ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक ४, सोमबार) २३:३४

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक निकाय राष्ट्रिय मानव अधिकार आयोगले पौडेललाई नियन्त्रणमा लिएर गोली हानि हत्या गरेको निष्कर्ष निकाल्दै दोषी प्रहरीमाथि कारवाहीको सिफारिश गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेता पौडेललाई अनावश्यक बल प्रयोग गरी मारिएको निष्कर्ष निकालिएको तथ्य सार्वजनिक गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगको एउटा टोलीले घटनाको स्थलगत अध्ययन गरी कुमार पौडेललाई अनावश्यक बल प्रयोग गरी मारिएको निष्कर्ष निकालेर  अनुसन्धानबाट प्राप्त प्रतिवेदनउपर छलफल गरी सरकार र विप्लव नेतृत्वको नेकपालाई विभिन्न सिफारिस गरेको छ ।

आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा प्रकाशित प्रेस नोटमा गएको असार ५ गते प्रहरी प्रधान कार्यालय, नक्सालको प्रत्यक्ष निर्देशनमा खटिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयको समन्यवयमा खटिएका प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिइ गोली हानी हत्या गरिएको उल्लेख छ ।

आयोगले प्रहरीले आत्मरक्षा र दोहोरो भिडन्त भनि दाबी गरे पनि दोहोरो भिडन्त र आत्मरक्षाका लागि गोली चलाएको कुरा कतैबाट पनि पुष्टि नभएको जनाएको छ । साथै प्रहरीले घटनाको मुुचुल्का उठाउँदा समेत गल्ती गरेको बताउँदै आयोगले घटनाको निष्पक्ष छानबिन नभएको जनाएको छ ।

आयोगले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । घटनामा प्रत्यक्ष रुपमा संलग्न तथा कमाण्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारहरु विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायब निरीक्षक सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्का तयार गर्दा गल्ती गरेको भन्दै उनीहरुलाई सचेत गराउन सरकारलाई आयोगले सिफारिस गरेको छ ।

घटनामा ज्यान गुमाएका कुमार पौडेलको बाँच्न पाउने अधिकारको हनन भएको देखिएको भन्दै उनको हकवालालाई राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को प्रावधानअनुरुप तीन लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारलाई सिफारिस गरेको छ ।

हिंसात्मक गतिविधि रोक्न विप्लवलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण ढंगबाट आफ्ना क्रियाकलाप गर्न आग्रह गरेको छ । हत्या, अपहरण, धम्की, जबर्जस्ती चन्दा, विस्फोटनलगायतका हिंसात्मक गतिविधिलाई तत्काल रोकी प्रतिस्पर्धात्मक राजनीतिमा आउन पनि आयोगले विप्लवलाई आग्रह गरेको छ ।

गएको असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीले बताएको थियो । घटना भएको केही दिनपछि गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको बताएका थिए ।


(२०७६ कार्तिक ४, सोमबार) २३:३४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कालापानी मिचिएको बिषयमा सर्वोच्च अदालतद्वारा सरकारसंग लिखित जवाफ माग

नेपाली भुमी कालापानी मिचिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न नेपाल सरकार लगायत विपक्षीहरुलाई भनेको हो.....

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

Exchange Rate

Nepali Patro