प्रदेश ५ मा किसानका लागि वितरित अनुदान बीस प्रतिशत कमिशन लिएर कर्मचारीले गैरकिसानलाई दिए

संबाददाता : जनसंचार डेस्क     प्रकाशित मिति: (२०७६ कार्तिक १७, आईतवार) १३:२३

प्रदेश ५ सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा किसानका लागि वितरण गरेको करीब पौने २ अर्ब अनुदानमध्ये करोडौं अनुदान रकम दुरुपयोग भएको छ भने वितरित अनुदान रकममा  अधिकांश रकम वास्तविकभन्दा पनि गैर किसानलाई वितरण गरेको  पाइएको छ।

प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले गरेको अनुगमनमा कैयन् फर्जी किसान भेटिएका थिए भने अनुदान पाउनेमा अधिकांश सम्पन्न परिवार र राजनीतिक पहुँचवाला छन्। त्यस्ता किसानलाई अनुदान वितरण गर्दा कर्मचारीले २० प्रतिशतसम्म कमिसन लिएको प्रमाण प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले फेला पारेको छ।

प्रदेश सरकारले कृषि यान्त्रीकरण, स्मार्ट कृषि गाउँ कार्यक्रम, फलफूल उत्पादन, दुग्ध उत्पादन तथा बिउबिजन उत्पादनमा अनुदान बाँडेको छ। प्रदेशकै नमुना कार्यक्रम भनिएको स्मार्ट कृषि गाउँ कार्यक्रममै अनुदान पचाउने काम भएको अनुगमन टोलीले जनाएको छ।

अर्घाखाँची शीतगंगा नगरपालिका–१० का किसान यमलाल आचार्यले गत वर्ष ३७ लाख अनुदान पाएका छन्। उनले कागती खेतीका लागि २५ लाख पाएका छन्। अन्य रकम मौरी, नर्सरी, बाख्रापालनका लागि लिएका हुन्। उनका जग्गामा एकाध कागतीका बोट देखिन्छन्।

अनुगमनमा पुगेका एक सांसद भन्छन्, ‘अनुदानका लागि मात्रै कृषिखेती गरिएको देखाइएको छैन। सरकारले लगानी गरेको प्रतिफल आउँदैन।’ आचार्यले जमिन भाडामा लिएको ५० प्रतिशत रकमसमेत प्रदेश सरकारबाटै भुक्तानी हुन्छ।

गुल्मी छत्रकोटको ढुंगे देउराली बागवानीलाई प्रदेश सरकारले कागती खेतीका लागि १३ लाख अनुदान दिएको छ। त्यहाँ २५० बोट कागती रोपिएका छन्। सरकारी ढुकुटीबाट प्रतिबोट ५ सय २० रुपैयाँ खर्च भएको छ। तर उत्पादन हुने सम्भावना देखिँदैन।

अनुगमनमा पुगेका सांसद कमलराज श्रेष्ठले भने, ‘न कुनै संरचना बनेको छ, न त कुनै खेती। खेती नै नगर्नेहरुले धेरै अनुदान पाएको भेट्टायौं।’

कपिलवस्तुका राजेशकुमार चौधरीले भैंसीपालनका लागि ९ लाख अनुदान पाए। तर गोठमा भैंसी नै छैनन्। कागजमा ९ वटा भैंसीको बिमा गरिएको छ। कपिलवस्तुकै जावेद आलम खानको गोठमा समेत सम्झौताअनुरुप गाई छैनन्। उनले प्रदेश सरकारबाट ५ लाख बढी अनुदान पाएका छन्।

संसदीय अनुगमन समितिले यस्ता कैयन् कृषि फार्म देखाएर अनुदान लिने काम भएको प्रतिवेदन तयार पारिरहेको छ। समितिले १२ वटै जिल्लामा ५ वटा उपसमिति बनाएर अनुगमन गरेको थियो। किसानले आफूसँग २० प्रतिशत कमिसन मागिएको गुनासो गरेका छन्। कमिसन नदिँदा मन्त्रालयका कर्मचारीले अनुदान रकमसमेत घटाएको किसानले बताएका छन्।

समिति सभापति विजयबहादुर यादवले खास किसानले अनुदान पाउन नसकेको बताए। ‘जसले नमुना खेती गरिरहेका छन्, उनीहरुले अनुदान पाएकै छैनन्, जसले अनुदान पाएका छन् उसको खेती नै देखिँदैन’, उनले भने।

रुकुम, प्युठान, रोल्पा, अर्घाखाँचीमा कृषि उपज ढुवानीका लागि अनुदानबाट खरिद गरिएका गाडीमा ढुंगागिट्टी र मान्छे बोक्ने गरिएको छ। ती साधन व्यक्तिका नाममा रहेको समिति सदस्य चेतनारायण आचार्यले बताए। ‘अनुदानबाट खरिद गरिएका गाडीमा ढुंगागिट्टी र बालुवा ढुवानी हुँदो रहेछ। किसानले त उपयोग गर्न पाएकै छैनन्’, उनले भने।

कृषि मन्त्रालयले गत वर्ष पौने २ अर्ब अनुदान वितरण गरेको थियो। मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले भने गैरकिसानले अनुवादन नपाएको दाबी गरे। ‘अनुदान पाउन चार–पाँच हजार किसानले आवेदन दिन्छन्। पाँच–छ सयले मात्रै पाउँछन्। नपाउनेले गैरकिसानले अनुदान पाएको अरोप लगाउँछन्’, उनले भने।

गत वर्ष कृषि मन्त्रालयका लागि ४ अर्ब ५ करोड बजेट बिनियोजन भएको थियो। यस वर्ष पनि अनुदानका कार्यक्रम यथावत् छन्। प्रदेशले स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि प्रत्येक पकेट क्षेत्रमा ५० लाख विनियोजन गरेको छ। यी गाउँले पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ४० लाख र तेस्रो वर्ष ३० लाख अनुदान पाउँछन्। संसदीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार स्मार्ट कृषि गाउँ कार्यक्रम पनि प्रभावकारी छैन।

समितिका सदस्य कविराम थारूले भने, ‘यो त राज्य कोषको चरम दुरुपयोग हो। कि सुधार्नुपर्छ नत्र तत्काल रोक्नुपर्छ।’ स्रोत अन्नपुर्णपोस्ट


(२०७६ कार्तिक १७, आईतवार) १३:२३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीयद्वारा सिमानामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार, सेन्ट्रीमा बसेका प्रहरी घाइते

भारतले नेपाली भुमि कालापानी हडपेको बिरोधमा नेपालमा आन्दोलन चलिरहेका बेला रौतहट जिल्लाको इशनाथ नगरपालिका–४ स्थित सिमानामा रहेको मठिया प्रहरी चौकीमा भारतीय नागरिकले बम प्रहार गरेका छन्।  मंगलबार दिउँसो.....

सर्बोच्च अदालतको आदेश लत्याउंदै ने.क.पा. कास्कीका इन्चार्ज रुपेश अदालत गेटबाट फेरी गिरफ्तार, म्याग्दी लगिंदै

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज फेरी सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरिएको छ।  बन्दी प्रत्यक्षीकरण मुद्दामा उनलाई आज सर्बोच्च अदालतले रिहा गर्न.....

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल.....

Exchange Rate

Nepali Patro