चीनले भारतद्वारा मिचिएको नेपाली भुमि लिपुलेक बारे बोलेन, भारतसंगको सिमा विवाद वार्ताबाट समाधान गर्न सुझाव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २९, शुक्रबार) ११:२४

नेपाली भुमि दार्चुला जिल्लाको लिपुलेक, कालापानीलगायतका भूभाग आफ्नो क्षेत्रमा पारेर भारतले हालै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालम भारतको त्यस कदमको चौतर्फी बिरोध भैरहेको छ।  तर भारतसंग नेपाली भुमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गरेको चीनको काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले नेपाली भुमि लिपुलेक बारेमा नबोलेको संचार माध्यमहरुले जनाएका छन् ।

चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले नेपाली भूमि चीनले अतिक्रमण नगरेको प्रष्टीकरण दिंदै कालापानीको विवाद भने नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा जोड दिएको समाचार सार्वजनिक भएको छ ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता वाङले “नेपाल र चीनले १९६१ मा सीमासन्बन्धी सन्धिमा हस्ताक्षर गरेको र त्यही सन्धि अनुसार सिमा कायम रहेको” दाबी गरे।  उनले अघि भने, ‘सीमाका विषयमा सहकार्य थप मजबुत बनाउन र बाह्य हस्तक्षेप आउन नदिन चिनियाँ पक्ष तयार छ ।’ तर लिपुलेकबारे भने बोलेनन् । चीन र भारतले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गर्दा नेपालले यो त्रिदेशीय विन्दु भएको भन्दै विरोध गरेको थियो ।

नेपाल भारत बिचको सिमा विवाद वार्ता र आपसी समझदारीबाट समाधान गर्न सुझाव दिएको उत्तरी छिमेकी चीनसंग नेपालको मुलत: दुई स्थानमा सिमा विवाद रहेको छ।

नेपाल-चीन बिचको सिमा विवाद 

नापी विभाग महानिर्देशक प्रकाश जोशीले नेपाल चीन बीच मुलत: दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनले सगरमाथाको उचाई, दोलखामा पर्ने ५७ नम्बर पिलरमा समस्या रहेको जानकारी दिए ।

नेपाल र चीनको सगरमाथाको उचाइबारे पनि एकमत छैनन्। सगरमाथाको उचाइबारे पनि समस्या छ। १२ ठाउँबाट नापेर चीनले यसको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको बताएको थियो। चीनकै मापनलाई नेपाल र अन्तर्राष्ट्रिय जगत्ले मान्यता दिएको थियो। अहिले चीनले नै उक्त मापन सही नभएको बताएको छ। चीनले सन् २००५ पछि सगरमाथाको उचाई ८ हजार ८ सय ४४ मिटर भन्न थालेको छ।

नेपाल–चीन सीमाका अन्य ठाउँमा सामान्य विवाद छन् भने झण्डै आधा दर्जन सीमा स्तम्भ बेपत्ता भएका छन्। नेपाल–चीन सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ। पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ बनाइएका छन्। तीमध्ये सन् २००५ मा भएको सुपरीवेक्षणमा ३७, ३८, र ६२ नम्बरका स्तम्भ भेटिएका थिएनन्।

३७ र ३८ नम्बर स्तम्भ गोरखाको तोम खोलामा पर्छ। त्यहाँ सन् १९७८ मा सीमांकन हुँदैदेखि स्तम्भ भेटिएको थिएन। सोलुखुम्बुको नाम्पा भञ्ज्याङमा रहेको ६२ नम्बरको स्तम्भ पनि छैन। ६२ नम्बर पिलरपछि भेटिएको नापी विभाग स्रोतले बताएको छ।

ठूलो समस्याचाहिँ ५७ नम्बर स्तम्भमा छ। दोलखाको लामाबगर पूर्वपट्टिको कोर्लाङपारिको टुप्पोमा हुनुपर्ने स्तम्भ पहाडको फेदमा छ। सन् १९७८ सीमांकन गर्न जाँदा उक्त स्तम्भ नभेटिएको सीमाविद् पूण्यप्रसाद ओलीले बताए।

भारतले नेपालको ६१ हजार हेक्टर जमिन मिच्यो 

यसैबीच प्राप्त जानकारी अनुसार, नेपाल भारत बीच सिमा जोडिएका २६ मध्ये २३ जिल्लाका कालापानी र लिपुलेकसहित ७१ स्थानमा विवाद छ। भारतले दार्चुलादेखि ताप्लेजुङसम्म गरी ६० हजार ६ सय २७ हेक्टर नेपाली भुमि मिचेको छ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘सीमा संग्राम’ का अनुसार नेपाल र भारतबीच १ हजार ८ सय ५० किलोमिटर सीमा जोडिएको छ। त्यसमध्ये ६ सय ६ किलोमिटर विवादित छ। तर सिमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा जोडिएका १५ जिल्लाका नौ सय ६१ स्थानमा सीमा अतिक्रमण भएको प्रतिवेदन सरकारलाई दिएको छ। सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा भारतसँग सिमाना जोडिएका ९ सय ६१ स्थान सीमा विवाद रहेको उल्लेख छ।

उक्त विवरणअनुसार इलाममा १८, झापामा ३५, मोरङमा १९ र सुनसरीमा ३९ स्थानमा भारतीय अतिक्रमण भएको छ। त्यस्तै सप्तरीमा २१, सिरहामा ६३, धनुषामा ६५, महोत्तरीमा ४५ र सर्लाहीमा १ सय ५१ स्थानमा सीमा विवाद छ। विवरणअनुसार रौतहटमा ८ स्थान, बारामा १४ स्थान र सबैभन्दा बढी पर्सा जिल्लामा ४ सय ५४ स्थानमा सीमा विवाद देखिएको छ। कैलालीमा २ स्थान र कञ्चनपुरमा २७ स्थानमा विवाद रहेको विवरणमा उल्लेख छ।

त्यस्तै सीमा क्षेत्रमा १ हजार १ सय ५ स्थानमा अस्थायी संरचना निर्माण भएका छन्। ७ सय ४८ स्थानमा खेती गरेको पाइएको छ। ८ सय ४१ जना व्यक्तिले सीमा अतिक्रमण गरेको देखिएको पनि विवरणमा उल्लेख छ। सशस्त्र प्रहरी बलले दार्चुलालाई भने विशेष क्षेत्रको रुपमा लिएको छ।


(२०७६ कार्तिक २९, शुक्रबार) ११:२४ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro