चोरीको गाडीसहित आदित्य ट्रान्सपोर्टका दुई संचालक पक्राउ

भारतबाट चोरी गरेर ल्याइएको गाडीबाट काठमाडौँ नयाँबजारमा आदित्य ट्रान्सपोर्ट सञ्चालन गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आदित्य ट्रान्सपोर्टका संचालकहरु काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढालाई कलङ्कीबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार, उनीहरुबाट बा २१ च ८७१४ र बा १८ च ३१३८ नंको स्कर्पियो तथा बा ११ च ९७९४ नंको निजी कार बरामद गरिएको छ । उनीहरुले काठमाडौँ नयाँबजारस्थित आदित्य ट्रान्सपोर्ट सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ ।
(२०७६ कार्तिक २९, शुक्रबार) १७:०६ मा प्रकाशित