सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त, सत्तारुढ नेकपामा असन्तुष्टि (जीवनीसहित )

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक १९, मंगलवार) ०४:०७

सातै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेको भोलिपल्ट रास्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी छिन। सत्तारुढ नेकपाको सचिवालय बैठकले गरेको निर्णयबमोजिम सरकारको सिफारिशका आदारमा रास्ट्रपति भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी हुन्।

रास्ट्रपति विद्यादेवी भण्डारीले गरेको नियुक्ति अनुसार, प्रदेश १ को प्रमुखमा कास्की जिल्ला घर भएका सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश–२ मा तिलक परियार, प्रदेश–३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेश प्रमुखमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठी प्रदेश प्रमुख भएका छन्। सम्भवतः उनीहरुको सपथ ग्रहण मंगलबार शीतलनिवासमा हुनेछ ।

सत्तारुढ नेकपामा असन्तुष्टि

नेकपाले प्रदेश प्रमुखमा कम्युनिष्ट पार्टीलाई योगदान गरेका राजनीतिक कार्यकर्ताहरुलाई प्राथमिकता दिएको छ । प्रायः यस्ता संवैधानिक नियुक्तिमा पूर्वप्रशासकहरुले मौका पाउने गरेकोमा यसपटक वामपन्थी राजनीतिकर्मीहरुलाई प्राथमिकता दिइएको छ । तर बैठकले सिफारिस गरेका नयाँ सात प्रदेश प्रमुखबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र असन्तुष्टी देखिएको छ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकले सोमबार बिहान गरेको प्रदेश प्रमुखको सिफारिस गर्ने निर्णयमा नोट अफ डिसेन्ट नै लेखेका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै नेता नेपालले नोट अफ डिसेन्ट लेखेको एक सचिवालय सदस्यले बताए।

उनका अनुसार नेपालले दुई विषयमा नोट अफ डिसेन्ट लेखेका छन्। ‘निर्णय प्रक्रिया एकलौटी भयो। ओलीजीले जे भन्नुहुन्छ त्यही मान्ने हो र भन्ने उहाँको पहिलो विषय हो भने उहाँले सिफारिस भएकाको योग्यतामा पनि प्रश्न उठाउनु भएको छ,’ ती सदस्यले भने,‘अघिल्लो पटक चुनाव हारेकालाई प्रदेश प्रमुख बनाउन नहुने उहाँको धारणा हो।’

नियुक्ति पाएका सात जना प्रदेश प्रमुखमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भागबन्डा गरेका छन्। तीमध्ये ४ जना ओली पक्षका छन् भने तीन जना प्रचण्ड पक्षका।

सोमनाथ प्यासी : राष्ट्रिय पञ्चायतदेखि प्रदेश प्रमुखसम्म

सोमनाथ प्यासी

कास्कीका पुराना वाम नेता प्रदेश १ को प्रमुख बनेका छन् । उनले अब बिराटनगरमा बसेर प्रदेश १ को नेतृत्व गर्ने छन् ।

कुनैबेलाका राष्ट्रिय पञ्चायत सदस्य प्यासी आसन्न उपनिर्वाचनमा उम्मेदवारका आँकाक्षि समेत थिए । नेकपाले दिवङ्गत रवीन्द्रपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको भोलिपल्टै प्यासीलाई प्रदेश प्रमुख तोकेको छ ।

पञ्चायतभित्र घुुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले त्यतिबेलाका चर्चित युवा सोमनाथ प्यासी अधिकारीलाई ०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो ।

सोमनाथ प्यासी, द्रोणाचार्य क्षेत्री, गोविन्दनाथ उप्रेतीहरु त्यतिबेलाको पार्टी नीतिअनुरुप चुनाव जितेर राष्ट्रिय पञ्चायतमै बहुदलको पक्षमा आवाज बुलन्द गर्थे ।

हाल नेकपाको उनी आमन्त्रित स्थायी कमिटी सदस्य अधिकारी प्यासी, यसअघिको चुनावमा नेकपाबाट समानुपातिक उम्मेदवारको सूचीमा थिए ।

 २००७ साल पुस २२ गते कास्कीको बाटुलेचौरमा जन्मिएका प्यासी २०२४ को प्रवेशिका परीक्षापछि उनले २०२५ बाट ढिकुरपोखरीको पाउँदुरको स्थानीय विद्यालयमा पढाउन थाले ।

त्यति नै बेला अधिकारी सहित १२ जनाले गण्डकी–धौलागिरी कम्युनिष्ट क्रान्तिकारी पार्टी गठन गरे । पार्टीले उनलाई पृथ्वीनारायण क्याम्पसको जिम्मेवारी दियो । पार्टीको ०२७ सालको अन्त्यतिर भर्ना भएपछि प्रगतीशिल विद्यार्थीको तर्फबाट स्ववियु सभापतिमा होमिए र विजयी पनि भए । २०२८ साल जेठमा उनी गिरफ्तार भए । एक महिनापछि उनी छुटे । २०३१ सालमा पुनः उनीविरुद्ध ‘वारेन्ट’ जारी भयो । उनलाई घरबाटै गीरफ्तार गरी ९ दिनमै उनलाई जोमसोम कारागार चलान गरियो । त्यसको ९ महिनापछि उनी २०३४ मा नख्खु कारागार चलान भए ।

जेलबाट छुटेपछि २०३६ को विद्यार्थी आन्दोलनमा उनी कास्कीमा आएर सक्रिय भए । उनी ०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए । २०४८ सालको आम निर्वाचनमा कास्की–३ सांसद पनि भए । ०५१ को मध्यावधि र ०५६ को आम निर्वाचनमा उम्मेदवार भए पनि विजयी भने हुन सकेनन् । पार्टीमा भने उनी आठौँ र नवौँ महाधिवेशनबाट निर्वाचन आयोग प्रमुखका रूपमा काम गरेका थिए ।

तिलक परियार : विप्लव छाडेका पूर्वसभासद

तिलक परियार
तिलक परियार

प्रदेश २ को प्रमुख बनेका तिलक परियारको जन्म रोल्पा, लिवाङ्गको विपन्न परिवारमा भएको हो । यद्यपि उनले स्नातकसम्म अध्ययन गरे । अध्ययनका लागि भारत गए । भारतमै रहँदा राजनीतिमा सक्रिय बने र मशालको दिल्ली कमिटीको सचिवसमेत बने ।

भारतमा एसएलसी पास गरेपछि रोल्पा फर्किएका परियारले केही समय भूमि सुधार कार्यालयमा खरिदारको काम गरे । त्यसपछि स्थानीय विद्यालयमा पनि पढाए । त्योे जागिर छाडेर फेरि उच्च शिक्षा पढ्न भन्दै उनी भारत फर्किए । उनले भारतमै स्नातकसम्म अध्ययन पूरा गरे ।

भारत बसाइपछि उनी जन्मथलो त फर्किए । तर, सुगम क्षेत्र खोज्दै बाँकेको राप्ती सोनारी गाउँपालिकाको बिनौनामा बसाइँ सरे । ०५० सालतिर बिनौनाबाट फेरि कोहलपुर नगरपालिका १२ निबुवामा बस्न थाले ।

०२८ सालदेखि नै राजनीतिमा लागेका परियार माओवादी आन्दोलनमा समेत सक्रिए भए । माओवादी जनयुद्धको क्रममा उनी ‘हिम्मत’ उपनामले चिनिन्थे । सशस्त्र जनयुद्धको क्रममा ०५४ सालमा उनी पक्राउ समेत परे । यद्यपि ०५८ सालमा दाङको हापुरेमा माओवादी र सरकारी टोलीबीच वार्ता हुँदा परियार रिहा भए ।

पुराना कम्युनिष्ट नेताको पहिचान बनाएका उनी दलित आन्दोलनका अगुवा हुन् । उनी तत्कालीन माओवादीसम्वद्ध राष्ट्रिय दलित मुक्ति मोर्चाको अध्यक्षसमेत बने । उनी माओवादीको सचिवालय सदस्य समेत भए र दुई पटक सांसदसमेत बने ।

अन्तरिम व्यवस्थापिका संसदमा माओवादीले ८३ सिट पाउँदा एकजना तिलक परियार पनि थिए । त्यसपछि ०६४ को पहिलो संविधानसभा चुनावमा उनी बाँके क्षेत्र नम्बर १ बाट सभासद निर्वाचित भए । त्यसपछि उनी माओवादी पार्टीको सल्लाहकारसमेत बने ।

तर, माओवादी पार्टी विभाजनपछि उनी प्रचण्डको साथ छाडेर मोहन वैद्यतिर लागे । दोस्रो संविधानसभाताका वैद्य माओवादीमा रहेका उनी चुनाव बहिस्कारमा सक्रिय भएका थिए । वैद्य नेतृत्वको पार्टी विभाजनपछि उनले नेत्रविक्रम चन्द (विप्लव)को साथ रोजे । नेतृत्वसँग असहमति बढ्दै गएपछि उनले विप्लवको पनि साथ छाडे ।

त्यसपछि मोहन वैद्यसँग अलग्गिएका रामबहादुर थापा (बादल) समूहसँगै विप्लव समूहबाट अलग भएको तिलक परियारको समूह पनि प्रचण्डकै नेतृत्वको माओवादीमा फर्कियो ।

परियारको नियुक्तिले दलित आन्दोलनमाथि न्याय गरेको प्रतिक्रियाहरु आइरहेका छन् ।

विष्णु प्रसाई : प्रधानपञ्चमा विजयी, मेयरमा पराजित !

विष्णु प्रसाई
विष्णु प्रसाई

त्तकालिन एमालेबाट मेचीनगरमा मेयरको टिकट पाएका विष्णु प्रसाई वि.सं. २०१० साल साउन २१ गते तेह्रथुमको आठराइमा जन्मिएका उनी १७ वर्षको कलिलो उमेरमै कम्युनिस्ट राजनीतिमा हाम्फालेका थिए । गत स्थानीय चुनावमा मेयरमा पराजित झापाली नेता विष्णु प्रसाईलाई ३ नम्बर प्रदेशको प्रमुख बनाइयो भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा उनको राजनीतिक पृष्ठभूमि र इतिहासलाई पनि बिर्सन नमिल्ने नेकपाका नेताहरुको तर्क छ ।

६६ वर्षीय प्रसाई ०२८ सालको झापा क्रान्तिसँगै कम्युनिस्ट राजनीतिमा लागेका हुन् । ०२७ सालमा अनारमनीमा भएको अनेरास्ववियूको कार्यक्रममा पहिलोपल्ट पक्राउ परी एक महिना राजबन्दी भएपछि प्रसाई पूर्णकालीन राजनीतिमा होमिए ।

वि.सं. ०३६ सालदेखि ०४५ सालसम्म पूर्वी नेपालमा हुने पञ्चायत विरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले विष्णु प्रसाईलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो । तत्कालीन नेकपा मालेको नीतिअनुरुप नै वि.सं. ०४३ सालमा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्चसमेत निर्वाचित भएका थिए प्रसाई ।

त्यसबेला झापामा जुझारु र कडा छविका कारण प्रसाईलाई झापाली टाइगर भनिन्थ्यो । प्रसाई ०५४ सालमा जिल्ला विकास समिति झापाको उपसभापति निर्वाचित भएका थिए । उपसभापति भएकै बेला उनी ०५६ सालको आम निर्वाचनमा झापा ३ बाट उम्मेदवार बने तर कांग्रेसका कृष्ण सिटौलासँग पराजित भए ।

झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किएका हुन् प्रसाई । यद्यपि उनले बुबा विरुद्ध बिद्रोह गरे । २०५४ मा उनी जिविस उपसभापतिमा निर्वाचित भएका थिए । २०५६ मा सांसद पदमा उठेका उनले पराजय व्यहोर्नु परको थियो । त्यसेबला एमाले विभाजित भएको थियो ।उनी पहिलो एमाले सरकारका पालामा नेपाल चिया विकास निगमको महाप्रबन्धक नियुक्ति भएका थिए । वुवाले मोहीहरुमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाएका थिए ।बुबाले मोहीहरुमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाउन सहयोग गरेको नेकपा नेताहरु सम्झन्छन् ।

वि.सं. ०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएपछि प्रसाईंले आफूमाथि अन्तर्घात गरेको भन्दै सांसद रविन कोइरालामाथि मतगणनास्थलमै झम्टिएका थिए । प्रसाईं केपी ओलीका निकटस्थ हुन् ।

अमिक शेरचन, अर्थात पूर्वउपप्रधानमन्त्री !

अमिक शेरचन,
अमिक शेरचन,

अमिक शेरचन गण्डकी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएपछि कतिपयले सामाजिक सञ्जालमा लेखे–राष्ट्रपति बनाउनुपर्ने मान्छे प्रदेश प्रमुख भए ।

उपप्रधानमन्त्री भइसकेका बरिष्ठ कम्युनिस्ट नेता अमिक शेरचनका अनेक परिचय छन् ।

नेकपा चौम हुँदै कम्युनिस्ट आन्दोलनको नेतृत्वमा आएका शेरचन ०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित भएका थिए । त्यतिबेला प्रचण्ड नेतृत्वको माओवादी पार्टी एउटै थियो ।

नौ सिट जितेर संसदको तेस्रो पार्टी बनेको जनमोर्चा ०५१ मा नेकपा माओवादी फुटेपछि कमजोर बन्यो । शेरचन त्यसपछि संयुक्त जनमोर्चाको लामो समय अध्यक्ष भए । ०५१ सालमा उनी पराजित भए । ०५६ सालमा रामेछापमा तत्कालीन एमालेको सहयोगमा उम्मेदवार बन्दा पनि उनी जित्न सकेनन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भएको सात दलको आन्दोलनमा अमिक शेरचन एक नेता थिए । त्यो आन्दोलनबाट शेरचन राष्ट्रिय नेताका रुपमा उदाए । उनी जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बने ।

त्यसबेला तत्कालीन एमालेबाट केपी ओली उपप्रधानमन्त्री थिए । ओली र शेरचनमध्ये को बरिष्ठ उपप्रधानमन्त्री बन्ने भनेर लामै समय विवाद पनि भयो । अन्ततः ओली नै पहिलो बरियतामा रहे । शेरचन ०६४ को संविधानसभामा चितवनबाट निर्वाचित भए ।

पहिलो राष्ट्रपति निर्वाचनमा तत्कालीन एकता केन्द्रले माओवादी समर्थित रामराजाप्रसाद सिंहलाई समर्थन गरेको थियो । तर, सोही पार्टीका नेता शेरचनले भने पार्टी निर्णय अवज्ञा गर्दै रामवरण यादवलाई मत दिएका थिए ।

माओवादी र एकता केन्द्रको एकीकरणपछि शेरचन पार्टीको स्थायी कमिटी सदस्य रहे । पछिल्लो समय स्वास्थ्यका कारण पनि सक्रिय नभएका शेरचन पार्टीको आमन्त्रित स्थायी कमिटी सदस्य छन् ।

पञ्चायतकालमा मात्रै होइन, ०४६ सालताका पनि धनी कम्युनिष्ट भनेर चिनिने, अमिक शेरचन निर्मल लामा समूहसँग नजिक रहेर वामपन्थी राजनीति गरेका अमिक शेरचन संयुक्त जनमोर्चा नेपालको अध्यक्ष भए।  शेरचन म्याग्दीमा जन्मिएका हुन् । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरित गराउने मध्येका एक नेता हुन । उपप्रधान तथा स्वास्थ्यमन्त्री भइसकेका शेरचन गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र मानिन्थे । शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा जनमोर्चा माओवादीमा समाहित भएको थियो ।

धर्मनाथ यादव : चुनाव पीडित ‘मास्टरजी’

धर्मनाथ यादव
धर्मनाथ यादव

प्रदेश ५ का प्रमुख तोकिएका धर्मनाथ यादव प्रदेश प्रमुख नियुक्त भएको खबरसँगै सिराहाका वाम समर्थकहरुबाट प्रतिक्रिया आयो– बल्ल यिनले न्याय पाएछन् । करीव ५० वर्षअघि १६ पैसा लेबी तिरेर कम्युनिस्ट पार्टीको सदस्यता पाएका यादवले लाभको पद भने कहिल्यै पाएनन् । सोमवार उनको नियुक्तिको खबरले सिराहाका कम्युनिस्ट नेता कार्यकर्तामा खुसी देखिन्थ्यो ।

पार्टीले ढिलो भए पनि धर्मनाथ यादवको योगदानको मूल्यांकन गरेको भन्दै नेकपा जिल्ला अध्यक्ष रामकुमार यादवले खुसी व्यक्त गरे ।

०४८ सालमा संसदीय निर्वाचन प्रतिस्पर्धा गरेका यादव त्यसयता कुनै चुनाव लडेनन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उनको नाम समानुपातिक सूचीमा राखेपनि सांसद हुन पाएनन् ।

धर्मनाथ पुराना शिक्षक हुन् । सिराहाको सुखीपुर नगरपालिका ६ खरही टोल निवासी ७० वर्षीय यादव ०४३ सालमा शिक्षण पेशा छाडेर तत्कालीन नेकपा माले हुँदै एमालेको राजनीतिमा पूर्णकालीन भएका थिए ।

जिल्ला अध्यक्ष यादवका अनुसार धर्मनाथ विज्ञान विषयका प्रखर शिक्षक थिए । धर्मनाथ अहिले पनि गाउँमा ‘मास्टरजी’ भनेर परिचित छन् । ‘गाउँलेहरुले उनलाई नेताभन्दा मास्टरजी अहिले पनि भनिरहेका छन्’ रामकुमारले भने ।

०७३ साल फागुन गते झापाको बिर्तामोडमा बसेको तत्कालीन एमालेको स्थायी समिति बैठकले उनलाई पूर्ण केन्द्रीय सदस्य बनाएको थियो । यसअघि उनी ०४८ साल र ०५१ सालमा एमालेबाटै आम निर्वाचन लडेका थिए । तर, जित्न सकेका थिएनन् ।

हाल नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रहेका यादव साहित्यकार र गीतकार पनि हुन् । उनले मैथिली र नेपाली भाषामा साहित्य रचनाहरु गर्दै धेरै गीतहरु समेत लेखेका छन् ।

तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका यादव सिराहाको सुखीपुर नगरपालिकाका स्थायी बासिन्दा हुन् । पञ्चायतकालमा स्थानीय एक विद्यालयमा प्रधानाध्यापक भएका यादव राजीनामा गरेर निर्वाचनमा होमिएका थिए । २०४८÷२०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिराहाबाट पराजित भएका थिए । यादव मध्य तराईमा पुराना र पाका वामपन्थी नेता मानिन्छन् ।

गोविन्द कलौनी : कलेज चलाउनेलाई प्रदेश चलाउने जिम्मा

गोविन्द कलौनी
गोविन्द कलौनी

कर्णाली प्रदेशका प्रमुख गोविन्द कलौनी सुदूरपश्चिममा तत्कालीन एमालेका जल्दाबल्दा नेता मानिन्छन् । डडेलुधरामा कम्युनिस्ट पार्टीका संस्थापक मानिने कलौनी शेरबहादुर देउवाका कुनैबेलाका चुनावी प्रतिस्पर्धी पनि हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाँणे निवासी कलौनी वि.स. २०१२ जेष्ठ २९ गते कलौनी वैतडीको दोगडा केदार गाउँपालिका–१ मा जन्मिएका हुन् । बैतडीमा जन्मिए पनि डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई कार्यथलो बनाएका कलौनी शिक्षक पृष्ठभूमिका हुन् ।

वि.सं. २०३१ देखि ०४७ सालसम्म उनी प्राध्यापक पेशामा संलग्न भए । त्यसबेला उनी एमालेको शिक्षक संगठनमा आवद्ध थिए । ०४७ सालमा नेता मदन भण्डारी सुदूरपश्चिम भ्रमणमा थिए । त्यसैबेला भण्डारीको आग्रहमा उनी मूलधारको राजनीतिमा आएका हुन् ।

०४८ सालको संसदीय चुनावमा डडेल्धुराबाट कलौनी हाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडे । तर, पराजित भए । कलौनी ०५६ सालमा राष्ट्रियसभाको चुनाव लडे । त्यसबेला उनी एमालेबाट अलगिएर मालेमा पुगिसकेका थिए । कांग्रेससँग मिलेर चुनाव लडे पनि उनी पराजित भए ।

कलौनीले चुनावी प्रतिस्पर्धालाई ०६४ सालसम्म निरन्तरता दिए । तर, सफल हुन सकेनन् । ०६४ मा उनी कञ्चनपुर–२ बाट एमालेको संविधान सभा सदस्यका उम्मेदवार थिए ।

प्राध्यापन पेशा छोडेर मूलधारको राजनीतिमा होमिएका कलौनी पछिल्लो समय पुनः शिक्षा क्षेत्रमै सक्रिए थिए । कञ्चनपुरमा उनले आफ्नै नेतृत्वमा क्याम्पसहरु सञ्चालनमा ल्याएका छन् । ६४ वर्षीय कलौनी कलौनीले ०४७ देखि ०५२ सम्म डडेलधुरा र बैतडीमा एमालेको जिल्ला नेतृत्व गरे ।

उनी पछिल्लो सयम नेकपा एमालेको निर्वाचन आयोग उपाध्यक्ष थिए । जसको अध्यक्ष सोमनाथ प्यासी पनि प्रदेश प्रमुख भएका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसोबास गर्दै आएका गोविन्द कलौनी २०१२ साल जेठ २९ गते बैतडीको तत्कालीन रिम गाविसमा जन्मिएका हुन् । २०४८ सालमा डडेल्धुरा, २०५६ मा बैतडी र २०६४ मा कञ्चनपुरबाट निर्वाचनमा लडेका थिए उनी ।

तीनैपटक चुनाव उनका लागि अनुकूल हुन सकेन । त्तकालिन एमालेको विभिन्न भ्रातिसंगठनमा सफलर्तापूवर्क जिम्मेवारी बहन गर्दै २०६४ सालमा आठौं राष्ट्रिय महाअधिवेशन आयोजक कमिटी सदस्य रहेका कलौनी २०६५ सालमा आठौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिएका थिए । हाल उनी नेकपाको महत्वपूर्ण जिम्मेवारमा थिएनन् । कलौनी २०५१ सालको मध्यावधि निर्वाचनमा सांसद लडे । त्यतिबेला उनका प्रतिष्पर्धी थिए–तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा ।

शर्मिलाकुमारी पन्त : माले, माओवादी हुँदै प्रदेश प्रमुख

शर्मिला त्रिपाठी
शर्मिला त्रिपाठी

२०२५ साल पुस ९ गते चितवनमा जन्मिएकी शर्मिलाकुमारी पन्त (त्रिपाठी) सुदुरपश्चिम प्रदेशको प्रदेश प्रमुख बनेकी छन् । ०६० सालसम्म शर्मिलाको परिचय सामान्य घृहिणीको थियो । उनका पति ज्ञानेन्द्र त्रिपाठी तत्कालीन नेकपा मालेबाट विद्रोह गरी ०५८ तिरै माओवादी जनयुद्धमा लागेका थिए । ०६० असोज ९ गते सादा पोशाकका सुरक्षाकर्मीले पक्राउ गरेका त्रिपाठी त्यसपछि बेपत्ता पारिए ।

श्रीमान बेपत्ता भएपछि उनको दिनचर्या फेरियो । उनी पतिको खोजीमा लाग्दालाग्दै माओवादी जनयुद्ध सकियो । बेपत्ता परिवारहरुको संगठन बन्यो र उनी त्यसको अध्यक्ष बनिन् । पति बेपत्ता भएसँगै माओवादी पार्टीमा सक्रिय भएकी त्रिपाठीको घर चितवन हो ।

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा शर्मिला नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्यसमेत भएकी थिइन् ।

शर्मिलाले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् । श्रीमान् बेपत्ता भएपछि शर्मिला तत्कालीन एकिकृत माओवादी निकट राज्यद्धारा वेपत्ता योद्धा समाजको अध्यक्ष समेत की थिइन् । माओवादी पार्टीमा भने उनी महत्वपूर्ण र कार्यकारी पदमा थिइनन् ।


(२०७६ कार्तिक १९, मंगलवार) ०४:०७ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro