटामा पार्दै राज्यमाथि प्रभुत्व कायम गरेको छ । तर दलाल पुँजीपति वर्गले आफूले सोचेको जस्तो परम्परागत वंशजभन्दा फरक कम्युनिस्ट सिद्धान्तलाई थेग्न नसकेर पतन हुन पुगेको नयाँ र पतीत दलाल वर्गलाई आफ्नो प्रतिनिधि बनाएर एउटा बोझका रूपमा जबरजस्त बोक्नुपरेको छ ।

केपी—प्रचण्ड वास्तविकतामा प्रतिक्रियावादी पुँजीवादी सत्तासँग आत्मसमर्पण गरिसकेका, नाममा कम्युनिस्ट तर सारमा दलाल पुँजीवादी तत्वहरू नै हुन् जसलाई हामीले सामाजिक दलाल पुँजीवादी भनेका छौँ । क्रान्तिबाट हरेस खाएर काठमाडौँका आलिसान महलमा पसारिन पुगेका केपी—प्रचण्डहरूले क्रान्तिका सारा दाह्रानङ्ग्रा झारिसकेको निरीह जीवनबाट समाजवादतिरको यात्रा गर्लान् र देशलाई वैज्ञानिक समाजवादी सत्तासम्म पुर्याउलान् भन्ने कल्पना कसैले पनि गर्नु हुँदैन । यिनीहरूले समाजवादको प्रचार गर्दै केवल सरकारको रसास्वादन मात्र गर्ने हुन् । केपी—प्रचण्डले समाजवादको प्रचार गर्नु भनेको दलाल पुँजीवादविरोधी परिवर्तनकारी जनमतलाई घुमाइफिराइ दलाल पुँजीवादकै मेसिनभित्र पेल्नु र श्रमिक वर्गलाई भयानक भ्रममा डुबाउनु मात्र हो ।

नामका समाजवादी, कामका पुँजीवादीले यहाँ मात्र होइन, माक्र्स—एङ्गेल्सलाई पनि निकै सताएका थिए । उहाँहरूको निधनपछि त झन् लेनिनलाई हैरान नै पारेको थियो । यो निच प्रवृत्तिले वैज्ञानिक समाजवादका लागि भीषण सङ्घर्ष सञ्चालन गरिरहनुभएका लेनिनलाई माक्र्सवादी नभएको एक तानाशाह र महत्वाकाङ्क्षी मान्छे भएको आरोप लगाएका थिए । लेनिनका विरुद्ध दोस्रो अन्तर्राष्ट्रलाई नै कब्जा गरेर दुरूपयोग गरेका थिए । उनीहरूले साम्राज्यवादीहरूसँग घाँटी जोड्दै लेनिनमाथि गोली प्रहार गरे भने जर्मनका क्रान्तिकारी नेता रोजा लक्जेम्वर्गहरूलाई हत्या नै गर्न पुगे । लेनिनपछि माओलाई पनि यी तत्वहरूले हदैसम्म सताए । माओलाई उल्टो विश्व–कम्युनिस्ट आन्दोलनमा फुट पार्न खोजेको, विश्वका श्रमिकहरूलाई युद्धमा होमेर विनाश गर्न खोजेको आरोप लगाए । टाढाको कुरा किन यही नजिकै भारतमा क्रान्तिकारी चारु मजुम्दारहरूलाई प्रतिक्रियावादी शासक इन्दिरा गान्धीको अघिअघि लागेर हत्या गर्न पुगेका थिए तर मालेमावादी वैज्ञानिक समाजवाद—साम्यवादको विचार, सिद्धान्तसामु यी कुनै पनि विचलनकारी समाजवादहरूको जोर चलेन । यी उदाउने र अस्ताउने गरिरहे तर वैज्ञानिक समाजवाद भने आफ्नो यात्रामा अनवरत विजयी बन्दै अगाडि बढिरहेको छ ।

यतिबेला नेपालमै हेरौँ न हाम्रो पार्टीमाथि शान्ति भाँड्न खोजेको, पुनः क्रान्ति गर्न खोजेको, उग्रवादी, अतिवादी बाटो हिँडेको भन्दै हिंसात्मक दमन गरिरहेका छन् । यिनीहरूले हाम्रो पार्टी र क्रान्तिबाट कथित लोकतन्त्रलाई खतरा पुगेको भन्दै त्यसको रक्षा गर्नुपर्ने पागलप्रलाप गरिरहेका छन् । यी वास्तवमा त्यस्तै अपराधी मानसिकता बोकेका समाजवादी भएका छन् जसले जर्मन, रुस, चीन, भारतसम्म सर्वहारा श्रमिक वर्गको रगतमा होली खेलेका थिए र रक्तपिपासु पुँजीवादी सत्ताको रक्षार्थ चीरस्मरणीय योगदान गरेका थिए ! तर यहाँ पनि केपी—प्रचण्डहरूको सामाजिक दलाल पुँजीवाद एक पानीको फोकामा परिणत हुनेमा कुनै शङ्का छैन ।

सामाजिक दलाल पुँजीवाद नेपाली अर्थराजनीतिक सम्बन्धको विशिष्ट उपज हो । सारमा बर्नस्टिन, काउत्स्की, ख्रुस्चोभ, बेडमेयर, ज्योति बसु, मनमोहनकै मार्ग भए पनि रूपमा केपी—प्रचण्डको समाजवादका नाममा देखापरेको छ । यसको रूप कम्युनिस्टको भए पनि सार दलाल पुँजीवादभन्दा पर छैन । अझ त कम्युनिस्ट नामले गर्दा भ्रामक र घातक छ । यसको विशेषताहरूबारे माथि चर्चा गरिसकिएको छ ।

इतिहासको नियमले के साबित गर्छ भने वास्तविक विचार, दृष्टिकोणबाट विचलित भएका तत्वहरूले जति नै भ्रम पार्न र रोक्न खोजे पनि वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको गतिले वास्तविक क्रान्तिकारी शक्तिलाई नेतृत्वदायी मञ्चमा उकालिदिन्छ । भयङ्कर लाग्ने सङ्घर्षका बीचबाट क्रान्तिको नेतृत्व विकास हुन पुग्छ र क्रान्तिलाई सही मार्गमा अग्रसर गराउँदै विजयतर्फ डोर्याउँछ । केपी—प्रचण्डहरूले जसरी उनीहरूको साँठगाँठपछि क्रान्तिको दियो निभाउन र कम्युनिस्टका नाममा रजाइँ गर्न पाइएला भन्ने सपना देखेका थिए त्यो सदाका लागि समाप्त भएको छ । वैचारिक राजनीतिक सङ्घर्ष र नेपाली श्रमिक जनताको आत्मीय मायाबाट नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्व नेपाली क्रान्तिको निर्विकल्प विकल्प बनेर अगाडि आइसकेको छ ।

राजनीतिक इतिहासको अर्को पनि शिक्षा छ– जसले आफ्नो निच स्वार्थका लागि जनताको परिवर्तनकारी चाहना र परिवर्तनकारी मार्गमा बाधा पुर्याउँछ । अन्ततः ऊ नै जनताको बीचबाट नाङ्गेझार भएर सदाका लागि समाप्त हुन पुग्छ । जनताको समर्थन र क्रान्तिकारीहरूको विवेकपूर्ण पहलमा क्रान्तिको आँधीबेहरीले सबै बाधक तत्वहरूलाई कुडाकर्कटको खाल्डोमा मिल्काइदिन्छ । विश्वका सबै क्रान्ति, विद्रोह र परिवर्तनहरूमा यही सत्य लागू भएको छ । नेपालमा पनि यही सत्य दोहोरिने पक्का छ ।

अन्त्यमा भन्दा वैज्ञानिक समाजवाद वैज्ञानिक समाजवाद नै हो । यसमा विचलनकारी तत्वहरूले अनेकौँ रङ घोल्न खोजे पनि यसको सक्कली रङद्वारा नक्कली रङहरूलाई काटिदिएर आफ्नो गुण बचाइछोड्छ । जोसुकैले आआफ्नो टाउकोमा समाजवादको टोपी लगाए पनि वैज्ञानिक समाजवादको आफ्नै सक्कली वर्गदृष्टिकोण र चरित्र छ । त्यसले विजातीय तत्वहरूलाई आफूभित्र बच्न र विजयी हुन दिँदैन । उनीहरू वैज्ञानिक समाजवादको धारमा रेटिन र समाप्त हुन बाध् हुन्छन् । ढिलोचाँडो नेपाली खु्रस्चोभहरू पनि वर्गसङ्घर्षको प्रवाहमा उचालिँदै– पछारिँदै, ठोकिँदै बिलाएर जाने निश्चित छ । वैज्ञानिक समाजवाद—साम्यवाद मानव दुनियाँ रहेसम्म नयाँनयाँ उचाइमा विकास गर्दै हजारौँ वर्षपछि पनि प्रज्वलित भएर बाँचिरहनेछ । त्यसैले केपी—प्रचण्डको संशोधनवादी समाजवाद—संसदीय समाजवाद वा सामाजिक दलाल पुँजीवादको भ्रममा कोही नपरौँ । वैज्ञानिक समाजवादका लागि समाजवादी क्रान्ति, एकीकृत जनक्रान्तिमा दत्तचित्तका साथ लागिपरौँ ।


(२०७६ मंसिर ४, बुधबार) ०९:०९ मा प्रकाशित

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro